नाबालकले ‘रेकी’ गरे, ‘टिनएजर’ले १० लाखको मोवाईल चोरे


नेपालगन्ज १५ साउन :  एउटा १२ वर्षको बालकलाई प्रयोग गरेर नेपालगन्जको पुष्पलालचोकस्थित गौतम इलेक्ट्रोनिक्स चोरी भएको खुलेको छ ।

तीन जनाको समूहले साउन ८ गते राती उक्त पसल चोरी गरी १० लाख मूल्य बराबरको मोवाइल लगायतका सामाग्री चोरी गरेको थियो ।
चोरी गर्ने समूहमा थिए, नेपालगन्ज वडा नं. ९ बस्ने सुमित शर्मा, वडा नं. १३ बस्ने वर्ष १८ को नानु खटिक र १२ वर्षिय बालक(नाबालक भएकाले नाम गोप्य) । नाबालक सहित टिनएजर युवाहरुले यति ठूलो चोरीको घटना घटाएर उनीहरुमा रहेको अपराधिक मनोबृत्ति बाहिर आएको छ ।

प्रहरीले घटनाको एक हप्ता पछि पक्राउ गरी बिहिवार सार्वजनिक गरेको छ । अनुसन्धानमा संलग्न बाँके प्रहरीका डिएसपी मदुसुधन न्यौपानेका अनुसार, उक्त घटनामा नाबालकलाई प्रहरी वा अरु कोही आए नआएको हेर्न रेकीका लागि प्रयोग गरिएको थियो भने बाँकी दुई जनाले सटर फोडेर चोरी गरेका थिए ।


चोरीमा संलग्न तीनै जना साथी हुन । चोरी भएकै दिन उनीहरुकोे योजना बनेको थियो । फलामको रडले सटर फोडेपछि खटिक र शर्मा भित्र पसेका थिए भने नाबालक बाहिरै बसी रेकी गरेका थिए ।

चोरी गरेका सामानहरु बोरामा हालेर उनीहरु त्यहाँबाट फर्किएका थिए । चोरी गरेको मोवाईल शर्मा र घडी लगायतका सामाग्री खटिकले आफैंसंग राखेका थिए । नाबालकलाई चोरी गरेको सामाग्री विक्री भएपछि पैसा दिने प्रलोभन दिएको खुुलेको छ ।
डिएसपी न्यौपानेका अनुसार, पक्राउ परेका बिरुद्ध ३ देखि ५ वर्ष कैद र ३० देखि २५ हजारसम्म जरिवाना हुन्छ ।

 

प्रकाशित मितिः     १५ श्रावण २०७८, शुक्रबार ०७:०१  |
error: Content is protected !!