महामारीमा नेपालगन्जले निभायो पश्चिमको अभिभावकत्व


  • अभि खनाल

नेपालगञ्ज, जेठ ३ । नेपालगन्ज पश्चिमको लाइफलाइन हो । यो शहरले यसपटक साच्चिकै लाइफलाइन हो प्रमाणित गरेको छ । पश्चिमका जुनसुकै जिल्लाका कोभिड प्रभावितलाई नेपालगन्जले उपचार गरिरहेको छ ।

हर सुखदुःखमा साथ दिइरहेको छ । नेपालगन्जका मेयर डा. धवल शम्सेर राणा भन्छन्- हामीले नेपालगन्ज मात्र होइन पश्चिमलाई हेरिरहेका छौं । सीमित साधन, स्रोतका बीच कोभिड नियन्त्रण गर्ने कुरामा प्रयासरत छौं । नेपालगन्ज न कुनै प्रदेश राजधानी हो नत राज्यका उपल्लो निकायले प्राथमिकता नै दिएका छन् । तर यसले पश्चिमको अभिभावकका रुपमा महामारीको विपद्मा आफुलाई प्रमाणित गरिदिएको छ । अक्सिजन वितरणकै विषयमा कतिले नेपालगन्जलाई अक्सिजन नपुग्दासम्म अन्त पठाउनुहुँदैन भने । तर मेयर राणा फराकिलो सोंच सहित यसो भन्छन्- यस्तो सोंच राखेर नेपालगन्ज हिड्दैन । नेपालगन्जलाई पनि पुग्ने र अन्त पनि पुग्ने गरी काम गर्नुपर्छ । हामीले फराकिलो सोंच बनाउन सक्नुपर्छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखिएको जनाएको छ । उपमहानगरपालिकाले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख डा= धवलशम्शेर राणाले यसपटक स्वास्थ्य उपचार र सेवामा बढि ध्यान दिइएको जानकारी दिए ।

उहाँले जिल्लाभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजिकरण गरिरहेको जानकारी दिनुभयो । आगामी दिनमा पनि कोभिड नियन्त्रण र रोकथामका लागि प्रभावकारी कार्यक्रम ल्याएर अघि बढ्ने योजना बनाएका छौं, उहाँले भन्नुभयो,– कोभिड विरुद्ध लड्न सबै पक्षबीच सहकार्य हुन जरुरी छ । उहाँले नगरभित्र सञ्चालित आईसोलेसनले अस्पताललाई सहयोग पुगेको बताए ।

उप–प्रमुख उमा थापा मगरले कोभिड रोकथाम नियन्त्रणका लागि नेपालगञ्जले सक्दो प्रयास जारी राखेको भन्दै नेपालगञ्जले गरिरहेका कार्यक्रमबारे जानकारी दिए । प्रबक्ता प्रमोद रिजालले नेपालगञ्ज उपमहानगरपालिकासँगै वडास्तरबाट पनि प्रभावकारी कार्यक्रम भएको बताउनुभयो । पत्रकार भेटघाटमा वडा नम्बर २ का वडाध्यक्ष सुनील सिंह हमाल, वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्मा लगायतको सहभागिता थियो ।

कोभिड–१९ संकट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि नेपालगञ्ज उप–महानगरपालिकाबाट भएका प्रयास

नेपालगञ्ज उप–महानगरपालिकाले गतवर्षदेखि नै कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयासरत रहँदै आएको छ । जनप्रतिनिधी र कर्मचारीको कोभिडकै कारण निधन भएको छ । धेरैजना संक्रमित भएपनि निरन्तर कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कामहरु भईरहेका छन् । हालसम्म यहाँ कार्यरत एकजना जनप्रतिनिधी र २ जना कर्मचारी गरि ३ जनाको निधन भएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधी र सरसफाईकर्मी गरि १५९ जनामा कोभिड संक्रमण भएको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाबाट भएगरेका प्रमुख कार्यक्रमहरु निम्न अनुसार
छन् ।

१. कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य जनशक्ति अभावको अवस्थालाई मध्यनजर गर्दै नेपालगञ्ज उप–महानगरपालिकामा ५४ जना स्वास्थ्यकर्मी करारमा भर्ना गरिएको छ । ति मध्ये १५ जना भेरी अस्पतालमा कार्यरत रहनुभएको छ । अन्यलाई जमुनाहस्थित हेल्थडेस्क, आईसोलेसन र वडास्थित स्वास्थ्य कार्यालयमा परिचालन गरिएको छ ।

