नेपालगन्ज उद्योग वाणिज्य संघले सबै सदस्य व्यवसायीको २ लाखको सामुहिक दुर्घटना वीमा गर्ने


नेपालगन्ज ३० असार :  नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि रु २ लाखको सामुहिक दुर्घटना वीमा गर्ने निर्णय गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीकोे अध्यक्षतामा बुधवार बसेको संघको बैठकले वीमा लगायत आफ्ना संस्थामा हुने नविकरण जस्ता कामहरुमा छुट दिने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिनुभयो ।

महासचिव ओलीका अनुसार, संघमा आवद्ध सदस्यहरुको हकमा कोभिड–१९ अतिप्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग लगायतका पर्यटन व्यवसाय, चलचित्र उद्योग, हस्तकला उद्योग, विज्ञापन सेवा, टेलरिङ, ब्यूटीपार्लर, हेल्थ क्लब जस्ता व्यवसायले श्रावण १ गते देखि संघको प्रवेश र नविकरण शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरिएको छ । संघले अन्य उद्योगी, व्यवसायीहरुका हकमा श्रावण १ गतेदेखि असोज मसान्त सम्म ३५ प्रतिशतसम्म प्रवेश र नविकरण शुल्कमा छुट दिने भएको छ ।

संघमा आवद्ध सदस्यहरुका लागि आव २०७८/०७९ श्रावण १ गते देखि नयाँ सदस्यता लिने तथा नविकरण गर्ने सदस्यताहरुका हकमा सामुहिक दुर्घटना बिमा वापत दुई लाख र दुर्घटना पश्चात् औषाधी उपचार खर्च वापत एक पटकमा अधिकतम् बिस हजार बराबरको औषाधी उपचार खर्च दाबी गर्न पाउने गरि बिमाको व्यवस्था गर्ने भएको छ ।

संघका अध्यक्ष मन्सुरीले नविकरण छुट र वीमाको कार्यबाट उद्योगी, व्यवसायीले राहात महसुस गर्ने बताउनुभएको छ । उहाँले भइपरी आउने जोखिमको अन्त्य गर्नका लागि वीमा प्रभावकारी हुने उल्लेख गर्नुभयो । संघका सचिव ओलीले मोफसलमा सम्भवत पहिलो पटक वीमाको व्यवस्था गर्न लागेको बताउनुभयो ।

प्रकाशित मितिः     ३० असार २०७८, बुधबार १९:२६  |