कुन कुन बैंकले घरकर्जा दिन्छन् ? कसरी लिने ?


  • नेपालहोम्सबाट

बैंकहरुले तपाईंको धितो मुल्यांकनको ५० देखि ६०  प्रतिशतसम्म घरकर्जा उपलब्ध गराउँछन । यो कर्जा अधिकतम एक करोड ५० लाख रुपैयाँसम्म पाइन्छ ।

हामी तपाईंलाई घरकर्जाका बारेमा विस्तृत जानकारी गराउँछौं । यदि पहिलो पटक घरकर्जा लिँदै हुनुहुन्छ भने तपाइलाई कर्जाको बारेमा सामान्य जानकारी हुनैपर्छ ।

कुन कुन बैंकले घरकर्जा दिन्छन् ?

नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले घरकर्जा शिर्षकमा ऋण दिन्छन् । घर खरिद गर्न वा बनाउन मात्रै होइन, भविष्यमा घर बनाउने उद्देश्यले खरिद गर्न लागेको जग्गामा पनि बैंकले घरकर्जा शिर्षकमै ऋण उपलब्ध गराउँदै आएका छन् ।

नेपालमा कमर्सियल बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनी गरि चारप्रकारका वित्तीय संस्थाहरु छन् । नेपाल राष्ट्र बैंकले यी वित्तीय संस्थाहरुलाई क्रमशः ‘ए’, ‘बी’, ‘सि’ र ‘डि’ क्याटेगोरीमा वर्गिकरण गरेको छ । यसको अलवा सहरकारीले पनि विभिन्न शिर्षकमा ऋण प्रवाह गरिरहेका छन् ।

राष्ट्र बैंकका अनुसार नेपालमा कमर्शियल, डेभलपमेन्ट र फाइनान्स कम्पनीले घरकर्जा दिन पाउँछन् । लघुवित्त कम्पनीले घरकर्जा दिन पाउँदैन । नेपालमा सहकारीहरुले पनि घरकर्जामा लगानी गरिरहेका छन् । सहकारीहरुको नियमन राष्‍ट्र बैंकको कार्यक्षेत्रभित्र पर्दैन । सहकारीहरु कृषि विकास मन्त्रालयभित्र पर्छन् ।

कुन बैंकको घरकर्जा सस्तो हुन्छ ?

नेपालमा तीन वर्गका बैंकले घरकर्जा दिन्छन् । वित्तीय संस्थाको वर्गअनुसार ब्याजदर फरक हुन्छ । वाणिज्य बैंकको घरकर्जाको ब्याजदर विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम हुन्छ । विकास बैंकको हकमा १–२ प्रतिशत र फाइनान्स कम्पनीको हकमा ३–४ प्रतिशतसम्म पनि ब्याजदर फरक पर्न आउँछ ।

अझ एउटै वर्गका बैंकबीच पनि ब्याजदर फरक पाइन्छ । यो सबै बैंकहरुको ‘कस्ट अफ फन्ड’ र ‘बेस रेट’मा निर्भर गर्छ । बैंकको ‘कस्ट अफ फन्ड’ कम हुने वित्तिकै बेस रेट कम भइहाल्छ । बेस रेट कम भएपछि ब्याजदर पनि कम हुन्छ ।

सरकारी स्तरका राष्‍ट्रिय वाणिज्य बैंक, नेपाल बैंकको ‘कस्ट अफ फण्ड’ निजी बैंकहरुको तुलनामा कम हुन्छ । यी बैंकहरुको कस्ट अफ फन्ड कम भएपछि बेस रेट पनि कम भइहाल्यो । बेस रेट कम भएपछि यी बैंकको ब्याजजर पनि कम हुन्छ ।

निजी बैंकहरुबीच पनि ब्याजदरमा फरक हुन्छ । निजी बैंकको कस्ट अफ फन्ड र बेस रेट फरक फरक हुन्छ । त्यसैले उनीहरु फरक–फरक ब्याजदरका स्किम ल्याएको देख्छौं । जुन बैंकले ‘लो कस्ट अफ डिपोजिट’ परिचालन गर्छन्, ती बैंकको ब्याजदर पनि कम हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंकको व्याजदर तुलनात्मक रुपमा कम हुन्छ । उनीहरु कम रेटमा घरकर्जा प्रस्ताव गर्न सक्छन् ।

मध्यम खालका बैंकहरुको ब्याजदर अलि बढि हुन्छ । भर्खरै उदाउँदै गरेका बैंकको ब्याजदर सबैभन्दा बढी हुन्छ ।

तपाइँ कतिसम्म ऋण लिन सक्नुहुन्छ ?

