प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका सारथी – पूर्णबहादुर खड्का


काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको व्यस्तता बढ्दो छ। विपक्षी पाँच दलको गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका देउवामाथि सरकार सञ्चालन गर्ने जिम्मेवारी त छँदैछ। सँगै सत्ताको पूर्णता र सञ्चालनका लागि गठबन्धनका नेताहरुसँग छलफल गर्नुपर्ने व्यस्तता पनि छ।

देउवाको व्यस्तताका सारथी बनेका छन्– महामन्त्री पूर्णबहादुर खड्का। देउवा प्रधानमन्त्री बन्नुअघि र बनेपछिका महत्त्वपूर्णका राजनीतिक भेटघाटमा देउवालाई खड्काले सघाइरहेका छन्। देउवा प्रधानमन्त्री नियुक्त भएपछिका हरेकजसो राजनीतिक भेटघाट र संवादका परिघटनामा खड्का देउवासँगै छन्। एक हिसाबले भन्ने हो भने देउवालाई प्रधानमन्त्री बनाउन र विश्वासको मत दिलाउन खड्काले खास सारथीको भूमिका पाएका छन्।

सत्तारुढ गठबन्धनका बैठक, गठबन्धनका नेताहरुसँगको छुट्टाछुट्टै भेटघाटलगायतका बैठकमा खड्का उपस्थित छन्। गत आइतबार देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिने अघिल्लो दिन (शनिवार) भएको गठबन्धनका नेताहरुको छलफलमा समेत देउवाले खड्कालाई सहभागी गराएका थिए।

‘अहिले उहाँ (खड्का) प्रधानमन्त्रीका सबै राजनीतिक भेटघाटमा उपस्थित भएर सघाइरहनुभएको छ,’ खड्का निकट एक नेता भन्छन्, ‘देउवालाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराउन र विश्वासको मत दिलाउन उहाँले मिसनकै रूपमा काम गर्नुभएको थियो।’

कसरी पाए खड्काले यो स्पेस?

कांग्रेसको १३ औं महाधिवेशनपछि २०७५ सालमा देउवाले खड्कालाई महामन्त्रीमा मनोनीत गरेका थिए। देउवाले उनीसँगै विमलेन्द्र निधिलाई उपसभापति र डा. प्रकाशशरण महतलाई सह–महामन्त्री नियुक्त गरेका थिए। नेता निधि देउवाको लामो राजनीतिक यात्राका सहयात्री मानिन्छन्। देउवाका सबै राजनीतिक दुःखसुखमा निधिले उनको साथ छोडेनन्। पार्टी विभाजनको समयमा होस् वा सभापतिमा पटकपटक हार्दा होस् देउवाका भरपर्दा सारथी उनै निधि थिए।

तर, उनै हितैषी निधि र देउवाको सम्बन्ध अहिले ‘ग्रे जोन’ मा छ। १४ औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेपछि देउवासँगको निधिको प्रगाढ साइनो फिक्का बनेको छ। खासगरी असार ५ गते प्रदेश नम्बर २ बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुलाई बूढानीलकण्ठमा बोलाएर १४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्न र माहोल बनाउन निर्देशन दिएका थिए। त्यो बैठकमा निधि पनि उपस्थित थिए। उनले देउवाको प्रस्ताव अस्वीकार गर्दै आफू सभापतिमा लड्ने घोषणा गरिदिए। उनले यो प्रक्रियामा देउवाको समेत साथ खोजेका थिए। तर, देउवा निधिको सभापतिको तयारीप्रति त्यति खुसी देखिँदैनन्।

