बाँके : खजुरा अर्थात पुरानो एयरपोर्ट ! हालको राँझा एयरपोर्ट संचालन हुनुपूर्व खजुरामा बिमान आवात–जावत गर्थे । सदरमुकाम नेपालगञ्ज आउन त्यही बाटो प्रयोग गर्नुपथ्र्यो ।
धेरै नयाँ पुस्ताका लागि यो कुरा बिश्वास नलाग्न सक्छ । तर बास्तविकता यही हो । राजा, प्रधानमन्त्री जस्ता भिभिआईपीदेखि सर्वसाधारणहरु नेपालगञ्ज पुग्न खजुरा एयरपोर्टमा ओर्लिन्थे । खजुराको बाटो हुँदै जिल्ला सदरमुकामको गन्तव्यमा पुग्नुपथ्र्यो । बुढापाकाका लाति ताजा रहेको यस्ता सम्झना नयाँ पुस्ताका लागि भने सपना जस्तो लाग्छ ।
एयरपोर्ट लगायत महत्वपुर्ण सरकारी निकायहरु रहेकाले खजुरा जिल्लाकै शक्तिशाली ठाउँ थियो । स्थानीय अगुवा शतिश निरौलाका अनुसार, पुनर्बासका रूपमा तत्कालीन शासक महेन्द्र ले बसाएको ठाउँ हो त्यसैले यहाँ विभिन्न ठाउँ बाट बसाई सराइ गरेर आएका मानिसहरुको मिश्रीत बसाई छ ।
जसरी जङ्ग बहादुरले निकै चासो का साथ नेपालगन्ज शहर बसाए उस्तै चासो अनि राष्ट्रिय महत्वकाका साथ तत्कालीन राजा महेन्द्र ले बसाएका थिए यो बस्ती । भारतीय सिमाना छेउ छेउ मा पूर्व सैनिकहरुलाई बसोबास गराएर अलि वरका ठाउँमा अन्य बस्ती बसाए त्यसो गर्नुमा सिमा जोगाउने चासो हुनुपर्छ उनको ।
‘खजुराको रुप बिस्तारै फेरिदै त छ नै पछिल्लो स्थानीय निर्वाचन पश्चात् । हामी यसलाई अझ स्मार्ट बनाएर लैजादै छौं ।’– गाउँपालिका अध्यक्ष किस्मत कक्षपति भन्छन् । त्यसरी कुनै बेला जिल्लाकै लिड गर्ने अवस्थामा पुगेको खजुरालाई फेरी त्यसैगरी चम्काउने बहस र छलफल हुन थालेका छन् । गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति बृहद खजुरा सम्मेलन त्यसैको रुप भएको बताउँछन् । कक्षपति भन्छन,–‘नयाँ ढङ्गले खजुरालाई अगाडी बढाउने योजना बन्दै छ ।
खजुरामा कृषि क्षेत्रमा अध्ययन अनुसन्धान हुने कार्यालयदेखि कपास विकास समिति, जनक शिक्षा सामाग्रीको छापाखानादेखि पछिल्लो समय क्यान्स अस्पतालसम्म सन्चालनमा ल्याइएको छ । तर सबै कार्यालय पुर्णरुपमा सन्चालन हुन सकेका छैनन् । राजनीतिक नेतृत्वले ती कार्यालय चासो नदिइरहेका बेला मुख्यमन्त्रीलाई समस्याका बारेमा ध्यानार्कषण गराइएको हो ।
खजुरा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले आमनागरिकले बिश्वास गर्न सके मात्र कुनै पनि ठाउँको विकास गर्न सकिने बताएका थिए । उनले भने,–‘राज्यका निकायप्रति भरोसा गर्ने समाजले मात्र परिवर्तन गर्छ ।
अन्यथा परिवर्तन गर्न सक्दैन ।’ सामाजिक सन्जालमा कसैले केही लेखिदिएकै भरमा त्यसको सत्यता नखोजी सरकारको उछितो काड्ने काम भएको मुख्यमन्त्री पोख्रेलले बताए । उनले खजुरावासीको विकासको काममा साथ दिने उल्लेख गरे । ‘म यहाँ धेरै पटक आए । यहाँका बाटोघाटोका बारेमा जानकार छु । योजनाबद्ध तरिकाले बसेको बस्तीमा धेरै कुरा अधुरो भएको देख्दा चित्तबुझेन ।’मुख्यमन्त्री पोख्रेलले भने–‘तपाईका बारी बाझो छ त्यसमा राजनीतिक नेतृत्वले केही गर्न सक्दैन । यत्ति काम तपाईहरुले गर्न सक्नुहुन्छ ।’