नेपालका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले घर–जग्गा खरिद गर्नका लागि ऋण दिन्छन् । तपाईंले घरकर्जा लिने प्रकृया सुरु गर्नुअघि यो कुरा आँकलन गर्नुस् कि, ‘मेरो कमाई कति छ र कमाईको आधारमा बैंकले कतिसम्म ऋण दिन सक्छन् ?’

बैंकले तपाईंलाई कति ऋण दिने भन्ने कुरा तपाईंले ईएमआई तिर्न सक्ने क्षमतामा पनि निर्भर गर्छ । तपाईंको मासिक आम्दानीको ५० प्रतिशत ईएमआई तिर्ने गरिमात्र ऋण लिन सक्नुहुन्छ । उदाहरणका लागि, तपाइको आम्दानी १ लाख रुपैयाँ छ भने ५० लाख रुपैयाँ ईएमआई तिर्ने गरि ऋण पाउनुहुन्छ । यदि तपाइले पहिलो पटक घरकर्जा लिँदै हुनुहुन्छ भने आम्दानीको ६० प्रशितसम्म ईएमआई तिर्ने गरि ऋण लिन सक्नुहुन्छ ।

बैंकहरुले सबैभन्दा पहिला यो हेर्छन् कि, तपाइले समयमै बैंकको ऋण चुक्ता गर्न सक्नु हुन्छ कि हुन्‍न । तपाइको आम्दानी जनि धेरै हुन्छ, त्यति नै धेरै ऋण पाउने सम्भवना रहन्छ । तर यसका लागि तपाइसँग धितो राख्‍ने सम्पत्ती पनि त्यति नै मूल्यवान हुनुपर्छ । नत्र, बैंकहरुले तपाइको आम्दानी र धितोमध्ये जुन कम छ, त्यसैलाई आधार बनाएर ऋण दिन्छन् ।

घरकर्जाको अवधि र ब्याजदरले पनि कति ऋण पाउने भन्‍ने निर्धारण गर्छ । यसको अलवा ऋणीको उमेर र सेवा अवधि पनि निर्धारक हुन्छ ।

नेपाल राष्ट्र बैंकले घरकर्जा लिँदा आम्दानीको वार्षिक कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ । तर, पहिलो पटक घरकर्जा लिने ग्राहककलाई भने करचुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छैन । फस्टहोम बायरले कर दाखिला गरेको भौचर बुझाए पनि पुग्छ ।

होम लोन लिन को–अप्लिकेन्ट जरुरी छ ?

अँ, धेरैजसो केसमा को–एप्लिकेन्ट जरुरी पर्छ । यदि सम्पत्ती दुई जनाको नाममा छ भने उस मामलामा होम लोनका लागि दुई जना नै सहभागी हुन जरुरी छ । यदि तपाइँ सम्पत्तीको मालिक हुनुहुन्छ भने तपाइँको परिवारको कुनै पनि सदस्य एप्लिकेन्ट हुन सक्नुहुन्छ ।