‘निधि दाइ टाढिनुभयो। पार्टी पदाधिकारीमा शेरबहादुर दाइका पक्षमा तीनजना हुनुहुन्थ्यो। निधि दाइ टाढिएपछि पार्टी पदाधिकारी पनि भएका हिसाबले पूर्णबहादुर दाइलाई सक्रिय बनाउनुभएको हो,’ देउवा निकट एक नेता भन्छन्।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा दायर भएपछि कांग्रेस सभापति देउवाको चहलपहल र सक्रियता बढेसँगै उनलाई एकजना भरपर्दो राजनीतिक सारथी जरुरी देखियो। गठबन्धनका दलका नेताहरुको वार्तामा होस् या अरु भेटघाटमा महामन्त्री खड्काले सघाउन थाले।
असार २८ गते अदालतले मागअनुसार नै फैसला गरिदियो। देउवाको राजनीतिक भेटघाट स्वाभाविक रूपमा बढ्यो। देउवाले निधिको अभाव खड्कामार्फत पूरा गर्न खोजेको देखिन्छ। ‘निधि दाइ टाढिनुभयो। पार्टी पदाधिकारीमा शेरबहादुर दाइका पक्षमा तीनजना हुनुहुन्थ्यो। निधि दाइ टाढिएपछि पार्टी पदाधिकारी पनि भएका हिसाबले पूर्णबहादुर दाइलाई सक्रिय बनाउनुभएको हो,’ देउवा निकट एक नेता भन्छन्।

देउवालाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएर विश्वासको मतसमेत प्राप्त भइसकेपछि मंगलबार खड्का उनका राजनीतिक गुरु कृष्णप्रसाद भट्टराई (किसुनजी)को आश्रममा पुगेका थिए। किसुनजीको सालिकमा माल्यार्पण गरेपछि उनले प्रतिनिधिसभा पुनःस्थापना, देउवा प्रधानमन्त्रीमा नियुक्त हुनु र विश्वासको मत पाउनुलाई अकल्पनीय सफलताका रूपमा व्याख्या गरेका छन्। उनले भनेका छन्, ‘मेरो राजनीति र जीवनदर्शनका गुरु परमपूजनीय किसुनज्यूको आश्रममा। जसको प्रत्यक्ष दर्शनबाट प्राप्त प्रेरणाले यसपटक संविधान र लोकतन्त्रको रक्षा गर्न अकल्पनीय सफलता मिल्यो, तिनै प्रेरणाका स्रोतमा माल्यार्पण गरी चरणस्पर्शपश्चात् आशीर्वाद लिँदै।’

धर्मराएको विश्वास फर्किएला?


देउवा र खड्का दुवै सन्त नेता किसुनजीको राजनीतिक संगतबाट प्रशिक्षित नेता हुन्। सोही कारण दुवै नेता लामो समयदेखि एकअर्कासँग नजिक छन्। २०५९ सालमा देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा खड्का उनैसँग थिए।

१२ औं महाधिवेशनमा सुशील कोइरालासँग सभापतिमा पराजित भएपछि देउवा समूहले पदाधिकारीमा एउटा मात्रै पद पाएका थिए। त्यो पद थियो– सहमहामन्त्री। आफ्नो समूहले पाएको त्यो पदमा देउवाले पूर्णबहादुर खड्कालाई पठाएका थिए। तर, संविधान जारी भएपछि पुनः प्रधानमन्त्रीमा उम्मेदवारी दिने कोइरालाको निर्णयपछि खड्काले जे निर्णय लिए, जस्तो अभिव्यक्ति दिए। त्यसले देउवालाई बिझायो। खड्काले पदबाट राजीनामा दिएको घोषणा गर्दै भनेका थिए– कोइराला र देउवाका कारण पार्टी ध्वस्त हुने अवस्था बन्यो।

त्यो घोषणाले उनीप्रति देउवाको विश्वास धर्मराएको अवस्था थियो। तर, १३ औं महाधिवेशनमा खड्का देउवा समूहमै रहे। देउवालाई सभापति बनाउन सहयोग गरे। तर, उनी देउवासँग भन्दा पनि अर्का प्रभावशाली नेता खुमबहादुर खड्कासँग नजिक मानिन्थे। देउवाका अति निकट एक नेताका अनुसार १३ औं महाधिवेशनमा देउवाले खुमबहादुरलाई उपसभापति बनाउने वचन दिएका थिए। त्यति मात्रै होइन लामो समयदेखि साथ दिँदै आएका निधिलाई समेत देउवाले उपसभापति बनाउने वचन दिएका थिए।

दुवै नेतालाई एउटै पदमा वचन दिँदा देउवाले सभापतिमा निर्वाचित भएको लामो समय पदाधिकारी मनोनीत गर्न सकेनन्। खुमबहादुरलाई उपसभापति बनाउँदा विमलेन्द्र रिसाउने र विमलेन्द्रलाई बनाउँदा खुमबहादुरलाई धोका हुने डरले देउवाले पदाधिकारी मनोनीत गरेका थिएनन्।

