बाँके निकुञ्ज र पर्यापर्यटन प्रर्वद्धनका लागि साझा प्रतिवद्धता


नेपालगन्ज — बाँके राष्ट्रिय निकुञ्ज र पर्यापर्यटनको प्रर्वद्धनका लागि बाँकेमा साझा प्रतिवद्धता गरिएको छ । राजनीतिक दल, जनप्रतिनिधि, पर्यटन व्यवसायी एवं सरोकारवाला अन्य पक्षका अगुवाहरुले जिल्लाको पर्यटन विकासका लागि निकुञ्ज मार्फत हुने पर्यापर्यटनको प्रर्वधनको आवश्यकता महसुस गर्दै त्यसका लागि साझा प्रतिवद्धता व्यक्त गरेका हुन ।

शनिवार नेपालगन्जमा यसै सन्र्दभमा आयोजित एक बृहद अन्तरक्रियामा बोल्ने बक्ताहरुले बाँकेको पर्यटन विकासको सम्भावना असिमित रहेको उल्लेख गरेका छन्। नेपालगन्जका नगर प्रमुख धवल शम्सेर राणा, कोहलपुर नगरप्रमुख लुटबहादुर रावत, बैजनाथका मानबहादुर रुचाल, राप्तीसोनारीका लाहुराम थारु, नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मी लगायतका जनप्र्रतिनिधिले पर्यटन विकासका लागि पालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउँदै पर्यटन विकासका लागि सक्रिय सरोकारवाला निकायका अगुवाहरुलाई उत्साहित बनाएका थिए । पर्यटकको संख्या वृद्धि गरी टाइगर जोनका रूपमा विकास गर्न जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गर्न थालिएको निकुञ्जका प्रमुख श्याम शाह बताउँछन् ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या वृद्धि गरी टाइगर जोनका रूपमा विकास गर्न जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गर्न थालिएको हो ।

निकुञ्ज क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउन होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायत छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ। निकुञ्जले पर्याप्त पूर्वाधारको व्यवस्था गरी पर्यटक भित्र्याउन थालिएको छ ।

निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र र्‍याफटिङको व्यवस्थाका लागि अध्ययन भएका छन् । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । त्यस्तै ओभरी नजिकैका क्षेत्रमा जंगल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ ।

गिद्धेनीचौरमा मचान निर्माण गरी जंगल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा र जंगल ड्राइभको व्यवस्था गर्न गरिएको छ । गाभर भ्यालीमा होमस्टेसहित थारू र मुगेली संस्कृतिको क्षेत्र बनाउन थालिएको निकुञ्जले जनाएको छ ।
स्थानीयलाई सशक्तीकरण गर्ने, होमस्टे र नेचर गाइडको तालिम सञ्चालन गरिएको छ । होमस्टे एशोसिएसन नेपालका सचिव कृष्णलाल थारुले स्थानीयलाई ड्राइभिङ तालिम समेत सञ्चालन गरिएको बताए । ‘मध्यवर्ती क्षेत्र र आसपासका स्थानीयहरूलाई रोजगारी दिने गरी प्याकेजमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । विभिन्न स्थानमा मचान निर्माण, पर्यटकीय क्षेत्र विस्तार गर्न विभिन्न प्याकेज बनाई पूर्वाधार निर्माणका कामहरू भइरहेका छन्,’ उनले भने । जनाएको छ ।

बाघको क्षेत्र बनाउने गरी सरकारले २०६८ सालमा बाँके निकुञ्ज स्थापना गरेको हो । बाघको संख्या बढाउन आहारा प्रजातिको संख्या बढाउने, घाँसे मैदानहरू व्यवस्थित गर्ने, पानी पोखरी निर्माण गर्ने, अग्निरेखा निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने चिसापानीस्थित गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र नमुना मानिएको हो । पारिवारिक बसाइ र सार्वजनिक कार्यक्रममा होमस्टेको लोकप्रियता बढदै गएको छ । पाँचवटा घरमा होमस्टेको सुविधा सञ्चालनमा छ । यो वर्षभित्रै थप दसवटा घरमा होमस्टे विस्तार गर्ने योजना छ ।

गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । तीन भिन्न संस्कृतिको अध्ययन र खानपानको विविधता गाभरको विशेषता हो । होमस्टे सञ्चालक कृष्ण चौधरीका अनुसार हिमाली फापरको रोटी, कोदोको ढिँडो र सिमीको दाल तथा थारू समुदायको सिद्रा, ढिक्री, घोंगी यहाँका लोकप्रिय परिकार हुन् । उनले लोकल कुखुराको माग पनि बढिरहेको बताए ।

शनिबार तथा अन्य बिदाका दिन होमस्टे खचाखच भरिन्छन् । छोटो दूरीमै थुपै्र वन्यजन्तुको अवलोकन पनि गाभरको अर्को विशेषता रहेको चौधरीले जनाए । चुरे पहाडसँग जोडिएको गाभर सधैंभरि हराभरा देखिन्छ । मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्दा २०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीछेउ पुनस्स्थापना गराइएको थियो । रैथाने थारू समुदाय पनि ४० सालदेखि यहाँ बस्न थालेका हुन् ।
होमस्टे सञ्चालकले बाँके र बर्दिया निकुञ्जमा जंगल सफारीको प्याकेज सञ्चालन गरेका छन् । स्थानीय संस्कृति अनुसारका नाच देखाउने गरिएको चौधरीले जनाए । पाँच वर्षभित्र एक सयभन्दा बढी युवालाई होमस्टेमा रोजगारी दिइरहेको छ ।

पर्यटन प्रर्बद्धन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सरोकारवाला पक्षको साझा प्रतिवद्धता पछि आफुहरुमा उत्साह थपिएको बताउँछन् ।

प्रकाशित मितिः     १२ भाद्र २०७८, शनिबार ११:०९  |