ओलीको एकता प्रस्ताव नेपालद्वारा अस्वीकार, संसद विघटनको निर्णय फिर्ता गरे विवाद अन्त्य हुने दावी


काठमाडौं । नेकपा एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता आह्वान आफूहरुलाई विभाजित गर्ने दुराशयका साथ आएको दावी गरेका छन् ।

आफ्नो समूहको बैठकपछि एकल विज्ञप्ति जारी गर्दै उनले अदालतमा दायर गरिएको रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको शर्त पनि अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री ओली स्वयमले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने नेपालको आशय छ ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको छ । उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो । प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ ।’

ओलीले गरेका अन्य प्रस्तावहरु पनि छलछालयुक्त भएको नेपालको ठहर छ ।

प्रकाशित मितिः     २४ जेष्ठ २०७८, सोमबार २१:१८  |