राप्तीसोनारी टुक्र्याउने प्रस्ताव हिउँदे सभामा छलफल हुने


नेपालगन्ज ३० असार :  राप्तीसोनारीको गाउँसभामा यसअघि पेश गरिएको राप्ती सोनारी गाउँपालिकालाई टुक्र्याउने सम्बन्धी प्रस्तावलाई अहिले तत्कालका लागि सूचीबाट हटाइएको छ । सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष लाहुराम थारुले सभाका सदस्यहरुलाई यस्तो जानकारी गराउनुभएको छ ।

‘अहिले बजेटका विषयमा मात्रै केन्द्रित रहनुपर्ने गाउँ सभा हो, गाउँपालिका टुक्र्याउने सम्बन्धी प्रस्तावका विषयमा अर्को हिउँदे सभामा ब्यापक रुपले छलफल गर्नेछौं,’ उहाँले भन्नुभयो । राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि कुल ८२ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ । राप्ती सोनारी गाउँपालिका कार्यालयमा आज सम्पन्न भएको नवौं गाउँ सभा तथा बजेट अधिवेशनले सो बजेट सर्वसम्मत रुपले पारित गरेको हो ।

गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गर्नु भएको उक्त बजेटलाई सभामा उपस्थित हुनु भएका सबै सदस्यले हात उठाएर पारित गर्नु भएको हो । गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम भने यसअघि नै सर्वसम्मत रुपमा पारित भएको थियो ।

गाउँपालिकाको असार १० गतेबाट नवौं गाउँसभा सुरु भएको थियो । उक्त सभामा उपाध्यक्ष खत्रीले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएकोमा लामो छलफल तथा अध्ययन पश्चात आज सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिनुभयो ।


संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट गरी बजेट विनियोजन गरिएको छ ।  संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, शर्सत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानमार्फत गाउँपालिकाले ९ वटै
वडामा बजेट विनियोजन गरेको छ ।

जस अनुसार वडा नम्बर १ र २ मा २र२ करोड, वडा नम्बर ३, ४, ६, ८ र ९ मा १ करोड ७५ लाखका दरले, वडा नम्बर ५ र ७ मा १
करोड ८० लाख का दरले बजेट विनियोजन गरिएको छ । वडा स्तरमा विनियोजन गरिएको उक्त बजेट र योजना तथा कार्यक्रमबारे आजको
सभामा वडा नम्बर १ का वडाध्यक्ष चन्द्रबहादुर ओली, वडा नम्बर २ का वडाध्यक्ष मदनकुमार ओली, वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडाध्यक्ष कान्छा थारु, वडा नम्बर ५ का वडाध्यक्ष झगरु थारु, वडा नम्बर ६ का वडाध्यक्ष जनकबहादुर थारु, वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारु, वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेत र वडा नम्बर ९ का वडाध्यक्ष महाबीर ओलीले आ–आफ्नो वडाको बजेट प्रस्तुत गर्नु भएको थियो ।

यस्तै गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीको क्षेत्राधिकारतर्फको बजेट पनि प्रस्तुत गरियो । गाउँपालिकाले आगामी वर्षका लागि सामाजिक विकास शाखा, शिक्षा, स्वास्थ्य लगायतका लागि ७ करोड ११ लाख ६६ हजार ९ सय रुपैयाँ, आर्थिक विकास शाखा,
कृषि पशु लगायतका लागि ८० लाख, पुर्वाधार विकासमा ९ करोड ३२ लाख ३७ हजार ४ सय ५१, वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड, संस्थागत विकास सेवा प्रवाहमा १५ लाख बजेट विनियोजन गरेको छ ।

 

प्रकाशित मितिः     ३० असार २०७८, बुधबार १७:२१  |
error: Content is protected !!