कोरोनाबाट जोगाउन कालिमाटी गाउँपालिकाको यस्तो छ तयारी


रामपुर। सल्यानको कालिमाटी गाउँपालिका भित्र ६८ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोनाका लक्षणहरू देखिन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले ७ ओटै वडाबाट वैशाख २६ गते १ सय ८ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाएको थियो।

परिक्षण गरिएका १ सय ८ जना मध्ये ४० पुरुष र २८ महिलामा कोरोना पोजेटिभ देखिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए। खत्रीका अनुसार पालिकाका ७ वटै वडामा लक्षण देखिएकाहरुको स्वाब संकलन गरिएको हो। जसमध्ये पालिकाको वडा नं. १ मा ३ पुरुष र १ महिला, वडा नं. २ मा ३ पुरुष र ७ महिला वडा नं. ३ मा ५ पुरुष र ३ महिला, वडा नं. ४ मा १ पुरुष, वडा नं. ५ मा १६ पुरुष र १२ महिला, वडा न.  ७ मा १२ पुरुष र ५ महिलामा संक्रमण देखिएको हो। पालिकाको वडा नं. ६ मा भने हालसम्म संक्रमण देखिएको छैन।


संक्रमण देखिएकाहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासकीय अधिकृत खत्रीले बताए। उनका अनुसार सम्भावित जोखिमसँग लड्न गाउँपालिकाले रामपुरमा १५ शैय्याको अक्सिजन सहितको आइसोलेसन समेत तयारी अवस्थामा राखेको छ। कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि गाउँपालिकाले निशुल्क पिसिआर परिक्षण र परामर्शका लागि स्वास्थ्य शाखाको टोली खटाएको छ।

कोरोना संक्रमण रोकथामका लागि भन्दै पालिका भित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू यसअघि नै बन्द गरिसकिएको गाउँपालिका कार्यालयले जनाएको छ।

प्रकाशित मितिः     १ जेष्ठ २०७८, शनिबार १३:३६  |
error: Content is protected !!