बाँकेमा पहिलो पटक कालिज पालन


नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका–४ का दीपक पौडेल करिब ५० लाख लगानीमा कालिज पालन शुरु गरेका छन् । सबैभन्दा बढि गर्मी हुने ठाउँ भएपनि प्रशस्त सम्भावना देखेर यि युवाले कालिज पालन शुरु गरेका हुन ।

पौडेलको फार्ममा अहिले १ हजार कालिज हुर्किरहेका छन् । दसैंअघि कालिज तयार भएर बिक्री हुन लायक हुने उनले बताए । पोथी कालिजबाट अण्डा उत्पादन गरेर चल्ला बिक्री गर्ने उनको सोच छ ।

‘अस्ट्रेलियाबाट कालिजको अण्डा घरमै मगाएर आफैंले ह्याचरी गराएँ । जसका कारण यहाँको तापक्रमसँग चल्लादेखि नै कालिज घुलमिल हुन सक्यो,’ उनले भने, ‘साउनमा गर्मी बढेको छ । तर, गर्मीमा बस्ने बानी कालिजलाई परिसकेको छ ।’

पौडेलले बाँकेमा पहिलोपल्ट कालिज पालन गरेको बताए । उनलाई कालिज पालनका लागि चितवन, पोखरा, काठमाडौं र कर्णाली प्रदेशका साथीहरूले सुझाएका हुन् । ‘नेपालको चिसो स्थानमा पालिएको कालिजको चल्ला ल्याएर पालेको भए गर्मी पचाउन समस्या हुन सक्थ्यो । त्यसैले साथीहरूकै सल्लाहमा विदेशबाट अण्डा ल्याएर ह्याचरी गराएको हुँ,’ युवा किसान पौडेलले भने, ‘अहिलेसम्म ठीकै छ । राम्रै आम्दानी होला भन्ने विश्वास लागेको छ ।’

उनी गत चैत ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरी व्यावसायिक कालिज पालनमा लागेका हुन् । ‘दसैं पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छ,’ उनले भने । एक दिने चल्लाको मूल्य १ हजार ४ सय रुपैयाँ पर्छ । खान लायक भइसकेको कालिजको मूल्य ३ हजार ५ सय रुपैयाँमा बिक्री हुन्छ । तौल गर्नु पर्दैन । ‘जति ठूलो होस् ३५ सयमा बिक्री भइहाल्छ,’ पौडेलले भने । कालिजलाई राख्नका लागि पौडेलले जाली लगाएका छन् । करिब ५० लाख लागतमा कालिज पालनमा लागेका उनले राम्रै आम्दानी गर्ने सोचमा छन् । कालिजले घाँस, दाना, मकै, गहुँ खान्छ ।

नेपालगन्जस्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा. भूपेन्द्र ओलीले कालिजको व्यावसायिक पालन चिसो ठाउँमा सम्भव हुने गरेको बताए । ‘बाँकेमा व्यावसायिक रूपमा कालिज पालन गरिएको सुनेको थिइनँ,’ उनले भने, ‘मेरो जानकारीअनुसार गर्मीमा कालिज नफस्टाउन सक्छ । तर, असम्भव भने केही छैन ।’

प्रकाशित मितिः     १८ भाद्र २०७८, शुक्रबार ०७:२१  |