हुम्ला, भदौ ९ गते । निर्धारित समय भन्दा एक दिन ढिलो गरी चर्चित सद्गुरु हुम्लाको सदरमुकाम सिमकोट आई पुग्नु भएको छ । मानसरोवर कैलाशको दर्शन नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गबाट दर्शन गर्न उहाँ हुम्ला आई पुग्नु भएको हो ।
खराब मौसमको कारण हेलिकोप्टरले उडान भर्न नसक्दा एक दिन ढिलो गरी सद्गुरु हुम्ला आई पुग्नु भएको पर्यटन व्यवसायी विजय लामाले बताउनुभयो । उहाँ आजै काठमाडौँबाट नेपालगंज र नेपालगंजबाट पसमकोट हवाई जहाजमा आई पुग्नु भएको हो । उहासँग अरु दुई जना सहयोगीहरु पनि आउनु भएको छ ।
सिमकोट विमानस्थलमा ओर्लिएपछि उहाँले सिमकोटलाई निक्कै सुन्दर ठाउँ भएको बताउनुभयो । विमानस्थलबाट सद्गुरुलाई मोटर साइकलको व्यवस्था गरिएको भए पनि उहाँ आफैले पैदल मार्गबाट बास बस्ने स्थान सिमसार क्षेत्रको खेल मैदानसम्म हिँडेर जानु भएको थियो । आज एक दिन गुरु सिमकोटमै बस्नु हुनेछ ।
भोलि बिहानबाट उहाँको लाप्चातर्फको पैदल यात्रा सुरु हुने उहाँले बताउनुभयो । मङ्गलवार काठमाडौँ विमानस्थलमा सद्गुरु बेलुका अबेरसम्म बस्नु परेपनि हेलिले उडान भर्न नसक्ने भएपछि उतै रोकिनु भएको थियो ।
सदगुरुसंग अन्य दुई जना सहयोगी रहेका थिए । स्वागतका लागि हुम्लामा गुरुको निक्कै पर्खाई र चर्चा भई रहेको बेला उनी नआउने भएपछि निराशा छाएको थियो ।
अब सद्गुरुको मानसरोवर कैलाशको यात्रा एक दिनपछि धकेलिएको छ । यसअघि ५५ जना कुक, गाइड र ४६ जना विभिन्न देशका गुरुसँग जाने पर्यटकहरु सिमकोट आई सक्नु भएको थियो । उहाँहरु सबै खेल मैदानमा पालको व्यवस्था गरी बस्दै आउनु भएको छ ।
राजन रावत(गोरखापत्रबाट)