२. भेरी अस्पतालमा कोभिडका विरामीको चापलाई मध्यनजर गर्दै भेरी अस्पतालको प्रत्यक्ष निगरानी रहने गरि रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सइयाको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गरिएको छ । जहाँ चिकित्सक र स्वास्थ्यकर्मीको नियमित रेखदेख हुने गरेको छ । आईसोलेसनमा भेरी अस्पताल र अन्य पालिकाका आईसोलेसनबाट समेत विरामी रिफर भई आउने गर्नुभएको छ । जेठ २ गतेसम्म यस आईसोलेसनमा ८५ जनाले सेवा लिनुभएको छ । जेठ २ गते विहानसम्म १६ जना उपचारकोक्रममा रहनुभएको छ । यसैगरी तालिम केन्द्र नजिकै रहेको वाल मन्दिरमा पनि आईसोलेसन केन्द्र निर्माणका लागि आवश्यक तयारी अघि बढाइएको छ ।

३. भारतबाट फर्किनेहरुको सीमानाकामा हुने एन्टिजिन परीक्षणमा पोजिटिभ देखिएपछि राख्नका लागि होटल ह्वाईटहाउसमा ५० सइयाको आईसोलेसन वार्ड सञ्चालन गरिएको छ । यो आईसोलेसनमा घरमा आईसोलेसनको उपयुक्त व्यवस्था नभएका नगरबासीले समेत सेवा लिईरहनुभएको छ । यो आईसोलेसनमा बैशाख ४ देखि जेठ १ गतेसम्म १०५ जनाले सेवा लिनुभएको छ ।

४. नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ मा चिकित्सक सहित १० सइयाको आईसोलेसन केन्द्र सञ्चालन गरिएको छ । जसमा २७ जनाले सेवा लिनुभएको छ । वडा नम्बर १२ मा वडा कार्यालयलाई १४ सइयाको आईसोलेसन केन्द्रको रुपमा सञ्चालन गरेको छ । इन्द्रेणी होटलमा रहेको आईसोलेसन केन्द्रमा यस उपमहानगरपालिकाबाट आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । यसमा हालसम्म ३१ जनाले सेवा लिनुभएको छ ।

५. नेपालगञ्जका २३ वटै वडामा स्वास्थ्य संस्था रहेका छन् । कोभिड रोकथाम र नियन्त्रणका लागि वडामा फोकल पर्सन चयन गरिएको छ । उनीहरुले होम आईसोलेसनमा बसेका संक्रमितहरुसँग नियमित सम्पर्क गरिरहेका छन् । संक्रमितको स्वास्थ्य समस्या बारेमा थप परामर्शका लागि नेपाल चिकित्सक संघ नेपालगञ्जको सहकार्यमा हरेक वडामा चिकित्सकले आवश्यक सहयोग गर्दै आउनुभएको छ । यसका लागि चिकित्सक संघ लगायत सम्पूर्ण चिकित्सकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

६. एउटा मात्र शव वाहन भएका कारण शव व्यवस्थापनमा समस्या भएपछि गतवर्ष झै यसवर्ष पनि नेपालगञ्ज उपमहानगरपालिकाले नेपाली सेनालाई एउटा सवारी साधन उपलब्ध गराएको छ । जसले पछिल्ला दिनमा शव व्यवस्थापनमा सहजता भएको छ । कोभिडका विरामीहरुलाई अस्पताल सम्म ल्याउन सहजताका लागि नगरभित्र एम्बुलेन्स सञ्चालन गरिएको छ । यि एम्बुलेन्सले निःशुल्क विरामीको सेवा गरिरहेका छन् । थप एम्बुलेन्स सञ्चालनको प्रक्रियामा रहेको छ । वडा नम्बर १३ र १८ मा निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ ।


७. नगरमा कोभिड संक्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन नगरप्रमुख डा। धवलशम्शेर राणाको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि भईरहेका कामको अनूगमन र व्यवस्थापनका लागि उच्च स्तरीय समिति गठन गरेको छ । समितिमा उप–प्रमुख उमा थापा मगर, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर २ का वडाध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर ३ का वडाध्यक्ष मो। अयुव सिद्धिकी, वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रा,वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्मा र कार्यपालिका सदस्यहरु इन्दिरा शाही, मञ्जु नेपाली र कौसलकुमार धोवी रहनुभएको छ ।