ऋणको आवदेनसँग पेस गर्नुपर्ने कागजातहरु

  1. कर्जा लिने व्यक्तिको नागरीकता,
  2. पासपोर्ट साइजको फोटो,
  3. ऋण लिने ब्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयस्रोत सम्बन्धी विवरणहरु,
  4. वर्षिक आम्दानीको कर तिरेको करचुक्ता प्रमाणपत्र
  5. आयस्रोत डकुमेन्ट (तलव, व्यवसायको अडिट रिपोर्ट, घरभाडा),
  6. व्यवसाय दर्ता प्रमाणपत्र
  7. बैंकबाट कर्जा लिनको लागि राखिने धितो (पोपर्टी)को चार किल्ला प्रमाणित भएको लालपुर्जा,
  8. सम्पत्तिको बाटो खुल्ने कागजात,
  9. ऋण लिने व्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयस्रोत सम्बन्धी विवरणहरु,
  10. सम्पत्तिको कर तिरेको रसिद (जुन वडा कार्यालयमा पाइन्छ)
  11. जग्गाको ब्लु प्रिन्ट, ट्रेस
  12. धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निमार्णका लागि लिएको इजाजत पत्र,
  13. घरको स्थायी नक्सा पास र निर्माण सम्पन्‍न भएको प्रमाणपत्र
  14. कानूनी रुपमा दर्ता भएका संघसंस्थाहरुमा काम गरिरहेका कर्मचारी वा तलबी व्यक्ति भएमा उनीहरुको तलब सम्बन्धि कागजात, घर भाडा मार्फत आम्दानी गर्नेहरुको हकमा घरभाडाको सम्झौतापत्र र भाडा आउने घरको लालपुर्जाको प्रमाणपत्र
  15. बैदेशीक रोजगारीबाट आम्दानी गर्नेको हकमा भिसा लागेको पासपोर्टको प्रमाण, तलबी कागजात, विदेशमा तलब राखिने बैंकको स्टेटमेन्ट र विदेशबाट नेपालमा पैसा पठाएको कागजात ।
  16. बैंकको नीतिअनुसार अन्य कागजपत्र

जमानीकर्ताले प्रस्तुत गर्नुपर्ने कागजातहरु

  1. व्यक्तिगत सम्पत्ति र दायित्व बिबरण
  2. नागरिकता वा पासपोर्ट
  3. निवास प्रमाण
  4. जमानत बस्ने व्यक्तिको काम गर्ने ठाउँको ठेगाना र बिबरण
  5. करचुक्ता प्रमाणपत्र
  6. बैंक स्टेटमेन्ट

घरकर्जा स्वीकृत हुनु भनेको के हो ?

तपाइँले पेश गरेको कागजातको आधारमा बैंकहरुले तपाइलाई घरकर्जा दिने कि नदिने भनेर निर्णय गर्छन् । घरकर्जा पनि यही डकुमेन्टमा निर्भर गर्छ ।

यदि बैंकले तपाइको आवेदन स्वीकार गरेर घरकर्जा दिने निर्णय गर्यो भने तपाइलाई अफर लेटर दिन्छ । त्यो अफर लेटरमा घरकर्जाको रकम, अवधि र ब्याजदर लगायत विभिन्न शर्तहरु राखिएका हुन्छन् । ति शर्तहरु राम्रोसँग पढेर पूर्ण कन्भिन्स भएपछि मात्र अफर लेटरमा हस्ताक्षर गर्नुपर्छ ।
तपाइँको हातमा जुन दिन रकम आउँछ, उसै दिनदेखि ब्याज रकम जोडिन थाल्छ ।

घरकर्जा लिँदा हस्ताक्षर गर्नुपर्ने कागजपत्र

बैंक तथा वित्तीय संस्थाहरुले लोन स्वीकृत हुने वित्तिकै अफर लेटर (प्रस्ताव पत्र) दिन्छन् । अफर लेटरमा विभिन्‍न शर्तहरु हुन्छन् । ती शर्तहरु राम्रोसँग पढेर चित्त बुझेमात्र हस्ताक्षर र औंठा छाप लगाउनु पर्छ ।

आफर लेटरमा चित्त बुझेर हस्ताक्षर गरेपछि बल्ल ऋणको प्रकृया सुरु हुन्छ ।

त्यसपछि धितो बन्धक राख्नुपर्ने हुन्छ । धितो बन्धक गर्न मालपोत जानुपर्छ । धितो बन्धक गर्दा पनि हस्ताक्षर र औंठा छाप लगाउनु पर्छ ।

धितो बन्धक भएर आएपछि बैंकले कर्जा तमासुक गराउँछन् । त्यसमापनि हस्ताक्षर र औंठाछाप लगाउन पर्छ । अर्को प्रतिज्ञापत्र हुन्छ, त्यो भनेको यो लोन चुक्ता भुक्तान गर्नेछु भनेर कबुलसहितको कागज हो । त्यसमा पनि हस्ताक्षर गर्नुपर्छ ।

अर्को व्यक्तिगत जमानी । बैंकबाट घरकर्जा लिँदा परिवारका सदस्यलाई बैंकमा जमानी राख्नुपर्छ । प्रायः बैंकहरुले परिवारको आम्दानीमा योगदान गर्ने सदस्यको व्यक्तिगत जमानी राख्छन् । त्यहाँ व्यक्तिगत जमानी वस्तो व्यक्तिले पनि हस्ताक्षर र औंठा छाप लगाउन पर्छ ।

तपाइँको हातमा ऋण रकम कसरी आइपुग्छ ?

