घरजग्गा धितो राखेर ऋण लिएका मध्ये ४२ प्रतिशतले तिर्न सकेनन्


  • नेपाल होम्सबाट

काठमाडौं । कोभीड–१९ पछि इतिहासकै सर्बाधिक धेरै घरजग्गा खरिद बिक्री भएर रेकर्ड ब्रेक भएपनि समयमै बैंकको कर्जा तिर्न नसक्ने ऋणीको संख्या बढेको छ ।

घरजग्गा धितो बन्धक राखेर बैंकबाट कर्जा लिनेमध्ये ४२ प्रतिशत ऋणीले बैंकको कर्जा समयमा तिर्न नसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

देशभरका मालपोत कार्यालयहरुमा कर्जाका लागि दृष्टिबन्धक राखेको धितो घरजग्गा रोक्का र फुकुवाको आँकडाले यस्तो देखाएको हो ।

विभागका अनुसार चालु आर्थिक बर्षको साउनदेखि चैत महिनासम्म ४ लाख ४१ हजार ७५२ घरजग्गा धितो बन्धक राखेर ऋण लिएको देखिन्छ । तर, बैंकको ऋण चुक्ता गरेर धितो बन्धक राखेको घरजग्गा फुकुवा गर्नेको ऋणीको संख्या जम्मा २ लाख ५६ हजार ७८१ मात्र रहेको छ ।

आधाआधी ऋणीले समयमा कर्जा चुक्ता गर्न नसकेर धितो बन्धक राखेको सम्पत्ति फुकवा गर्न सकिरहेका छैनन् जबकी हरेक महिनाजसो घरजग्गा धितो बन्धक राखेर ऋण लिनेहरुको संख्या भने बढ्दै गइरहेको देखिन्छ । कोभीड महामारीबीच लिइएको ऋण रकम शेयर खरिद गर्न र घरजग्गा किनबेचमा लगानी भइरहेको राष्ट्र बैंकको भनाई छ ।

पछिल्लो समय शेयर बजार र घरजग्गा खरिद बिक्रीमा आइरहेको उछालले पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर शेय र घरजग्गामा लगानी गरेको पुष्टि हुन्छ ।

तर, ऋणीहरुले समयमा कर्जा तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरु धितो लिलामीमा पनि आक्रमक देखिइरहेका छन् । यो समय नेपाल राष्ट्र बैंकले कोभीडका कारण अप्ठेरोमा परेका ऋणीको धितो लिलामी नगर्नु भन्ने दिर्नेशन भएपनि बैंकहरु स–साना ऋण उठाउन पनि निर्मम हुन थालेका छन् ।

राष्ट्र बैंकले कोभीडको दोस्रो लहरबाट प्रभावित ऋणीलाई पहिला दिएको सुविधालाई निरन्तरता दिने पनि स्पष्ट पारिसकेको छ ।

तर, कतिपय बैंकहरुले ऋणीलाई फोन वा म्यासेज गरेर तत्काल ऋण नतिरे कालो सूचिमा नाम निकालिदिने भन्दै दबाब दिन थोलेको ऋणीहरुको गुनासो छ । कोभीड महामारीकाकारण व्यापार व्यवसायदेखि रोजगारीसम्म समेत सुस्तता आएपछि धेरैले बैंकको ऋण चुक्ता गर्न सकिरहेका छैनन् ।

दुई तिहाई ऋणको धितो घरजग्गा

बैंकहरुले ऋण प्रवाह गर्दा कर्जा सुरक्षणका रुपमा ऋणीको सम्पत्ती धितोमा राख्ने गरेका छन् । यहाँ सबैभन्दा बढी घरजग्गा धितोमा राखेर ऋण लिने चलन छ । राष्ट्र बैंकको तथ्यांकअनुसार झन्डै दुई तिहाई ऋण घरजग्गा धितोमा राखेर प्रवाह भएको छ । कोभीडकै कारण ऋणीले घरजग्गा धितोमा राखेर लिएको कर्जा समयमै तिर्न सकिरहेका छैनन् ।

आर्थिक बर्ष ०७७/७८ को पहिलो ९ महिनामा देशभरका मालपोत कार्यालयमा भएको घरजग्गा रोक्का र फुकुवा अवस्था 

