नेपालगन्ज । बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा निर्माण गरिने ‘नरैनापुर औद्योगिक ग्राम’ को डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारिएको छ ।
नरैनापुर ४ खोदवामा करिब ४७ करोडको लागतमा ३७ विघा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण गर्नका लागि एरिकम ईन्जिनियरिंग सर्विस ललितपुरले डीपीआर तयार पारेर बुझाएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।
उहाँले नरैनापुर जिल्लाको मात्र नभई यस क्षेत्रकै सबैभन्दा पिछडिएको क्षेत्र भएकोले यहाँ निर्माण हुन लागेको औद्योगिक ग्रामले यस पालिकाको मुहारनै फेर्ने दावी गर्नुभयो ।
सरकारले देशभरिका सबै स्थानीय तहहरुमा औद्योगिक ग्राम बनाउने कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र नरैनापुर गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो । खजुरामा औद्योगिक ग्रामको निर्माण प्रक्रिया अगाडी बढी सकेको छ भने नरैनापुरको डीपीआर तयार गरेर बुझाईएको छ ।
४६ करोड ७९ लाख ९८ हजारको लागतमा ३७ विघा क्षेत्रफलको औद्योगिक ग्राम भित्र विभिन्न भौतिक पूर्वाधारहरु निर्माण गर्नेगरि डीपीआर तयार गरिएको एरिकम ईन्जिनियरिंग सर्विसका प्रबन्ध निर्देशक मन्दिप कुमार ठाकुरले बताउनुभयो ।
उहाँले सो औद्यौगिक ग्राम भित्र पहिलो चरणमा प्रशासनिक भवन, हेल्थ पोष्ट, गार्ड रुम, पार्क, बाटोहरु, खानेपानी, विद्युतीकरण लगायतका कामहरु गरिने बताउनु भयो । सो औद्योगिक ग्राममा ठुला, मझौला तथा साना गरेर १५० उद्योगहरु सञ्चालन गरिने पनि प्रबन्ध निर्देशक ठाकुरले बताउनुभयो ।
स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि औद्योगिक ग्रामको निर्माण गर्न लागिएको नरैनापुर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो ।
उहाँले डिपीआर बमोजिम बजेट आउन थाल्ने वित्तिकै निर्माणका कामहरु तिव्र गतिमा शुरु गराइने पनि बताउनुभयो ।
औद्योगिक ग्राम निर्माणका लागि व्यवस्थापन गरिएको ३७ विघा जग्गालाई तारवार गर्ने तथा चौकिदार बस्ने घर बनाउने काम सबैभन्दा पहिले गरिने कार्यकारी प्रमुख बस्नेतले बताउनु भयो ।
नरैनापुर गाउँपालिकामा सडक र विद्युत विस्तार भैसकेको र नेपालगञ्जबाट धेरै टाढा पनि नरहेकोले सो औद्योगिक ग्रामले लगानीकर्तालाई ठुलो संख्यामा आर्कषित गर्ने बिश्वास गरिएको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र, खजुरा र नरैनापुरमा औद्योगिक ग्राम निर्माण भएमा यो जिल्ला पश्चिम नेपालकै प्रमख आर्थिक केन्द्र बन्ने बताउनुभयो ।