बैंकहरुले होम लोन एकमुष्‍ठ वा किस्ता किस्तामा पनि दिन सक्छन् । यसमा धेरै भन्दा धेरै ५ किस्ता हुन सक्छ । घर बनाउने सवालमा निर्माणको प्रगती हेरेर त्यसैका आधारमा किस्ता दिन्छन् । जग्गा खरिद गर्दा एकमुष्‍ठ पैसा दिन्छन् । ‘रेडी टु मुभ’ अवासमा पनि एकमुष्‍ठ रकम पाउन सकिन्छ ।


घरकर्जा लिँदा बैंकले लिने शुल्क

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा ब्याजमात्र तिरेर पुग्दैन । ऋण लिने प्रकृया पुरा गरिसक्दा धेरै शिर्षकमा शुल्क लिइसकेका हुन्छन् । यो विषयमा पहिल्यै जानकारी हुनु राम्रो हुन्छ ।

बैंकमा ऋण लिन जाँदा सुरुमै कर्जा सुचना वापतको शुल्क तिर्नुपर्छ । कर्जा सुचना केन्द्रले जति शुल्क लिन्छ, बैंकहरुले पनि ग्राहकसँग त्यति शुल्क नै लिन्छन् । कर्जा सुचना केन्द्रका अनुसार यस्तो शुल्क कर्जाको हिस्ट्री अनुसार फरक फरक पर्छ ।

यदि ग्राहकले अरु बैंकबाट पनि ऋण लिएको भएमा अलि लामो सुचना हुन आउँछ । र, चार्ज पनि अलि बढी नै लाग्छ । नत्र सामन्यतः पाँच सय रुपैयाँ लाग्‍ने हो । यसमा जति सुचना थपिदै जान्छ, शुल्क पनि थपिँदै जान्छ ।

धितो राख्‍ने सम्पत्तीको मुल्यांकन गराउँदा पनि फि तिर्नुपर्छ । त्यो बैंकलाई तिर्ने होइन, बैंकले नियुक्त गरेको इञ्‍जिनियरलाई तिर्ने हो । धितो मुल्यंकन गर्ने इञ्‍जिनियरको बैंकसँग एग्रिमेन्ट हुन्छ । सोही एग्रीमेन्ट अनुसार शुल्क लिन्छन् । सम्पत्तीको कति फेयर मार्केट भ्यालु आउँछ सोही अनुसार चार्ज लिन्छन् ।

बैंकले लिने मुख्य चार्ज भनेको सेवा शुल्क हो । त्यो सामन्यतयाः १ प्रतिशत हुन्छ । कतिपय बैंकले ०.३० प्रतिशतदेखि २ प्रतिशतसम्म लिन्छन् । विकास बैंक र फाइनन्स कम्पनीले अलि बढि शुल्क लिन्छन् । सेवा शुल्क बैंकले सुरुमै लिन्छन् ।

यदि घर धितो राख्‍ने हो भने इन्स्योरेन्स चार्ज पनि लाग्छ । धितो राख्‍ने घरको इन्स्योरेन्स गर्नुपर्ने हुन्छ । त्यो बाहेक मोरगर्टगेज फि तिर्नुपर्छ । धितो बन्धक गर्न जाँदा मालपोतले पनि निश्‍चित शुल्क लिन्छन् । मालपोतमा १ करोडसम्मको भ्यालुएसनमा एउटा चार्ज र एक करोभन्दा माथि अर्को चार्ज छ ।

कति अवधिको घरकर्जा लिने ?

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले सामन्यतः ५ वर्षदेखि २५ वर्ष अवधिसम्मको घरकर्जा उपलब्ध गराँछन् । तर एनआईसी एशिया बैंकले ३० वर्षसम्मको ऋण उपलब्ध गराउने स्किम ल्याइसकेको छ ।

यदि तपाइँले लामो अवधि राखेर घरकर्जा लिनुभयो भने मासिक किस्ता (ईएमआई) कम पर्न आउँछ । महिनामा थोरै पैसा साँबा र ब्याजबापत भुक्तानी गर्दा तपाइको दैनिक जीवनमा खासै अप्ठेरो पर्दैन् । तर, यसो गर्दा तपाइले ब्याजका रुपमा साँवा रकमभन्दा धेरै पैसा तिर्नुपर्ने हुन्छ ।

