काठमाडौं । कोरोना संक्रमण उच्च दरले बढेपछि डेभलपमेन्ट बैकर्स एसोसिएसन नेपालले निक्षेप जम्मा गर्न सकेसम्म बैंकमा नआउन भनेको छ । अहिलेको अवस्थामा केही सहज नभएसम्म साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन एसोसियसनले निक्षेपकर्तासँग अनुरोध गरेको छ ।
एसोसियसनले शुक्रबार ७ बुँदे निर्देशन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । बिहीबार नेपाल बैंकर्स संघले सूचना प्रकाशित गरी ५० हजार रुपैयाँ भन्दा कम रकम निक्षेप राख्न बैंकमा नआउन अनुरोध गरेको थियो ।
निक्षेप रकमको सीमा नतोकिए पनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न संघले पनि आग्रह गरेको छ । सम्भंव भएसम्म कर्मचारीहरुलाई घरबाटै काम लगाउन भनिएको छ ।
एसोसिएसनले ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरु अवलम्वन गर्ने र प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउन र बोलाउन परेमा भर्चुअल माध्यमबाट काम गर्न भनेको छ ।
यस्तै सूचना प्रबिधि, ग्राहक विभाग तथा नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने, ग्राहकहरुले सम्पर्क व्यक्तिहरु मार्फत गरेका अनुरोध र सुझाबलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रहेर हल गर्न सुझाएको छ ।
यसैगरी एसोसियसनले संभव भएसम्म डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोबार गर्न आ—ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका सञ्चार माध्यमबाट अनुरोध गर्ने, ग्राहकहरुलाई परिस्थिति केही सहज नभएसम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने र राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासनले दिएको निर्देशन पूर्णतया अनुपालना गर्ने विज्ञप्तिमा उल्लेख छ ।