नेपालगन्ज ३१ बैशाख : नेपाल पत्रकार महासंघ बाँके शाखाको बैठक शुक्रवार बसेर बिभिन्न निर्णय गरेको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस महामारीले बाँकेका पत्रकारलाई पारेको समस्या र समाधानका लागि भएका कामहरुको समिक्षा गर्दै बिभिन्न निर्णय गरेको हो ।
सामान्य अवस्थामा समेत अस्पतालहरुमा बिरामीको चाप बढ्दो छ । त्यसैले जो कोहीलाई पनि कुनै बेला एम्बुलेन्सको अभाव एवं आवश्यकता महसुस भइरहेको हुन्छ । कोरोना महामारीलाई मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पत्रकार तथा आमनागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ ।
मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ । साथै एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी/गैरसरकारी निकाय सबैलाई नेपाल पत्रकार महासंघ बाँके शाखा सार्वजनिक रुपमा आव्हान गरेको सचिव कमल डाँगीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ बाँकेको अनुरोधमा बाँकेका पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श गरिरहनु भएका डा.सुभाष योगी र स्वास्थ्य सामाग्री प्रदान गर्नु हुने सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै निरन्तर सहकार्यका लागि अनुरोध गर्दै ईस्लाम धर्मालम्बीहरुको पवित्र पर्व ‘ईद–उल–फित्र’को अवसरमा सम्पूर्ण सञ्चारकर्मी एवं नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।
महासंघ बाँकेका अध्यक्ष भण्डारीले असहाय नागरिकको सेवामा एम्बुलेन्स लगाउने बताएका छन् ।