तर, यदि तपाइले कम अवधिको ऋण लिनुभयो भने मासिक किस्ता धेरै तिर्नुपर्छ तर ऋण चाँडै चुक्ता हुने हुँदा तपाइले ब्याजका रुपमा धेरै पैसा तिर्नुपर्दैन । ।

उदाहरणका लागि, यदि तपाइँले बैंकबाट ३० लाख रुपैयाँ ऋण लिनुभयो । ब्याजदर ११ प्रतिशत र अवधि १५ वर्षको छ । यसको मासिक किस्ता ईएमआई ३४ हजार ९७ रुपैयाँ हुन्छ । तर यो ऋण चुक्ता गरिसक्दा तपाइँले ३१ लाख रुपैयाँ ब्याजमात्र बुझाउन पर्छ । यहाँ साँवाभन्दा ब्याज बढी तिर्नुपर्ने देखियो ।

यो अवधिलाई १० वर्षमा झारियो भने तपाइँको मासिक किस्ता बढेर ४१ हजार रुपैयाँ पुग्छ । तपाइँले ऋण चुक्ता गर्दा ब्याज रकम १९ लाख ५९ हजार तिर्नुहुन्छ । ५ वर्ष अवधि घटाउँदा समग्रमा ब्याज रकम झण्डै १२ लाख कम पर्न आउँछ । ईएमआईको आकार ३४ हजारको ठाउँमा ४१ हजार पुग्यो ।

तपाइँलाई अवधि कम राखी मासिक किस्ता बढी तिर्न कम्फर्टटेवल हुन्छ कि अवधि बढी राखेर मासिक किस्ता कम तिर्न कम्फर्टवेल हुन्छ आफै अवधि तोक्न सक्नुहुन्छ । अवधि तोक्दा तपाइँको मासिक आम्दानीले जस्टिफाई गर्नैपर्छ । कम अवधिका लागि ऋण लिँदा तपाइँको मासिक आम्दानी धेरै हुनुपर्छ ।

अवधि जति लम्बायो समग्रमा तिर्नुपर्ने ब्याज रकम पनि उति नै बढी हुन्छ । यो कुरा बैंकले नर्मल्ली ग्राहकलाई बुझाइरहेका हुँदैनन् । तपाइँले ऋण लिँदा सकेसम्म बढी भन्दा बढी डाउन पेमेन्ट गरेर कम भन्दा कम अवधिको ऋण लिँदा राम्रो हुन्छ ।

यदि तपाइँको आम्दानी राम्रो छ भने कम अवधिको ऋण लिनुहोस् । यसो गर्दा ईएमआई बढी परेपनि समग्रमा ब्याज रकम कम पर्न जान्छ ।

ईएमआई भनेको के हो ?

ऋण लिएपछि बैंकलाई मासिक रुपमा किस्ता तिर्नुपर्ने हुन्छ । उक्त किस्तामा ब्याज र साँवा दुबै जोडिएको हुन्छ । यसैलाई इक्वाटेड मन्थ्ली इन्स्टलमेन्ट (ईएमआई) भनिन्छ ।

ईमआई कहिले बुझाउनुपर्छ ?

तपाइँ घर बनाउन ऋण लिँदै हुनुहुन्छ कि जग्गा खरिद गर्न ? प्रयोजनका हिसावले पनि ईएमआई तिर्ने कन्डिसन फरक फरक हुन्छ ।

यदि तपाइँ जग्गा खरिद गर्न कर्जा लिनुभएको छ भने अर्को महिनाको १० तारिखबाटै ईएमआई नियमित रुपमा बुझाउनु पर्ने हुन्छ । यदि तपाइँले घर बनाउन ऋण लिनुभएको हो भने ऋण तिर्नका लागि बैंकसँग ग्रेस अवधि माग्‍न सक्नुहुन्छ । त्यो भनेको सहुलियत अवधि हो । ग्रेस अवधि अधिकतम १ वर्षसम्मको हुन्छ ।

तपाइँले घर बनाउन मोटो रकम खर्च गरिराख्नु भएको हुन्छ । किनकी, बैंकले घर बनाउन शत्प्रतिशत ऋण दिएको हुँदैन । यस्तो अवस्थामा ईएमआई तिर्न तपाइँको आम्दानीले नपुग्न सक्छ । बैंकले आफ्नो नीति अनुसार ६ देखि १ वर्षसम्मको ग्रेस अवधि दिन्छन् । यो अवधिमा तपाइँले ऋणको ब्याजमात्र तिरे पुग्छ, ईएमआई तिर्न पर्दैन । जब बैंकले तोकेको अवधि सकिन्छ, हरेक महिनाको १० तारिखसम्म बैंकमा ईएमआई तिरिसक्नु पर्छ । यो सुविधा पाउने घर बनाउने सवालमा मात्र हो ।

ईएमआई नियमित नबुझाए के हुन्छ ?

