उद्योगमा स्वदेशी कामदार बढ्दै


  • चेतन ओली (प्रशिक्षार्थी)

नेपालगन्ज ८ असार :  कोभिड नियन्त्रणका लागि पहिलो बन्दाबन्दी शुरु भयो । भारतमा निर्भर उद्योगहरु बन्दप्राय रहे । ठिक त्यही समयमा उद्योगहरुले स्वदेशी कामदार खोज्न थाले ।

नेपालगन्ज औद्योगिक क्षेत्रका एक उद्योगी भन्छन्–‘बन्दाबन्दीले कामदार आउन नसकेपछि उद्योग केहीदिन बन्द रह्यो । यसरी काम चल्दैन भनेर यहीका कामदारलाई काम सिकाउँदै उद्योग सूचारु गरे । त्यसपछि भारतीय कामदार नहुँदा पनि उद्योग चलिरहेको छ ।’

बाँकेका अधिकांस ठूला उद्योगमा भारती कामदारहरु छन् । उनीहरु बिना उद्योग चल्न नसक्ने अवस्था रहेको भएपनि पछिल्लो समय भने उद्योगहरुले स्वदेशी कामदारलाई प्राथमिकतामा राख्दै आएका छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै नेपालीहरु दैनिक संयौ बिदेश गइरहेका बेला नेपाली उद्योगमा भने भारतीय कामदारको बर्चस्व देखिथ्यो ।

त्यसको कारण खुलाउँदै गणापुरमा रहेको एउटा उद्योगका प्रबन्धक भन्छन्–‘मेशनरी सामान चलाउन जान्ने दक्ष कामदार नहुँदा भारतीय कामदार राख्नुपर्ने बाध्यता छ । नभई नहुने अवस्थामा बाहेक अन्यथा नेपाली कामदार नै राख्ने गरिएको छ ।’ उनको उद्योगमा झण्डै अढाई सय कामदारहरु कार्यरत छन् । मुख्य मेशिनरी सामाग्री चलाउने भारतीय भएपनि अधिकांस कामदार नेपाली छन् ।

उद्योग आफैले मेशिनरी सामान चलाउन सिकाउँदै स्वदेशी कामदारलाई प्राथमिकता दिइरहेको उनको भनाई छ । उद्योगमा स्वदेशी कामदारलाई प्राथमिकता दिइने नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली बताउँछन् । रोजगारी सिर्जनामा उद्योगको भूमिका ठूलो रहेको बताउँदै उनले दक्ष कामदार निर्माणमा उद्योगीहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मितिः     ९ श्रावण २०७८, शनिबार ०६:४६  |