कोहलपुरमा लिक्विड अक्सिजन साँझसम्म आइपुग्ने, गाडी बिग्रिएकाले समयमा आउन सकेन


नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आज साँझ सम्म कोहलपुर आइपुग्ने भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान सामाजिक संजाल फेसबुकमार्फत ‘कोहलपुरका लागि लिक्विड अक्सिजन आइपुग्यो’ लेख्नु भएको थियो । त्यसैगरी, उहाँले दाङका लागि पनि २ सय वटा बढी अक्सिजन सिलिन्डर आजै पुग्ने उल्लेख गर्नु भएको छ । रुपन्देहीमा पनि अक्सिजनको समस्या समाधान हुँदै गरेको उहाँले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराउनु भएको हो ।


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका लागि लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल ल्याइने नेपालगन्ज मेडिकल कलेज कर्मचारी युनियनका अध्यक्ष कुश्माखर बस्यालले जानकारी दिनु भयो । उहाँका अनुसार लिक्विड अक्सिजन भारतबाट नेपाल आउन चार दिन लाग्दछ । आज विहान लिक्विड अक्सिजन कोहलपुर आइपुग्नु पर्ने हो तर नारायणगढ बुटवल सडक खण्डमा लिक्विड अक्सिजन बोकेको गाडीमा खराबी आएको कारण मर्मत पछि विहान १० बजे बुटवल आइपुगेको बताउनु भयो । उहाँले बुटवलबाट कोहलपुर आइपुग्न ढिलोमा साँझ सम्म लाग्ने बताउनु भयो ।

यस भन्दा पहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले लिक्विड अक्सिजन बिना कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै अस्पतालमा कोभिडका नयाँ संक्रमितलाई भर्ना लिन बन्द गरेको थियो ।

प्रकाशित मितिः     २६ बैशाख २०७८, आईतवार १२:२६  |
error: Content is protected !!