काठमाडौं । मेगा बैंक नेपालले अटो रिक्सा किनेर आफैं चलाउने चालकलाई रिक्सा धितो राखेर कर्जा दिने भएको छ।
हन्सराज हुलासचन्द एण्ड कम्पनी र मेगा बैंकबीच तीनपांग्रे अटो रिक्सा चलाउनेलाई यस्तो कर्जा दिनेसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनीका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे।
विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो । सो बैंककी सीइओ खुञ्जेलीले अटो रिक्सा किनेर आर्थिक उपार्जन गर्न चाहनेलाई देशभरका शाखा कार्यालयबाट सर्वसुलभ ब्याजदरमा कर्जा दिइने बताइन्।
नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जाको अधिनमा रहेर अटो रिक्सा किनेर सञ्चालन गर्न चाहने चालकहरुलाई मेगा बैंकले यो कर्जा प्रदान गर्नेछ।