नेपालगन्जमा ठेगान नभएको बिद्युत !


नेपालगन्ज २५ साउन : देशभर लोडेसेडिङ्ग अन्त्य गरेर वाहीवाही कमाएको नेपाल विद्युत प्राधिकरणले नेपालगन्जमा भने अघोषित लोडसेडिङ्ग शुरु गरेर नागरिकलाई मर्माहत बनाएको छ । नेपालगन्जमा गर्मी बढेसंगै सबैभन्दा बिद्युत आवश्यकता भएका बेला विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले एकहप्तायता दैनिक दर्जनौ पटक विद्युत काट्दै आएको छ ।

दिनभर मात्र होइन रातभर कयौं पटक विद्युत सेवा अवरुद्ध गर्दा नागरिकहरु सुत्न र बस्न नसक्ने अवस्थामा पुगेका छन् । तर बिडम्बना ! उनीहरुको दुखेसो सुनिदिने कोही भएको छैन । इनभटर जस्ता बैकल्पिक विद्युतीय उपकरण जोड्न नसक्ने नेपालगन्जका नागरिक विद्युत प्राधिकरणको मारमा परेका छन् ।

विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले लोडसेडिङ्ग भएको र त्यसको तालिका सार्वजनिक गरेको छैन । तर अवस्था लोडसेडिङ्गको भन्दा कम नभएको कोरियपुर–१२ निवासी करण पोख्रेल बताउँछन् । उनी भन्छन्–‘कोरियनपुरमा आज एक हप्ता भयो दिनभर र रातभर दर्जनौ पटक विद्युत सेवा अवरुद्ध हुन्छ । सोमवार राती १२ बजेदेखि डेढ बजेसम्म बिद्युत गयो । त्यसपछि केही मिनेटका लागि आएको विद्युत फेरी आउने, जाने गरिरह्यो । रातभर सुत्न पाइएन ।’

कोरियनपुरमै बस्ने हरी शाहीका अनुसार, सबैभन्दा बढि बिद्युत कटौती हुने ठाउँमा रुपमा अहिले कोरियनपुर नै छ । ‘सरकारले स्कुल, कलेज जान दिएको छैन । अनलाइन कलास लिन बिद्युत हुँदैन । दिनभर पढ्न पाइदैन, रातभर सुत्न । यस्तो अमानविय हर्कत गर्दा प्राधिकरणलाई भन्ने कोही भएन ।’– शाहीले भने ।

कोरियनपुर मात्र होइन, नेपालगन्जको लगभग सबै ठाउँका नागरिकको गुनासो यस्तै छ । नेपालगन्ज–४ निवासी खम्बप्रसाद पुन भन्छन्,–‘नेपालगन्जमा अहिले चार पाँच वर्ष अघिको लोडसेडिङ्गको अवस्थामा पुगेको छ । गत वर्षसम्म यस्तो थिएन । प्राधिकरणको व्यवस्थापनमा लापरवाही गरेका कारण यस्तो अवस्था सिर्जना भएको छ ।’

नेपालको सबैभन्दा धेरै गर्मी हुने र पश्चिमको आर्थिक केन्द्रका रुपमा स्थापित नेपालगन्जले अद्योषित लोडसेडिङ्ग झेलिरहेको छ । देशभर लोडसेडिङ्ग हट्यो भनेर अन्यत्र खुसियाली मनाइरहँदा नेपालगन्जका नागरिकहरु भने चर्को गर्मीमा नियमित विद्युत सेवा नपाउँदा आहत महसुस गरिरहेका छन् ।

गर्मीका कारण सर्बसाधरणको दैनिकी कष्टकर बन्दा समेत नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा व्यवस्थापनमा चासो नदेखाएको प्रति आमनागरिकहरुले रोष प्रकट गरेका छन् ।

नेपालगन्ज जस्तो गर्मी हुने ठाउँका नागरिकलाई प्रभावकारीरुपमा विद्युत सेवा दिन नसकेकोप्रति हामीले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको पटक पटक ध्यानार्कषण गराउँदा समेत कुनै सुनुवाई हुन सकेको छैन । नेपालगन्जमा यतिबेला घोषित लोडसेडिङ्ग छैन् तर छिनछिनमा गइरहने विद्युतलाई हेर्दा घोषित लोडसेडिङ्गको अवस्था भन्दा कम छैन् ।

एकातिर गर्मीले गर्दा सर्बसाधारणको दैनिकी कष्टकर बनेको छ भने अर्कोतर्फ आर्थिकक्षेत्रको मेरुदण्डका रुपमा रहेका उद्योगहरु नियमित सन्चालन हुन सकिरहेका छैन् । लकडाउनको मारमा परेका उद्योगहरु जेनतेन सन्चालनको तयारीमा रहे पनि विद्युत समस्याका कारण पूर्णक्षमतामा संचालनमा आउन सकिरहेका छैनन् ।

यसले गर्दा नेपालगन्जको मात्र होइन पश्चिमकै आर्थिक क्षेत्र प्रभावित बनेको छ । विद्युत नियमित नहुँदा नेपालगन्जले झेल्नुपरेको यस्ता समस्याका बारेमा सरोकारवाला निकाय बेखबर छैनन् तर पनि समस्या समाधानका लागि गम्भीर छैनन् । हजारौं विद्यार्थीहरु यतिबेला भौतिकरुपमा कक्षा लिन पाइरहेका छैनन् अनलाइन कक्षा लिन नियमित विद्युत छैन ।

आज भन्दा चार पाँच वर्ष अगाडीसम्म नेपालगन्जमा विद्युत सेवा अत्यन्त नाजुक थियो । सबैको निरन्तर दवाव पछि नेपाल विद्युत प्राधिकरणले सेवा सुधार गर्दै लगेका कारण अघिल्ला वर्षहरुसम्म विद्युत सेवाको अवस्था सन्तोषजनक मानिन्थयो । तर यसपटक भने विद्युत सेवाको अवस्था फेरी पनि चार पाँच वर्ष अगाडीकै दुरावस्थामा पुगेको छ ।

चर्को गर्मीमा विद्युत खपत धेरै भएकाले समस्या उत्पन्न भएको भन्ने नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको अमुर्त र गैरजिम्मेवार जवाफ नेपालगन्जबासीका लागि अस्विकार्य भएको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । नागरिकलाई बिद्युत सेवा नियमितरुमा दिनुपर्ने दायित्वबाट प्राधिकरण बन्चित भएको श्रेठले जनाए । ‘नेपालगन्जमा गर्मी हुन्छ भन्ने थाहै छ, प्राधिकरणले लोड कम गर्न उपाय सुझाउनुपर्ने हो । तर त्यस्तो नगरी नागरिकलाई दुःख दिइरहेके छ । इन्तु,परन्तु होइन नेपालगन्जबासीलाई नियमित विद्युत चाहियो ।’

प्रकाशित मितिः     २४ श्रावण २०७८, आईतवार ०६:५३  |