कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यो संक्रमणबाट बच्नका लागि हरेक देशहरुले विभिन्न उपाय अवलम्बन गरेका छन् । नेपाल सरकारले पनि भिडभाडमा नजानका लागि विभिन्न क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय नै भिडभाडमा सहभागि नहुनु हो ।
वित्तीय क्षेत्रको भिडभाड पनि संक्रमणका लागि जोखिम हुन सक्छ । यसै कारणले गर्दा त नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्तीय संस्था संघले डिजिटल कारोबार गर्न भनेका छन् । यसको खास कारण बैंकमा भिडभाड नगरौ भनिएको हो । अहिले एटीएमबुथहरु जताततै छन् । प्रसस्त मात्रामा एटीएम भएका कारण बैंकमा भिडभाड नगर्नका लागि एटीएम कार्डको प्रयोग धेरै प्रभावकारी हुनसक्छ । यसरी एटीएम कार्डको प्रयोग बढाउँदा एकातिर बैंकमा भिड लाग्नु नपर्दा कोरोनाको संक्रमणको खतरा कम भयो भने अर्कातिर एटीएम कार्डको प्रयोग जहाँबाट पनि गर्न सकिने भयो ।
मोबाइल बैँकिङ :
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । आजको युगमा मोबाइल फोन नबोक्ने व्यक्तिहरु कमै भेटिन्छन् । त्यसैले, मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको पाइन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । यद्यपि, कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तिय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् ।
मोबाइल बैँकिङले प्रदान गर्ने सेवा तथा सुविधाहरु
- एकाउन्ट र कारोबारका बारेमा जानकारी
- आफ्नो एकाउन्टबाट जुनसुकै अरु एकाउन्टमा तुरुन्तै पैसा ट्रान्सफर गर्न सक्ने सुविधा
- रजिस्टर भएका जुनसुकै कम्पनिको विल तिर्नुका साथै मोबाइल रिचार्ज समेत गर्न सकिने
- आफ्नो बैँकिङ कारोबारबारे एसएमएसमार्फत जानकारी प्राप्त गर्न सकिने
- विनिमय दर, ब्यालेन्स लगायतका कुराहरुका बारेमा सोधपुछ गर्न सकिने
मोबाइल बैंकिङमा के छ मापदण्ड ?
मोबाइल बैंकिङबाट प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ भने मासिक दुइृ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ । कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थामा भने बढी कारोबार पनि गर्न पाइन्छ । क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यही व्यवस्था लागू हुन्छ ।
इन्टरनेटबाट १० लाखसम्म
इन्टरनेट बैंकिङबाट एक दिनमा १० लाख रुपैयाँसम्म र मासिक अधिकतम ३० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ । यस माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ भने मासिक रूपमा अधिकतम ५० लाख रुपैयाँभन्दा बढीको ट्रान्सफर गर्न पाइँदैन । कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा भने जति पनि रकम रकमान्तर गर्न सकिन्छ ।
मोबाइल वालेटमा एक लाख
मोबाइल वालेटमा बैंक खाताबाट मासिक पाँच लाख र एक दिनमा एक लाख रुपैयाँसम्म ट्रान्सफर गर्न पाइन्छ । वालेटबाट अन्य बैक वा अर्को वालेटमा प्रतिदिन २५ हजार र मासिक ५० हजार रुपैयाँसम्मा ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ ।
सरकारलाई तिर्ने रकम
नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरूको हकमा सीमाले बाधा पुग्दैन । यस्ता शूल्कहरु बीलअनुसार मोबाइल बैंकिङबाट भुक्तानी गर्न सकिन्छ । नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरू, खानेपानी सेवा, शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा, होटल तथा रेस्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ता, बिमा प्रिमियम, धितोपत्रसम्बन्धी कारोबारलगायत सेवाको आवधिक रूपमा भुक्तानी गर्नुपर्ने शुल्कहरूमा पनि सीमा तोकिएको छैन । यसरी भुक्तानी गरिएको रकमको विवरण अद्यावधिक गरी राख्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रविधिको विस्तारले कारोबार गर्न सहज र छिटो हुनुका साथै पारदर्शीता पनि बढेको छ । प्रयोग गर्न नजान्दा केही अप्ठ्याराहरु पनि छन् । तर, सदुपयोग गर्न जान्ने हो भने प्रविधिले मानव जीवनमा निकै सुविधा ल्याएको छ । घरमै बसीबसी सम्पूर्ण कारोबार गर्न सकिने वातावरण बनेको छ ।