८. भारतबाट फर्किनेहरुको लगत संकलन तथा स्वास्थ्य परीक्षण र अन्य परामर्शका लागि सीमानाकामा चैत ११ देखि हेल्थडेस्क स्थापना गरिएको छ । हालसम्म ६९ हजार ३३३ जना स्वदेश फिर्ता हुनुभएकोमा लक्षण चिन्ह देखिएका सहित एक हजार ५१० जनाको एन्टिजिन परीक्षण गरिएको छ । ति मध्ये १९७ जनामा कोभिड पोजिटिभ देखिएको छ । जमुनाहमा स्थायी हेल्थडेस्क निर्माण कार्य अघि बढाइएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सहकार्यमा जमूनाह भन्सारमा भारतबाट फर्किनेहरुको सहजताका लागि होलिडङ सेन्टर सञ्चालन गरिएको छ ।

९. नेपालगञ्ज उप–महानगरपालिकाले नगरमा निःशुल्क पिसिआर परीक्षण तथा एन्टिजिन परीक्षण गरिरहेको छ । यसैगरी कन्ट्याक्ट ट्रेसिङका लागि ५ वटा समूह निर्माण गरि उनीहरुसहित समग्र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको छ ।

१०. भेरी अस्पतालमा उपचाररत कोभिड संक्रमणका विरामी र उनीहरुका आफन्त तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई सहुलियतदरमा खाना खुवाउन अञ्जनी माता रसोईलाई मासिक एकलाख रुपियाँ सहयोग गरिदैं आइएको छ । नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा निःशुल्क पानी वितरण भईरहेको छ ।

११. नगरभित्र कुनैपनि स्वास्थ्य समस्या समाधान र आवश्यक सुझाव तथा परामर्शका लागि चिकित्सक सहित विज्ञ समुहको गठन गरिएको छ ।

१२. नगरभित्र होम आईसोलेसनमा बसिरहेकाहरुलाई प्रभावकारी सेवन दिनका लागि कोभिड नियन्त्रणमा खटिएका बरिष्ठ चिकित्सक र वडाका फोकलपर्सन तथा अन्य स्वास्थ्यकर्मीबीच अन्तरक्रिया गरिएको छ ।

१३. उपमहानगरपालिकासँग नगरका वडाहरुमा पनि कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भईरहेका छन् । चिकित्सकसहितको घरदैलो कार्यक्रम गरि निःशुल्क औषधी, एक्सरे र अक्सिजनको व्यवस्था गरिएको छ । नियमित फोन परामर्श, निशुल्क एम्बुलेन्स सेवा, सेनिटाईज, हाईजिन किट वितरणका कार्यक्रम जारी रहेका छन् ।

१४. नगरभित्र रहेका महिला, बालबालिका, अपांगता भएका ब्यक्ति, जेष्ठ नागरिकहरुमा निषेधाज्ञाले पारेको प्रभाव र महामारीले परेको असरलाई सहजिकरण गर्न ६ वटा कार्यदल बनाएर कार्य विभाजन गरिएको छ । निःशुल्क कानूनी सेवा, उद्धार तथा पुनस्र्थापना, राहत–सहयोग, सूचना संकलन, अनूगमन निरीक्षण तथा पिसिआर परीक्षणमा सहयोगका लागि कार्यदल बनाइएको छ ।

१५.नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि आगामी दिनमा पनि पुर्व तयारीलाई प्राथमिकता दिनेछ । आगामी बजेटमा कोभिड संक्रमणको दरलाई मध्यनजर गरि रोकथाम र नियन्त्रणमा केन्द्रीत भई अघि बढ्ने योजना बनाएका छौं ।

१६. बजार अनूगमन कार्यलाई निषेधाज्ञाको समयमा पनि निरन्तरता दिइएको छ ।

१६. नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित आईसोलेसनका लागि भेरी अस्पताल सहित सामग्री सहयोग गर्ने युनिसेफ, प्लान नेपाल, साथी, आईएनएफ,एक्सनएड,बी–ग्रुप नेपालगञ्ज, बाँके, युनेस्को क्लव, बैश्य समाज, बागेश्वरी आयरन एण्ड इन्डष्ट्रिज, शिखर प्लाईउड लगायतका संघ संस्थाहरुले सहयोग गर्नुभएको छ ।

१७. कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण नगरबासी सहित आम जनसमुदायबाट साथ, सहयोग र सुझावका लागि हार्दिक अनुरोध गर्दछौं ।

प्रकाशित मितिः     ३ जेष्ठ २०७८, सोमबार ०६:३६  |
error: Content is protected !!