सरकार ! नेपालगन्जको चित्कार कहिले सुन्ने ?


नेपालगन्ज :  केही सातायता कोरोना संक्रमितको प्रभावित क्षेत्र बनेको बाँकेमा २४ घण्टाको अवधिका उपचारको क्रममा सात जना बिरामीको मृत्यु भएको छ । परिस्थिती यसरी भयावह बन्दै गएपछि बाँकेका जनशक्ति लगायतका पूर्वाधार थप्न माग गरिएको छ । तर बाँकेको चित्कार हालसम्म सुनिएको छैन । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबार बिहान मृत्यु भएको छ ।

यो घटनासँगै २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमित बिरामीको मृत्यु भएको हो । जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । यी घटनासँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ ।

कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि नेपालगञ्ज उपमहानगरपालिकामा लकडाउन गरिएको छ । अहिले बाँकेका सबै अस्पताल भरिएका छन् ।

केही दिनयता बाँकेमा कोरोना संक्रमित बिरामीलाई उपचारको लागि भर्ना गर्न कोभिड अस्पतालमा बेड पनि अभाव हुन थालेको छ ।

नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालमा अहिले एउटा बेड पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले जानकारी दिए ।

अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारको लागि तयार गरेको कोभिड वार्डका सबै १ सय ४२ बेड भरिएको थापाले बताए । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकोले आउँदा दिनहरु अझै भयावह हुने सम्भावना बढेकाले स्वास्थ्यकर्मी थप चिन्तित छन् ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका विरामीले भरीभराउ भएकोले अक्सिजनको मात्रा कम भएका विरामीलाई घर पठाउनुपर्ने बाध्यता आइसकेको बताए । उनले संक्रमण रोकथाम र संक्रमित गम्भीर प्रकृतिका विरामीलाई उपचार व्यवस्था मिलाउन सबैले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

संक्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा आसिम किदवाईले अस्पतालमा बेड अभाव भएकोले विरामीलाई भर्ना गर्न नसकिने अवस्था रहेको बताए ।

शिक्षण अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरुले आइसियु बेड पर्खेर बसेको बताउँदै संक्रमित विरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर जान लागेको बताए ।

भेरी अस्पतालका फिजिसियन डा खगेन्द्रजंग शाहले अहिले लक्षणसहितका संक्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरू बढी रहेको बताए । उनले परिवारका एक सदस्यलाई संक्रमण पुष्टि भए अहिले प्राय सबैमा संक्रमण देखिएको बताए ।

कोरोना संक्रमित बिरामीहरुको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीहरु स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित बन्न थालेका छन् ।

बाँकेका कोभिड संक्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले निरन्तर संक्रमितको संख्या बढिरहेकोले अस्पतालमा बेड थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए ।

प्रकाशित मितिः     ११ बैशाख २०७८, शनिबार १४:५३  |