भेरीको घटनापछि त्रासमा स्वास्थ्यकर्मी, भन्छन्–‘नो सेक्युरेटी, नो वर्क’


नेपालगंज – भेरी अस्पतालमा चिकित्सक माथि भएको दुर्व्यवहारको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

शुक्रबार विहान अस्पतालमा कार्यरत नर्सहरूले काम गर्ने वातावरण नभएको भन्दै सुरक्षाको ग्यारेन्टी र दुर्व्यवहार गर्नेलाई कारवाही हुनुपर्ने माग राखेर अस्पताल परिसरमा प्रदर्शन समेत गरेका छन् ।

चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनु भयो ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि विहीबार राती आक्रमण गरेका थिए। पिपिई सेट लगाएका नर्सलाई घाँटी अठ्याउने, लात्ताले हान्ने, लखेट्ने गरिएको थियो ।

अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो।

मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरै लगायत माथि हातपात गरेका थिए । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मी माथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका थिए । भेन्टिलेटरबाट विरामीको ज्यान गएको भन्दै आफन्त आक्रमणमा उत्रिएका थिए ।

 

घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेर अबेर सम्म छलफल थियो ।

प्रकाशित मितिः     १४ जेष्ठ २०७८, शुक्रबार ११:२४  |