विधान संशोधन मस्यौदा समितिको संयोजकका रूपमा खड्काले गरेको काम देउवालाई मन परेको थिएन। देउवाको गुनासो थियो, ‘पूर्णबहादुरले मलाई अनुकूल हुने गरी विधान बनाएन। कम्तीमा सभापतिलाई मनोनीत गर्ने अधिकार त हुनुपर्‍यो नि।’

उनी निकट नेताहरुकै शब्दमा देउवा त्यस्ता राजनीतिज्ञ हुन्, जसले आफू बन्ने मूल्यमा जसले जे मागे पनि हुन्छ भन्दिन्छन्। त्यसैले आफ्नै वचनका कारण देउवा अप्ठ्यारोमा परेका थिए। जब २०७४ सालमा खुमबहादुरको निधन भयो, तब मात्रै उनले पदाधिकारी नियुक्त गरे। त्यो बेला देउवाले महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई मनोनीत गर्न खोजेका थिए। तर, पूर्णबहादुरले ‘उपसभापति भए खुमबहादुर दाइ र महामन्त्री भए आफूलाई मनोनीत गर्ने भनेको हो कि होइन? खुमबहादुरको निधनपछि अन्याय गर्ने?’ भनेपछि खड्कालाई महामन्त्रीमा मनोनीत गर्ने निर्णयमा देउवा पुगेको ती नेताको भनाइ छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा डाकेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का। (दायाँ)
महामन्त्रीमा मनोनीत गरेपछि खड्काप्रति देउवाको असन्तुष्टि मत्थर भइसकेको थिएन। विधान संशोधन मस्यौदा समितिको संयोजकका रूपमा खड्काले गरेको काम देउवालाई मन परेको थिएन। देउवाको गुनासो थियो, ‘पूर्णबहादुरले मलाई अनुकूल हुने गरी विधान बनाएन। कम्तीमा सभापतिलाई मनोनीत गर्ने अधिकार त हुनुपर्‍यो नि।’

असन्तुष्टिकै बाबजुद पनि आफूले मनोनीत गरेको महामन्त्रीलाई पार्टी सञ्चालनका क्रममा जिम्मेवारी दिनुपर्ने बाध्यता देउवासामु थियो। निर्वाचित महामन्त्री डा. शशांक कोइरालाको निष्कृयताको फाइदा खड्काले राम्रैसँग उठाइरहे।

जब १४ औं महाधिवेशनको राप र ताप बढ्न थाल्यो। तब खड्काले देउवालाई भेटेर भनेका थिए, ‘आगामी महाधिवेशनमा तपाईं सभापति हुने सन्दर्भमा मेरा कुनै सर्त छैन।’ जसरी १३ औं महाधिवेशनमा निधिले देउवालाई निःसर्त सघाउने वचन दिएका थिए, त्यही शैलीमा खड्काले वचन दिए। त्यसपछि खड्काप्रति हराउँदै गएको विश्वास देउवामा पलाउँदै गएको एक नेताको दाबी छ।

‘जसरी पूर्णबहादुर दाइले शेरबहादुर दाइलाई वचन दिनुभएको छ। त्यसले पूर्णबहादुर दाइप्रति हराउँदै गएको विश्वास जागृत भएको अनुभव मैले गरेको छु,’ खड्का–देउवा सम्बन्धलाई नजिकबाट नियाल्ने अवसर पाएका एक नेता भन्छन्, ‘यही बेला सभापति लड्ने घोषणा गरेर विमल दाइको बहिर्गमन भएकाले पूर्णबहादुर दाइलाई फाइदा भएको छ।’

देउवाले पछिल्लो समय खड्कालाई राजनीतिक भेटघाटमा सक्रिय बनाउनुमा खड्काप्रति धर्मराएको विश्वास पुनः जागृत हुँदै गएको संकेतका रूपमा लिनुपर्ने ती नेताको बुझाइ छ। स्रोत- नेपाल समय

प्रकाशित मितिः     ८ श्रावण २०७८, शुक्रबार ०६:१४  |
error: Content is protected !!