फ्लोर क्रस गर्ने माधव नेपाल समूहका चार सांसदलाई कारबाही सिफारिस


सुर्खेत : कर्णाली प्रदेशका चार जना सांसदलाई कारबाहीका लागि नेकपा एमालेको संसदीय दलले कारबाही सिफारिस गरेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग पुर्‍याएका उनीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको हो।

सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताए।

‘उहाँहरूलाई दलीय व्यवस्था र ऐन अनुसार गर्न मिल्ने कारबाही गरिएको छ,’ उनले भने।
कर्णालीमा आज भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्न गरेको प्रस्तावमा यी चार सांसदले पक्षमा मतदान गरी ुफ्लोर क्रसु गरेका थिए।

सांसद ज्वाला यसअघि आर्थिक मामिला तथा योजना मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए।

एमाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि उनीहरूले शाही नेतृत्वको सरकारबाट राजीनामा दिएका थिए।

कर्णालीका मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो। जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए।
कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने तटस्थ बसेको थियो।

मतदानका क्रममा राप्रपाकी सांसद देवी ओलीले आफ्नो मत सच्याएकी थिइन्। विश्वासको मतको पक्षमा पहिले मतदान गरेकी ओलीले पछि विपक्षमा मतदान गरेकी हुन्।

प्रकाशित मितिः     ३ बैशाख २०७८, शुक्रबार १९:२७  |