राजश्व चुहावटका ‘ठुला माछा’ समातिदै


नेपालगन्ज १२ साउन :  वर्षौदेखि राजश्व चुहावटमा सक्रिय रहँदै आएका ठुला गिरोहरु धमाधम पक्राउ पर्न थालेका छन् । राजश्व चुहावट गर्दा समेत कसैको आँखामा नपरेका फर्महरु पछिल्लो समय राजश्व अनुसन्धान कार्यालय कोहलपुरले अपनाएको आक्रमक रणनीतिका कारण अहिले कानूनी फन्दामा पर्न थालेका हुन ।

राजश्व अनुसन्धानले चार महिना अघि कैलालीको एउटा फर्मको गोदाममा छापामारेर रु १ करोड १५ लाख बराबरको अवैध कपडा बरामद गर्यो । हाल अनुसन्धानकै क्रममा रहेको उक्त फर्मले बर्षौदेखि अवैध कारोवार गर्दै आएको भए पनि कानुनी कारवाहीबाट बच्दै आएको थियो । तर उनी संधै कानुनी कारवाहीबाट जोगिने ठाउँ थिएन ।

केही महिना अघि राजश्व अनुसन्धान कार्यालयले छापामारेर उनको अवैध कारोवारको श्रृखंलामा ब्रेक लाग्यो । अनुसन्धान प्रक्रिया अघि बढाएपछि फर्मका मालिकले रु १ करोड १५ लाख बराबरको धरौटी जम्मा गरेर तारेख बोकिरहेका छन् ।

गत बैशाख महिनामा बर्दिया सितलाबजारको एउटा सप्लायर्समा छापामारेर १ सय १८ बोरा चिनी बरामद गरियो । सशस्त्र प्रहरी, नेपाल प्रहरीका कयौं सुरक्षाचेकपोष्टलाई छल्दै त्यति ठूलो परिमाणमा चिनी स्टक गर्दा समेत कसैले पत्तो पाएका थिएनन् । राजश्व अनुसन्धान कार्यालयले सुईको पाएर गोदाममा छापामारेर मारेर गोदाममा धमाधम चिनी फेला परेपछि मात्र प्रहरी निकायले जिल खाएका थिए ।

राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नेपालगन्जकै अवैध कारोवार गर्दै आएको एउटा फर्जि फर्मका बारेमा अनुसन्धान गर्दै आएको छ । कारोवार नै नभएको फर्मको नाममा गैरकानूनीरुपमा सामान ओसारपसार हुने गरेको पुष्टि भए पछि उक्त गिरोहका बारेमा राजश्व अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । फरार व्यक्तिको खोजि भइरहेको छ ।

गत आर्थिक वर्षमा यस्ता ठुला गिरोह सहित १ सय ७८ नयाँ मुद्दामा अनुसन्धान भई कारवाही प्रक्रिया थालिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा उक्त संख्या १ सय ४२ थियो । दर्ता भएका मुद्दा मध्ये १ सय ४६ वटा फर्छौट भइसकेका छन् छन् । यि मुद्दा मध्ये अदातलमा अभियोजन गरिएका मुद्दाको संख्या १० वटा रहेका छन् ।

राजश्व अनुसन्धान कार्यालयको सक्रियताका कारण बिगतका वर्ष भन्दा गत वर्ष मुद्दाको संख्या धेरै देखिएको हो । राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख राजश्व अनुसन्धान अधिकृत सरोज पोख्रेल भन्छन्–‘बिगतका वर्षभन्दा गत आर्थिक वर्षमा मुद्दाको चाप बढेको देखिन्छ । कपडा र खाद्यन, सुन र बिदेशी रुपैयाको अपचलन जस्ता मुद्दाहरु धेरै देखिएका छन् ।’ राजश्व चुहावट नियन्त्रणका लागि पाएको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गरिरहेको पोख्रेलले बताउँछन् ।

राजश्व चुहावट नियन्त्रणका क्रममा सरोकारवाला निकायले सानालाई मात्र समात्छन् भन्ने आरोप खेपिरहेका बेला अहिले भने ठुला गिरोह समेत धमाधम समातिने क्रम बढेको छ । प्रमुख राजश्व अनुसन्धान अधिकृत पोख्रेल कानूनले निधेष गरेको काम गर्ने जोकोही दण्ड जरिवानाको भागिदार हुने बताउँछन् ।

‘सानो होस् चाहे ठुलो राजश्व चुहावट गरेर जोगिन्छु भन्ने कसैले नसोचे हुन्छ ।’– पोख्रेलले भने । कारवाहीसंगै राजश्व अनुसन्धान कार्यालयले राजश्व चुहावट नियन्त्रणका लागि सचेतना अभियानमा ध्यान दिएको छ ।

उसले सरोकारवाला व्यवसायीहरुलाई बिभिन्न समयमा सचेतनामुलक कार्यक्रम मार्फत राजश्व चुहावट नगर्न सचेत एवं जागरुक गराइरहेको छ । पोख्रेल भन्छन्–‘हामीले राजश्व चुहावटका विषयमा अन्तरक्रियात्मक कार्यक्रम पनि गरेका छौं । अनजान रहेका व्यवसायीहरुलाई राजश्व चुहावट गर्दा के कारवाही हुन्छ भन्ने जानकारी पनि बेलाबखत जानकारी गराउँछौं ।’

 

 

 

प्रकाशित मितिः     १३ श्रावण २०७८, बुधबार १८:४३  |