महामारीको बिपद्मा सेवाग्राही ठग्छन् नेपालगन्जका बैंकका ‘एटिएम’


नेपालगन्ज ४ जेठ :  जाजरकोटका दिलबहादुर ओलीले मंगलवार बिहान नेपालगन्जका आधा दर्जन बैंकका एटिएम धाउँदा समेत अस्पतालमा भर्ना भएका आफन्तको उपचारका लागि पैसाको जोहो गर्न सकेनन् । नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका आफन्तका लागि मंगलवार औषधी किन्न उनलाई पैसाको आवश्यकता परेको थियो ।

उनका लागि लकडाउन र महामारीका कारण घरबाट तत्काल पैसा पठाउन सम्भव नभएपछि सबैभन्दा उत्तम बिकल्प भनेको एटिएम नै थियो । तर अह ! त्यही बिकल्पले समेत साथ नदिएपछि एटिएम खोज्दै भौतारिएका ओलीले भन्दै थिए,–‘मंगलवार बिहान मेडिकल कलेज अगाडीका देखि पुष्पलालचोकसम्मका एटिएम धाए तर कतै पनि पैसा आएन । कहँी एटिएम बन्दै छ भन्ने सन्देश आउँछ, कही के भन्छ । हैरान भए । यस्ता एटिएम राख्नु भन्दा बन्द गरिदिए राम्रो । शो मात्र गर्नु । सेवाग्राहीलाई किन ठग्नु ?’

नेपालगन्जका एटिएमदेखि सेवाग्राही ठगिएको, दुःख पाएका ओली प्रतिनिधि पात्र मात्र हुन । उनी जस्ता संयौ सेवाग्राही एटिएमबाट हैरानी खेप्दै आएका छन् ।

महामारी जस्ता विपद्मा सबैभन्दा प्रभावकारी हुने ठानिएका एटिएम जस्ता सेवाको बेहाल हेर्दा सबैभन्दा चुस्तदुरुस्त भनिएका बैंकको व्यवस्थापनको पोल खुलेको छ । एटिएम प्रभावकारी नबनाउने बैंकलाई सरोकारवाला कुनै पनि निकायले सोधपुछ सम्म गर्न सकेका छैनन् । त्यही भएर बैंकलाई पनि एटिएमलाई प्रभावकारी नबनाउन हाइसन्चो भएको छ ।

पश्चिमको लाइफलाईनका रुपमा रहेको नेपालगन्जबाट सन्चालित बैंकका एटिएमको अवस्था देखेर धेरै आश्चार्य चकित छन् । महामारीको विपद्मा एटिएम प्रभावकारी हुने ठानेरै जिल्ला प्रशासन कार्यालय बाँकेले अरु सबै बन्द गर्दा एटिएम चलाउनु भनेर निर्देशन दिएको छ । तर अहँ बैंकले टेरेका छैनन् । बरु दिउँसो तीन घण्टा कोरोनाको जोखिम बढाउने गरी बैंक खुल्ला गर्न तयार देखिएका छन् ।

प्रकाशित मितिः     ४ जेष्ठ २०७८, मंगलवार १०:३६  |