नेपालगन्ज १६ साउन : लुम्बिनी प्रदेश सरकारले गत आवमा गरेका कामका बारेमा तीन दिने समीक्षा गरेको छ ।
समीक्षा समापनमा मुख्यमन्त्री शंकर पोखरेलले पुँजीगत खर्च गर्ने क्षमता बढेसगैं कामको दीगोपना र अनुगमनको पाटोलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् ।
पूँजीगत खर्च गर्ने क्षमता बढ्यो, अब यसैलाई मात्रै सफलता मान्न हुन्न । खर्च गरेको कामको उपलब्धी र प्रतिफल राम्रो गराउन ध्यान दिनुपर्छ, त्यसका लागि अनुगमनलाई व्यवस्थित गर्नुपर्छ—उनले भने । उकठिन समयमा पनि पूँजीगत खर्च झण्डै शतप्रतिशतकै हाराहारीमा गर्न मिहिनेत गर्ने सबैलाई मुख्यमन्त्री पोखरेलले धन्यवाद दिए ।
जनशक्ति अभावले विकास आयोजना प्रभावित हुन नदिन विशेष ध्यान दिन मन्त्रालयहरुलाई मुख्यमन्त्रीले निर्देशन दिए । रिक्त दरबन्दी पदपूर्ति लोकसेवा आयोग मार्फत गरौं, त्यहाँबाट संभव नहुने अवस्थामा केन्द्र सरकारबाट काजमा माग गरौं, त्यसो गर्दा पनि संभव नभए सेवा करारबाट पूर्ति गरेर काम गरौं—उनले भने ।
प्रदेश सरकारका मन्त्रालयहरुले गत आवमा गरेका काम र खर्चको अवस्था र चालु आवको लागि कार्ययोजना प्रस्तुत गरेका थिए ।