किरण ओली अव सक्रिय राजनीतिमा


गुर्भाकोट :  किरण ओली–स्वास्थ्य र राजनीतिक क्षेत्रमा परिचित नाम हो । गुर्भाकोटका ओलीलाई नचिन्ने सायदै कोही होलान् । लामो समय स्वास्थ्यकर्मीका रुपमा जनताको सेवा गरेका ओली अब भने नेपाली काँग्रेसबाट सक्रिय राजनीति गर्दै छन् । भन्छन्–‘आधा जीवन स्वास्थ्यकर्मीका रुपमा जनताको सेवा गर्न बिताए बाँकी जीवन राजनीतिबाट जनताको सेवा गर्छु ।’

उनी नेपाली काँग्रेसकै शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय तहमा रही क्रियाशिल रहँदै आएका थिए । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा जागिरबाट राजीनामा दिएर सक्रिय राजनीति शुरु गर्न लागेका ओलीलाई गुर्भाकोटका काँग्रेसका कार्यकर्ता र शुभेच्छुकहरु नगर पार्टी सभापतिका रुपमा हेर्न चाहेका छन् ।

तर ओली स्वयंले नगरसभापतिको दावी गरिसकेका छैनन् । आन्तरिक परामर्शमा रहेका ओलीले आफुलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिने अपेक्षा भने गरेका छन् । त्यो भनेको नगर पार्टी सभापति नै हो । घोषणा गरिनसकेका ओली भन्छन्–‘पार्टीलाई थप उचाईमा पुर्याउन नेता कार्यकर्ताले अगाडी बढ्नुहोस् भनिरहनुभएको छ । तर बिधिसम्मत तरिकाले मलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिने अपेक्षा गरेको छु ।’

ओलीको राजनैतिक यात्रा २०४७ साल बैशाख–४ गते देखि जन सेवा माध्यामिक विद्यालय सहारेदेखि नेपाल विद्यार्थी संघको सदस्यको टिकट लिएर भएको थियो । जति बेला उनी कक्षा ६ मा अध्ययन गर्दै थिए । कक्षा ७ मा स्कुल कमिटीको सचिव भए । कक्षा ८ मा पढ्दा उपाध्यक्ष भै काम गरे । उनले भने –‘म विद्यालय जादा साईन पेनले सेतो कमिजको गोजिमा नेबिसंको झन्डा बनाएर जान्थे । फरक बिचारका सरहरुले यो धोएर आउ भन्दा नमान्दा कुटाई पनि खाएको अनुभव छ।’

त्यतिबेलाको कुरा सम्झदै ओलीले भने–‘मेरो घरमा मैले नेपाली काङ्ग्रेस र नेबिसंको झन्डा धुरिमा लगाउथे । २०४८ सालको आमनिर्वाचनमा मैले नेता पुर्ण खड्काज्युको कार्यक्रममा आफैले रचना गरेको पश्चिमबाट शिबराज,पुर्वबाट पुर्ण ∕ यिनी अघि बढ्ने छ देशको बिकास गर्न । शिर्षकको गित ४÷५ वटा आमसभामा गाएको सम्झना छ । त्यतिबेला कम्युनिस्ट हरुले साँस्कृतिक कार्यक्रमहरु गर्थे तर काङ्ग्रेसमा गायकहरुको खाँचो थियो । कुनै आमसभामा त मैले भाषण पनि गरेको थिए ।’

२०४९ सालमा शिद्द पृथ्वी जनता मावि श्रीगाउँ दाङमा ९ र १० पढदा नेबिसंघको सचिब र उपाध्यक्ष भै काम गरे । २०५१ को मध्यावधी निर्वाचनमा स्वर्गीय नेता खुम बहादुर खड्काको केही चुनाबी कार्यक्रमहरुमा भाषण र गीत गाए । तर स्थानीय नेता कार्यकर्ताहरुको फोन दाङ्ग गएपछी म सुर्खेत क्षेत्र नं.१ को चुनावी कार्यक्रममा सहभागी हुन घर फर्के । त्यसपछि २०५२ एसएलसी सकेर उनी घर फर्के ।

 

पहिले नेबि संघ र पछि तरुण दल सहारे अध्यक्ष भै काम गरे । २०५४ मा उनलाई नेपाली काङ्ग्रेस सहारेको सचिवको जिम्मेवारी दिइयो । सभापति स्वर्गीय गोबिन्द खत्री र स्वर्गीय शेरबहादुर शाही जस्ता दिग्गज नेताहरुसङ्ग काम गर्ने मौका पाए । सुर्खेतको राजनीति पछि निजि बोर्डिङ स्कुल भएकाले शिक्षण पेसा सुरु गरि नेपाल शिक्षक संघको टिकट लिएर सुर्खेत क्षेत्र नं १ को उपाध्यक्ष भै काम गरे । २०५६ मा नेपाली काङ्ग्रेसको कृयाशिल सदस्य प्राप्त गरे । २०५६ सालको आमनिर्वाचनमा गीत गाउने र अन्य सहकर्मी अनन्त खत्रीले कार्यक्रम संचालन गर्ने जिम्मेवारी बहन गरे ।

२०५६ मा लोकसेवा दिएर पास भई जागिरे जीवन सुरु गरे । उनको पहिलो पोस्टिङ् साल्मा जाजरकोटमा भयो । उनले त्यहीदेखि हालसम्म जनताको सेवा गरिरहे । स्वास्थ्यकर्मी हुँदा समेत स्वास्थ्यकर्मी संघमा क्रियाशिल रहे । नेपाल स्वास्थ्यकर्मी संघ,नेपाल निजामती कर्मचारी संघ र नेपाल ट्रेड युनियन काङ्ग्रेसको पेशागत राजनीतिमा लागे ।

