२०७७ साल : बाँकेका लागि पर्यटनक्षेत्रमा सकारात्मक शुरुवातको वर्ष


नेपालगञ्ज, बैशाख १ गते । कोरोना कहरका कारण २०७७ सालमा पर्यटनक्षेत्र धरासायी बन्यो । त्यसबाट बाँकेको अर्थतन्त्र अछुतो रहने कुरै भएन । तर कोरोना कहरका बीच बाँकेको पर्यटन क्षेत्रमा सकारात्मक शुरुवात भएका छन् । त्यसैको एउटा उदाहरण हो नेपालगन्ज पोखरा उडान ।

पर्यटनक्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उक्त उडान हुनु नेपालगन्जका लागि ठूलो कुरा हो । पश्चिम नेपालको बाँके बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले शुरु गरिएको नेपालगञ्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिएको छ । सोही क्रममा बुद्ध एयरले समेत उडान शुरु गर्न लागेको हो ।

पोखरा जाने र फर्कने पर्यटक यात्रुको सङ्ख्या बढेपछि सातामा दुई दिन शुक्रबार र आइतबार हुँदै आएको उडानलाई थप गरेर बुधबार पनि शुरु गरिएको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँकेले जनाएको छ ।

पर्यटन व्यवसायीहरुको लामो प्रयासपछि निजी क्षेत्रको पहलबाट गत फागुन ७ गतेदेखि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरिएको थियो ।

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार भारतीय पर्यटकलगायत आन्तरिक पर्यटकलाई समेत पोखरा भ्रमण गराउने र गण्डकीका पर्यटकलाई बाँके र बर्दिया भ्रमण गराउने उद्देश्यले सीता एअरमार्फत् शुरु गरिएको नेपालगञ्ज–पोखरा र पोखरा–नेपालगञ्ज हवाई उडानमा यात्रुको चाप बढ्दै गएपछि उडान थप गरिएको हो ।

पर्यटकको सङ्ख्या बढ्दै गएपछि आफूहरु उत्साहित भएको जनाउँदै अध्यक्ष सिग्देलले यात्रु सङ्ख्या हेरेर उडान अझैँ थप गर्दै लगिने
बताए । बुद्ध एयरको निर्णयले उत्साहित बनाएको उनले बताए ।

उनले बर्दिया निकुञ्ज अवलोकनसँगै भारत जाने पर्यटकहरु पोखराबाट यता आइरहेकाले बर्दियाका व्यवसायी पनि उत्साही बनेको जनाए ।
कोरोनाले सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रको प्रवर्धनका लागि नाटा बाँकेले बाँके, बर्दिया, कर्णालीको मुगु, प्युठान र सुदुरपश्चिमका पर्यटकीय क्षेत्रसँग नेपालगञ्जलाई साझै जोड्ने अभियान शुरु गरेको सिग्देलले जानकारी दिए ।

शुरुमा सातामा दुईवटा चार्टर उडान गर्ने गरी सेवा शुरु गरिए पनि यात्रु बढ्दै गएकाले एक उडान थप गरिएको सीता एअर नेपालगञ्जले जनाएको छ ।

पछि आवश्यकता अनुसार उडान सङ्ख्या अझैँ बढाउन सकिने पनि सो एअरलाइन्सले जनाएको छ ।
लामो समयदेखि बाँके र बर्दियाका पर्यटन व्यवसायीले नेपालगञ्ज–पोखरा र नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि प्रयास गर्दै आए पनि सरकारीस्तरबाट शुरु नगरिँदा निजी क्षेत्रबाट पोखरा उडान शुरु गरिएको हो ।

नेपालगञ्ज–पोखरा उडान शुरु गरिएपछि पोखरा जान र फर्कन चाहने भारतीय पर्यटकहरु काठमाडौं पुगेर पोखरा जाने आउने बाध्यता अन्त्य भएको छ । २०७७ सालमै बाँकेमा दुईवटा ठूला फनपार्कहरु सन्चालनमा आएका छन् भने अर्को एउटा सन्चालनमा आउन बाँकी छन् ।

प्रकाशित मितिः     १ बैशाख २०७८, बुधबार ०८:०४  |