गर्मी नथेग्ने नेपालगन्जको विद्युत


नेपालगन्ज :  देशकै सबैभन्दा धेरै गर्मी हुने शहर हो नेपालगन्ज । गर्मीका कारण हैरान भएका सर्बसाधारणलाई बिद्युतले राहत दिनुपर्ने हो । तर अह उल्टो आहत बनाइरहेको छ । नेपालगन्जमा जतिजति बेला गर्मी बढ्छ त्यति नै बेला बिद्युत संकट आइपर्छ । विद्युत व्यवस्थापकका तर्फबाट हुने लापरवाहीका कारण नेपालगन्जमा गर्मी समयमा विद्युतको संकट चुलिएको छ ।

नेपालको सबैभन्दा धेरै गर्मी हुने र पश्चिमको आर्थिक केन्द्रका रुपमा स्थापित नेपालगन्जले अद्योषित लोडसेडिङ्ग झेलिरहेको छ । देशभर लोडसेडिङ्ग हट्यो भनेर अन्यत्र खुसियाली मनाइरहँदा नेपालगन्जका नागरिकहरु भने चर्को गर्मीमा नियमित विद्युत सेवा नपाउँदा आहत महसुस गरिरहेका छन् ।

गर्मीका कारण सर्बसाधरणको दैनिकी कष्टकर बन्दा समेत नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा व्यवस्थापनमा चासो नदेखाएको प्रति आमनागरिकहरुले रोष प्रकट गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ बताउँछन् ।

नेपालगन्ज जस्तो गर्मी हुने ठाउँका नागरिकलाई प्रभावकारीरुपमा विद्युत सेवा दिन नसकेकोप्रति नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको पटक पटक ध्यानार्कषण गराउँदा समेत कुनै सुनुवाई हुन सकेको उनले बताए । नेपालगन्जमा यतिबेला घोषित लोडसेडिङ्ग छैन् तर छिनछिनमा गइरहने विद्युतलाई हेर्दा घोषित लोडसेडिङ्गको अवस्था भन्दा कम छैन् ।


एकातिर गर्मीले गर्दा सर्बसाधारणको दैनिकी कष्टकर बनेको छ भने अर्कोतर्फ आर्थिकक्षेत्रको मेरुदण्डका रुपमा रहेका उद्योगहरु नियमित सन्चालन हुन सकिरहेका छैन् । लकडाउनको मारमा परेका उद्योगहरु जेनतेन सन्चालनको तयारीमा रहे पनि विद्युत समस्याका कारण पूर्णक्षमतामा संचालनमा आउन सकिरहेका छैनन् ।

यसले गर्दा नेपालगन्जको मात्र होइन पश्चिमकै आर्थिक क्षेत्र प्रभावित बनेको छ । विद्युत नियमित नहुँदा नेपालगन्जले झेल्नुपरेको यस्ता समस्याका बारेमा सरोकारवाला निकाय बेखबर छैनन् तर पनि समस्या समाधानका लागि गम्भीर नबन्दा स्वस्फुर्तरुपमा नागरिकस्तरबाट यसरी आन्दोलनको अवस्थासम्म पुग्नुपरेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली बताउँछन् ।

आज भन्दा चार पाँच वर्ष अगाडीसम्म नेपालगन्जमा विद्युत सेवा अत्यन्त नाजुक थियो । सबैको निरन्तर दवाव पछि नेपाल विद्युत प्राधिकरणले सेवा सुधार गर्दै लगेका कारण अघिल्ला वर्षहरुसम्म विद्युत सेवाको अवस्था सन्तोषजनक मानिन्थयो । तर यसपटक भने विद्युत सेवाको अवस्था फेरी पनि चार पाँच वर्ष अगाडीकै दुरावस्थामा पुगेको छ ।

चर्को गर्मीमा विद्युत खपत धेरै भएकाले समस्या उत्पन्न भएको भन्ने नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको अमुर्त र गैरजिम्मेवार जवाफ नेपालगन्जबासीका लागि अस्विकार्य भएको ओली बताउँछन् । नेपालगन्जमा हुने चर्को गर्मीका विषयमा प्राधिकरण जानकार भएपनि विद्युत सेवा नियमित गर्न पूर्वतयारी नगर्दाकै परिणाम अहिलेको अवस्था सिर्जना भएको हो ।

प्रकाशित मितिः     ९ श्रावण २०७८, शनिबार १४:४३  |
error: Content is protected !!