बाँकेका सिडीओलाई खुल्लापत्र–‘नियमित विद्युतका लागि प्राधिकरणलाई भनिदिनुपर्‍यो’


श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय, बाँके

बिषय : विद्युत सेवा अनियमितताले दिएको दुःख बारेमा ।

नेपालको सबैभन्दा धेरै गर्मी हुने र पश्चिमको आर्थिक केन्द्रका रुपमा स्थापित नेपालगन्जले अद्योषित लोडसेडिङ्ग झेलिरहेको छ । देशभर लोडसेडिङ्ग हट्यो भनेर अन्यत्र खुसियाली मनाइरहँदा नेपालगन्जका नागरिकहरु भने चर्को गर्मीमा नियमित विद्युत सेवा नपाउँदा आहत महसुस गरिरहेका छन् ।

गर्मीका कारण सर्बसाधरणको दैनिकी कष्टकर बन्दा समेत नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा व्यवस्थापनमा चासो नदेखाएको प्रति आमनागरिकहरुले रोष प्रकट गरेका छन् ।

नेपालगन्ज जस्तो गर्मी हुने ठाउँका नागरिकलाई प्रभावकारीरुपमा विद्युत सेवा दिन नसकेकोप्रति हामीले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको पटक पटक ध्यानार्कषण गराउँदा समेत कुनै सुनुवाई हुन सकेको छैन । नेपालगन्जमा यतिबेला घोषित लोडसेडिङ्ग छैन् तर छिनछिनमा गइरहने विद्युतलाई हेर्दा घोषित लोडसेडिङ्गको अवस्था भन्दा कम छैन् ।

एकातिर गर्मीले गर्दा सर्बसाधारणको दैनिकी कष्टकर बनेको छ भने अर्कोतर्फ आर्थिकक्षेत्रको मेरुदण्डका रुपमा रहेका उद्योगहरु नियमित सन्चालन हुन सकिरहेका छैन् । लकडाउनको मारमा परेका उद्योगहरु जेनतेन सन्चालनको तयारीमा रहे पनि विद्युत समस्याका कारण पूर्णक्षमतामा संचालनमा आउन सकिरहेका छैनन् ।

यसले गर्दा नेपालगन्जको मात्र होइन पश्चिमकै आर्थिक क्षेत्र प्रभावित बनेको छ । विद्युत नियमित नहुँदा नेपालगन्जले झेल्नुपरेको यस्ता समस्याका बारेमा सरोकारवाला निकाय बेखबर छैनन् तर पनि समस्या समाधानका लागि गम्भीर छैनन् । हजारौं विद्यार्थीहरु यतिबेला भौतिकरुपमा कक्षा लिन पाइरहेका छैनन् अनलाइन कक्षा लिन नियमित विद्युत छैन ।

आज भन्दा चार पाँच वर्ष अगाडीसम्म नेपालगन्जमा विद्युत सेवा अत्यन्त नाजुक थियो । सबैको निरन्तर दवाव पछि नेपाल विद्युत प्राधिकरणले सेवा सुधार गर्दै लगेका कारण अघिल्ला वर्षहरुसम्म विद्युत सेवाको अवस्था सन्तोषजनक मानिन्थयो । तर यसपटक भने विद्युत सेवाको अवस्था फेरी पनि चार पाँच वर्ष अगाडीकै दुरावस्थामा पुगेको छ ।

चर्को गर्मीमा विद्युत खपत धेरै भएकाले समस्या उत्पन्न भएको भन्ने नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको अमुर्त र गैरजिम्मेवार जवाफ नेपालगन्जबासीका लागि अस्विकार्य छ ।

नेपालगन्जमा हुने चर्को गर्मीका विषयमा प्राधिकरण जानकार भएपनि विद्युत सेवा नियमित गर्न पूर्वतयारी नगर्दाको परिणाम अहिलेको अवस्था सिर्जना भएको हो । बाँकेको प्रमुख जिल्ला अधिकारीको हैषियतले विद्युत सेवा नियमित गर्न आवश्यक प्रबन्ध मिलाइदिन अनुरोध छ । प्राधिकरणले अटेरी गरेपछि हजुरलाई भन्न बाध्य छौं ।

प्रकाशित मितिः     २३ श्रावण २०७८, शनिबार ०६:५७  |