यदि तपाइले बनिबनाउ घर किन्‍नुहुन्छ भने ऋण लिएको अर्को महिनाको १० तारिखदेखि नै नियमित किस्ता बुझाउनुपर्ने हुन्छ । यदि १ किस्तामात्र पनि डिफल्ट हुने वित्तिकै बैंकले तपाइलाई ताकेता गर्न थालिहाल्छ । ३ किस्तासम्म पनि ईएमआई तिर्नुभएन भने बैंकलाई ३५ दिने सूचना निकालेर आफ्नो रिकोभरी म्यानुअलअनुसार धितो लिलाम गरि कर्जा असुल गर्न सक्ने अधिकार छ ।

ईएमआई तिर्दा तिर्दै १/२ महिना तलमाथि हुन सक्छ । यसले खास फरक पार्दैन । तैपनि नियमित किस्ता तिर्दा राम्रो हुन्छ । किनभने, यसो हुँदा ऋणीलाई ब्याजको थप बोझ पर्न जाँदैन । बैंकहरु एकैचोटी धितो लिलामीमा जाँदैन । तपाइँलाई प्रयाप्त समय दिन्छन् ।

यदि तपाईं कर्जा भुक्तान गर्न आउँदै आउनु भएन । बैंकको सम्पर्कैमा आउन चाहनु भएन । बैंकसँग पनि कुनै अप्सन बाँकी रहेन भने मात्र धितो लिलाम गर्ने प्रकृयामा जान्छ । बैंकले किस्ता डिफल्ट हुने वित्तिकै विभिन्‍न ताकेता पत्र पठाइरहन्छ । निकै धेरै फलोअप गरिरहेको हुन्छ । ऋण डिफल्ट भएपछि बैंक जाने भनेको धितो लिलामीमै हो ।

घरकर्जा कसरी घट्छ ?

हरेक महिना तपाईले किस्ता (ईएमआई) बुझाउनु पर्ने हुन्छ । त्यो किस्तामा ब्याज र साँवा जोडिएको हुन्छ । सुरुको किस्तामा ब्याजको हिस्सा बढी र साँवाको हिस्सा काम हुन्छ । पछि ब्याजको हिस्सा कम र साँवाको हिस्सा बढ्दै जान्छ । हरेक महिना ब्याज र साँवाको रकम बढ्दै जान्छ । तर, ईएमआईको आकार भनेर ऋण चुक्ता नहुँदासम्म घटबढ हुँदैन ।

कर्जाको अग्रिम भुक्तानी गर्न सकिन्छ ?

बैंकबाट लिएको ऋणको अग्रिम भुक्तानी गर्न सकिन्छ । यदि ग्राहकसँग कतैबाट नगद आयो र ऋण घटाउन चाहेको खण्डमा यो सुविधा उपलब्ध छ । अग्रिम ऋण भुक्तानी गर्दा ऋण र ब्याजको बोझ कम हुन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अग्रिम भुक्तानी गर्दा ५० लाखभन्दा तलको ऋणमा ग्राहक (ऋणी)ले अतिरिक्त शुल्क तिर्नुपर्दैन । तर ५० लाखभन्दा माथिको ऋणमा बैंकहरुले प्रि–पेमेन्ट रकमको २ प्रतिशतसम्म अतिरिक्त शुल्क लिने गरेका छन् ।

यदि थोरैथोरै अग्रिम भुक्तानी गरेमा ईएमआई घटाएर पनि किस्ता तिर्न पाइन्छ । वा, पहिलाकै ईएमआई तिर्न पनि सकिन्छ । तर ब्याजदरमा भने कुनै फरक पर्दैन ।

प्रकाशित मितिः     १५ श्रावण २०७८, शुक्रबार १७:४०  |
error: Content is protected !!