महिना रोक्का फुकुवा
साउन २६ हजार २०९ १९ हजार २०१
भदौ १८ हजार ७७९ ११ हजार ५९९
अशोज ३६ हजार ४३६ १८ हजार ११८
कात्तिक ३६ हजार ४३६ १८ हजार ११८
मंसिर ५३ हजार २८१ ३२ हजार २६०
पुस ६९ हजार १८२ ४० हजार २६५
माघ ६२ हजार ११६ ३८ हजार ३२०
फागुन ६४ हजार ४३८ ३६ हजार ९४२
चैत ७४ हजार ८७५ ४१ हजार ९५८
कुल ४ लाख ४१ हजार ७५२ २ लाख ५६ हजार ७८१

बैंकहरु ऋणीको धितो लिलामीका लागि आक्रमक ढंगले लागिरहेको कर्जा सूचना केन्द्रको कालोसूचिको लिष्ट र पत्रपत्रिकामा आइरहेका विज्ञापनले पनि प्रष्ट देखाउँछ । नियामक निकाय राष्ट्र बैंकले निर्देशनको अटेर गर्दै बैंकहरु कोरोनाले थलिएका ऋणीलाई दबाब दिएर कालोसूचि वा धितो लिलामीमा अगाडि बढेका हुन् ।

एक बर्षमा ५ हजार ऋणी कालोसूचीमा

कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार कोभीड सुरु भएपछि ०७६ चैत ११ देखि ०७८ बैशाख १५ गतेसम्म कालोसूचिमा ५ हजार ३२ जना थपिएका छन् ।

बैंकहरुले धेरैजसो कर्जाको ब्याज र किस्ता भुक्तानी गर्ने सम्झौता ऋणीसँग ३÷३ महिनाको गरेका हुन्छन् । यदी कुनै ऋणीको एक किस्तामात्र भुक्तानी रोकिएको भएपनि कर्जा सुरक्षण केन्द्रमा स्वतः डिफल्टरको प्रक्रियामा जाने हुन्छ । बैंकहरुले सीबीआईमा भएका आफ्ना डिफल्टर ऋणीहरुको लिस्टबाट छनौट गरेर मात्र कालोसूचिका लागि चिठी पठाउँछन् ।

काठमाडौं उपत्यकामा भन्दा बाहिर घरजग्गा धिताोमा राखेर लिएको कर्जा नतिर्ने प्रवत्ती बढी देखिएको छ । काठमाडौं उपत्यकामा पनि घरजग्गाधितोमा राखेर लिएको कर्जाको नियमित किस्ता बुझाउन नसक्ने धेरै छन् ।


उपत्यकाका तीन जिल्लामा रहेका ९ मालपोत कार्यालयमा कर्जाका लागि दृष्टिबन्धक राखेको धितो घरजग्गा रोक्का र फुकुवाको आँकडाले यस्तो देखाएको हो । तुलनात्मक रुपमा अरु जिल्लाभन्दा काठमाडौं उपत्यकामा जग्गा धितोमा राखेर लिएको ऋण समयमा तिर्नेको संख्या धेरै छ ।

तराईका जिल्लाहरुमा घरजग्गा धितो राखेर ऋण लिने ऋणीहरुले समयमै कर्जा तिर्न नसकिरहेको विभागको तथ्यांकले देखाउँछ । खासगरी प्रदेश २ का ऋणीले समयमा कर्जा चुक्ता गर्न नसकेको देखिन्छ । देशभरीको आँकडालाई हेर्ने हो भने करीव ४० प्रतिशतले घरजग्गा धितो कर्जा समयमै तिर्न सकिरहेका छैनन् ।

विभागका अनुसार चालु आवको साउन महिनामा देशभरका मालपोत कार्यालयहरुमा २६ हजार २०९ घरजग्गाबन्धक राखेर ऋण प्रवाह हुँदा १९ हजार २०१ ऋणीले कर्जा समयमै तिरेर धितो फुकुवा गरेका छन् ।

यसैगरी, भदौ महिनामा १८ हजार ७७९ धितो बन्दक राखिदा ११ हजार ५९९ धितो फुकुवा भएका छन भने अशोजमा ३६ हजार ४३६ धितो बन्धक र १८ हजार ११८ धितो फुकुवा, मंसिरमा ५३ हजार २८१ धितो बन्धक र ३२ हजार २६० धितो फुकुवा, पुसमा ६९ हजार १८२ धितो बन्धक र ४० हजार २६५ धितो फुकुवा, माघमा ६२ हजार ११६ धितो बन्धक र ३८ हजार ३२० धितो फुकुवा, फागुनमा ६४ हजार धितो बन्धक र ३६ हजार ९४२ धितो फुकुवा, चैतमा ७४ हजार ८७५ धिता बन्धक हुँदा ४१ हजार ९५८ धितो फुकुवा भएका छन् ।

