बाँके निकुञ्ज -दशकपछि पर्यापर्यटनका लागि तयार भएको देशकै नयाँ गन्तव्य


बाँके निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सबै प्रकारका पूर्वाधार तयार भएका छन् । यहाँ एकपटक घुम्न आउने जोकोही उत्साहित भएर फर्किन्छन् ।

–श्याम कुमार साह, निकुञ्ज प्रमुख ।

पर्यापर्यटनका लागि बाँके निकुञ्ज एउटा राम्रो गन्तव्यका रुपमा विकास भइसकेको छ । पूर्वाधारले सम्पन्न भएका कारण निकट भविष्यमै यहाँ ठूलो संख्यामा पर्यटक भित्रिने आशा छ । अहिले पनि हामीले पर्यटकलाई हृदयबाट स्वागत गरिरहेका छौं ।

– कृष्णलाल चौधरी, गाभर होमस्टेका अभियानता

बाँके – देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुन्जले स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीति बनाएको छ । बर्दिया निकुञ्ज पछि बाँके निकुञ्ज लुम्बिनी प्रदेशको दोस्रो निकुञ्ज हो । बर्दियामा पर्यटकिय गतिबिधि बढिरहेको भएपनि बाँके निकुञ्ज भने बामे सर्दै छ । अब भने पर्यटकिय गतिबिधि बढाउने गरी काम भइरहेको निकुञ्ज प्रमुख श्याम साहले बताउँछन् ।

सुरुका सात वर्ष निकुन्जमा पर्यटकको आगमन शुन्य रह्यो । पछिल्ला चार वर्षयता पर्यटकको आगमन सुरु त भएको छ । तर त्यो सन्तोषजनकरुपमा बढ्न सकेको छैन ।

निकुन्जका अनुसार स्थापना कालदेखि आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७–७८ सम्म जम्मा आठ सय सय ९९ जना पर्यटक निकुन्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि आठ सय ६५ जना नेपाली पर्यटक नै छन् । १० वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकमा मात्र १४ जना पर्यटक निकुन्ज पुगेका छन् ।

 

आव २०७४–७५ मा दुईजना स्वदेशी पर्यटक आएकोमा २०७५–७६ मा जम्मा एक सय ५९, २०७६–७७ मा तीन सय ७० र गत आर्थिक वर्ष २०७७–७८ मा जम्मा तीन सय ६७ जना पर्यटक मात्रै निकुन्ज पुगेका छन् ।
जबकी सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुन्जमा भने वार्षिक १५ देखि २० हजार विदेशी पर्यटहरु आइरहेका छन् ।
बाँके राष्ट्रिय निकुन्जमा पर्यटकीय पुर्वाधार नभएको पनि होइन । होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् ।

सन् २०१८ को गणनामा निकुन्जमा २१ वटा बाघसमेत रहेका पाइएको थियो । बाघ पर्यटकहरुका लागि मुख्य आकर्षण हो । तरपनि पर्यटकको आवागमन बढ्न सकेको छैन । निकुञ्ज प्रमुख साह भन्छन्, ‘बाघ हेर्न पर्यटक लालायित हुने भएपनि बाँकेमा पर्यटक तान्न सकिएन ।’
तर, सबै पूर्वाधार तयार हुँदापनि पर्यकटहरु बढ्न सकेका छैनन् । यसै अवस्थालाई मध्यनजर गर्दै निकुन्जले अब पर्यटक भित्रउने रणनीति अघि बढाएको छ ।


बाँके निकुञ्जसंगै जोडिएको गाभर क्षेत्रलाई पर्यटकियक्षेत्रका रुपमा विकास गर्ने जग बसालेका कृष्णलाल चौधरी बाँकेका लागि सबैभन्दा बढी पर्यटक तान्ने ठाउँ छिमेकी देश भारत भएपनि त्यहाँबाट आउनेहरुलाई सीमामा अनेक अड्चन खडा गरिने गरेको बताए । ‘भारतीय पर्यटकलाई आर्कषक गर्ने गरी कामहरु गर्नुपर्नेमा अनेक अड्चन गरिने गरिएको छ ।’

नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले नेपालका लागि पर्यटकको स्रोत भारत हुने संभावना रहेपनि त्यसमा थुप्रै नीतिगत र व्यवहारगत अड्चनहरु रहेको बताए । ‘नाका पार गर्न नै तीन घण्टा लाग्छ । पर्यटक नाकाबाटै फर्किने सोचमा हुन्छन् । एक दिनका लागि आइहाले पनि फेरि आउँदैनन् । उनीहरु नेपालमा अपमान हुन आउने हो र ?’ सुरक्षाकर्मीको व्यवहारप्रति आक्रोश पोख्दै राणाले भने । उनले नेपालसँग भारतीय पर्यटकलाई तान्ने ठोस कार्यक्रम पनि नभएको बताए ।

नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले अहिलेसम्म नेपालमा तराईंको पर्यटकीय संभावनाबारे ठोस कार्यक्रम नभएको र त्यस्ता क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धन पनि हुन नसकेको बताए ।

उनले तराईंका नाकामा रातीको समयमा पनि आवागमन खुला गर्नुपर्ने बताए । रातीको समयमा सीमामा आइपुग्ने पर्यटकहरुले दुःख पाउने गरेको र त्यसको नकारात्मक असर समग्र पर्यटन क्षेत्रमा पर्ने उनले बताए । रेग्मीले केही महिनामै नेपालगन्जमा बोर्डको कार्यालय पनि स्थापना हुने बताएका छन् ।
निकुञ्जका प्रमुख साहले जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गर्न थालिएको बताए ।

के छ बाँके राष्ट्रिय निकुन्जमा ?

निकुन्जमा मुख्य आकर्षण २१ वटा बाघहरु छन् । बाघको संख्या बढाउन आहारा प्रजातिको संख्या बढाउने, घाँसे मैदानहरू व्यवस्थित गर्ने, पानी पोखरी निर्माण गर्ने, अग्निरेखा निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् । बाघसँगै दुर्लभ मानिने चौका निकुन्जमा प्रशस्त छन् । ११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तानधारी, ५० दुर्लभ सहित ३ सय किसिमका पन्छी, २ दुर्लभसहित २४ घस्रने, ५ दुर्लभसहित ५५ बढी प्रजातीका माछा गरी चारसय २२ भन्दा बढी प्रजातिका जीवजन्तु निकुन्जमा छन् ।

निकुन्ज तराईं, भावर र चुरे क्षेत्रमा फैलिएकोले तीनै किसिमको हावापानी र वनस्पति भएको क्षेत्र हो । निकुन्जमा पर्ने चुरे पहाडमा चुरेमा आधारित पर्यटकीय गतिविधि सन्चालन गर्न सकिने प्रशस्त संभावना रहेको प्रमुख संरक्षण अधिकृत शाहले बताए ।
निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र ¥याफटिङको व्यवस्थाका लागि संभाव्यता अध्ययन भएका छन् । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । त्यस्तै ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, जंगल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ ।

गिद्धेनीचौरमा मचान निर्माण गरी जंगल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जंगल ड्राइभको व्यवस्था गरिएको छ । गाभर भ्याली होमस्टे क्षेत्रका रुपमा विकास हुँदै छ । गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्ने क्रममा २०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीछेउ पुनःस्थापना गराइएको थियो । रैथाने थारू समुदाय पनि ४० सालदेखि यहाँ बस्दै आएका छन् ।

वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । पारिवारिक बसाइ र सार्वजनिक कार्यक्रम का लागि होमस्टेको लोकप्रियता बढदै गएको छ । हाल पाँचवटा घरमा होमस्टेको सुविधा रहेकोमा यो वर्षभित्रै थप दशवटा घरमा होमस्टे विस्तार गर्ने योजना रहेको होमस्टे सञ्चालक कृष्ण चौधरी बताउँछन् ।
होमस्टेमा हिमाली फापरको रोटी, कोदोको ढिँडो र सिमीको दाल तथा थारू समुदायको सिद्रा, ढिक्री, घोंगी उपलब्ध छ । होमस्टे सञ्चालकले बाँके र बर्दिया निकुञ्जमा जंगल सफारीको प्याकेज सञ्चालन गरेका छन् ।

प्रकाशित मितिः     २० भाद्र २०७८, आईतवार १०:२९  |
error: Content is protected !!