नेपाली काङ्ग्रेसको ११,१२ र १३ औ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि हुने मौका पनि पाए । नेपाल स्वास्थ्यकर्मी संघको जिल्ला उपाध्यक्ष,मध्य–पश्चिम् क्षेत्रीय अध्यक्ष,केन्द्रिय उपमहासचिव हुँदै हाल निर्वाचित केन्द्रिय उपाध्यक्ष भएको २ बर्ष भयो । स्थानीय तह कर्मचारी युनियन कर्णाली प्रदेशको अध्यक्षको जिम्मेवारी पाएको पनि अढाई बर्ष भयो । निजामती कर्मचारी र ट्रेड युनियन काङ्ग्रेसका धेरै महाधिवेशनमा केन्द्रिय प्रतिनिधि हुने अवसर पाए । २०६४ को निर्वाचनमा बक्ताको रूपमा महिनौ सहभागी भए । तर त्यसबेला सुर्खेतको क्षेत्र नं. १ को राजनीतिमा अप्रिय एवं दुर्भाग्यपूर्ण घटना घट्यो जसले मलाई सुर्खेत बिस्तापित गरायो । त्यसपछि २०६६ मा नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रिय समितिको शिफारिसमा स्वास्थ्य राज्यमन्त्रीको नीजि सचिवालयमा नीजि सचिव भै काम गर्ने अबसर प्राप्त गरे ।

ओली भन्छन्–‘११ महिने बसाईमा सुर्खेत जिल्ला लगाएत मध्य पश्चिम् र अधिराज्यका थुप्रै जिल्लाहरुमा एक्सरे,अल्ट्रासाउन्ड,जिल्ला र अन्य कार्यालयका लागि गाडी,अस्पतालका लागि एम्बुलेन्स,सैयौ स्वास्थ्य चौकिहरुका भवन निर्माणका लागि बजेट ब्यबस्थापन,मेहेलकुना प्राथमिक स्वास्थ्य केन्द्र लाई अस्पताल बनाउने निर्णय,महिला स्वास्थ्य स्वयं सेवीकाहरुलाई रु ३००० लुगा भत्ता दिने लगायत थुप्रै निर्णय गराउन नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रिय समितिको सहयोग,नेपाली काङ्ग्रेसका नेता पुर्ण खड्का,स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्य मन्त्रीसङ्ग पहल र अनुरोध गरी सफल भए ।’

सचिवालयमा काम गर्दा विभिन्न कारणबस काम गर्न कठिनाई हुँदा गाउको आफ्नै स्वास्थ्य चौकी फर्कने निर्णय गरे जबकी स्वास्थ्य सचिब डा सुधा शर्माले उनलाई तिम्रो काम मलाई मन पर्यो । तिमि जस्ता ईमान्दारको खाचो मन्त्रालयमा छ । तिमी यतै बस किन गाउँ जान्छौ । तिमी जहाँ बस्न मन गर्छौ त्यही सरुवा गरिदिन्छु भन्नू भएको ओली बताउँछन् । तर उनी गाउँ फर्के र निरंतर आफ्नै स्वास्थ्य चौकीको काममा लागे । स्वास्थ्य चौकलाई नमुना बनाउन भूमिका खेले । विभिन्न पुरस्कार हरु पाए ।

दातृ संस्थाका नेपाली र बिदेशी प्रतिनिधिहरुले धेरै पटक अनुगमन भ्रमण गर्ने थलो सहारे स्वास्थ्य चौकी बन्यो । मुलुक गणतन्त्र तर्फ लम्कियो । स्थानीय निर्वाचन २० बर्ष पछि आयो । स्थानीय निर्वाचन पश्चात् उनलाई कर्मचारी ब्यबस्थापन कार्यालय जिल्ला प्रशासन कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारी दिएर पालिकामा पठायो । नगर प्रमुख हस्त पुन र उप–प्रमुख मैना बिकको निर्देशन र वहाहरुका चुनावी प्रतिबद्दता अनुसार ३ बर्ष सम्म पालिकामा काम गरे ।

‘कर्मचारी समायोजन पछि स्वास्थ्य शाखा प्रमुख दरबन्दी अनुसार आएपछि मालारानी स्वास्थ्य चौकिमा ८ महिना काम गरेर २०७८ असार २४ गते स्वैच्छिक अबकास लिएको छु । जागीरे जीवन बाट अबकास लिनुको प्रमुख उद्देश्य मेरो राजनीति मार्फत समाज सेवा गर्नु नै हो।म मैले बिस्वास गरेका टिमका अग्रज नेताहरुको सल्लाह र सुझाब अनि वहाँहरुले दिएको जिम्मेवारी भन्दा बाहिर जाने छैन तर त्यो जिम्मेवारी मैले अहिले सम्म पार्टी र समाजका लागि मैले गरेको योगदान अनि मेरो शुभेच्छुक संस्थाको हालको पद सुहाउँदो हुनुपर्ने छ।’– ओेलीले भने ।

आफ्नो कामको सहि मुल्यांकन गरि नेपाली काङ्ग्रेस पार्टीको महत्वपुर्ण जिम्मेवारी पाउनेमा उनी आशावादी छन् ।

प्रकाशित मितिः     २६ असार २०७८, शनिबार ०७:१३  |