ऋण तिर्न जग्गा बिक्री गर्नुपर्ने बाध्यता

समयमा ऋण चुक्तागर्न नसकेपछि ऋणीहरुले धितो राखेकै घरजग्गा बिक्री गर्नुपर्ने बाध्यता छ । ऋणीले आफै घरजग्गा बिक्री गरी ऋण चुक्तान गरेका कारण बैंकहरु आफै धितो लिलामीको प्रकृयामा जाने गर्छन् । खासगरी तराईका जिल्लामा धेरै घरजग्गा धितो लिलामीमा राखेको सूचना पत्रपत्रिका देखिने गर्छन् ।

कमजोर आर्थिक अवस्थाका कारण तत्कालको काम चलाउन धितो बन्धक राखेर बैंकबाट ऋण लिनेहरु अन्ततः बैंकको ऋण तिर्न नसकेर घरजग्गा बिहीन बन्ने गरेको देखिन्छ । त्यसो त बिहे, भोज, भतेरमा ऋण खोजेरै भएपनि आफ्नै हैसियतभन्दा बढी नै खर्च गर्ने चलन छँदै छ । उत्पादनमुलक काममा लिएको ऋण पनि कोभीडका कारण समयमा तिर्न नसक्ने ऋणीहरु पनि धेरै छन् ।

बैंकले कस्तो ऋणलाई कालो सूचिमा राख्छन ?

बैंकहरुले कर्जा लिएका ऋणीसँग गरेको सम्झौताअनुसार साँवा ब्याजको एउटा किस्ता पनि डिफल्ट हुने वित्तिकै ताकेता गर्न थाल्छन् । ईएमआई तिर्दा तिर्दा १÷२ महिना तलमाथि हुन सक्छ ।

यदि ऋणी कर्जा भुक्तानी गर्न बैंकमा जाँदै गएन, बैंकको सम्पर्कमै रहेन भने बैंकहरुसँग धितो लिलामी गरेर ऋण असुली गर्नुको विकल्प रहँदैन । बैंकले लिलामीको निर्णयमा पुग्नुअघि ऋणीसँग धेरै फलोअप गरिरहेको हुन्छ । ऋण डिफल्ट भएपछि अन्तिममा बैंक जाने भनेको धितो लिलामीमै हो ।

बैंकबाट कर्जा लिएको ऋणीले सम्झौताअनुसार किस्ता भुक्तानी नगरेको ३ महिना २५ प्रतिशत ६ महिनासम्म भुक्तानी नभएमा ५० प्रतिशत र १ वर्षसम्म भुक्तानी नभएमा शतप्रतिशत प्रोभिजन गर्नुपर्छ ।

यसबीचमा बैंकले ऋणीलाई ब्याज किस्ता भुक्तानीका लागि पत्राचार भने गरिरहनु पर्ने हुन्छ । शतप्रतिशत प्रोभिजन गरिएका कर्जालाई कालोसूचीमा राख्ने अधिकार बैंकलाई हुन्छ । तर बैंकले कालो सूचीको लागि सीआइबीमा पत्र पठाउनुभन्दा अगाडि ऋणीलाई ३५ दिने सूचना निकाल्छ । स्वयम ऋणीलाई विभिन्न ताकेतापत्र पठाइरहन्छ ।

निकै धेरै फलोअप गर्दा पनि समयमा कर्जाको भुक्तानी नगरेमा बैंकले कारण खुलाई सीआइबीमा कालोसूचीमा राख्न चिठी पठाउँछ । बैंकले चिठी पठाएपछि २/३ दिनमा सीआइबीले कालोसूचीमा ऋणीलाई राख्छ ।

नेपालमा बैंकहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् १९८९ माकर्जा सूचना केन्द्रको स्थापना गरिएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा सम्बन्धी सूचनाको अभिलेख राख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

कुनै बैंक तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालोसूचीमा पर्दछ । कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि आगामी दिनमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट पाइने सेवा सुविधामा बन्देज हुन सक्छ ।

यसबाट कुनै एउटा बैंक वा वित्तीय संस्थाको ऋण रकम नतिरी कालोसूचीमा परेको व्यक्तिले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनःकर्जा पाउन सक्दैन । कालोसूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सुविधा समेत नपाउन सक्छ ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७८, आईतवार १५:२६  |
error: Content is protected !!