सदस्यताको उल्झनले वाक्क बाँके काँग्रेसका युवा नेता, भन्छन्–‘अति भयो !’


नेपालगन्ज–नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढेको छ । तर सदस्यता बिवादले पूर्वसभापति स्वर्गीय सुशिल कोइरालाको जिल्ला बाँकेमा भने त्यसको रौनक छैन । बरु सदस्यता उल्झन देखाएर क्रियाशिल सदस्यको सूची समेत नपाएपछि नेताहरु वाक्कदिक्क भएका छन् । नेता कार्यकर्तामा नेतृत्वप्रति आक्रोसित  छन् ।

केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि बाँकेमा त्यो हुन सकेन ।

पार्टी केन्द्रले बाँकेलाई विवादित जिल्लाको सूचीमा राखेको छ,यहाँका नेता, कार्यकर्ता खासै विवाद नरहेको जिकिर गर्छन् । क्रियाशील सदस्यता वितरणमा देखिएको सामान्य विवादलाई केन्द्रका नेताले नै झन् विवादमा ल्याएको अधिकांसको गुनासो छ ।

महासमिति सदस्य मेघराज ओली समाजिक सन्जालमा लेख्छन्–‘अब त अति भयो । धैर्यको बांध नि जबर्जस्त टुट्न थाल्यो । छिटो भन्दा छिटो बाँकेको फाइनल लिस्ट आउनु पर्यो । हामि फिल्डमै छौ । नेतृत्व महोदय महाधिवेशनको महासंग्रामबाट खबरदार ! कृपया बिवाद नभएको क्षेत्रहरुलाइ बन्चित नगरियोस ? जय नेपाल । ’

नेपाली कांग्रेसका युवा नेता पोषण केसीले बाँके क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवाद झन पेचिलो बनेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिका आकांक्षी समेत रहेका युवा नेता केसीले पदीय जिम्मेवारीमा बसेका ब्यक्तिको दम्भ र अधिनायकबादी चरित्रका कारण बाँके जिल्लाको अधिबेशन अनिश्चयको भूमरीमा फसेको भन्दै रोष प्रकट गरेका हुन् । आज साँझ सामाजिक संजाल ’फेसबुक’ मा स्टाटस लेख्दै उनले भनेका छन–“पदीय जिम्मेवारीमा बसेका ब्यक्तिको दम्भ र अधिनायकबादी चरित्रका कारण बाँके जिल्लाको अधिबेशन अनिश्चयको भूमरीमा फसेको छ ।“

उनले अगाडि लेखेका छन–“मलाई लाग्छ प्रजातन्त्र भनेको ब्यवहार र संस्कार हो । प्रजातान्त्रिक पार्टीका कार्यकर्ताहरू हामीले पनि सोही अनुसार आचरण र ब्यवहार गर्न जरूरी छ । नेतृत्वमा रहेका र पुनः नेतृत्व हत्याउन लागिपरेका ब्यक्तिहरूको बालहठ र दम्भका कारण बाँके क्षेत्र नं १ को बिबाद दिन प्रति दिन झन पेचिलो बन्दै गएको छ ।“ उनले पदीय जिम्मेवारीमा रहेका र भोलीका दिनमा फेरि पदीय जिम्मेवारी बहन गर्न चाहने ब्यक्तिहरूले दम्भ र अहंकारलाई त्यागेर सहमति, सहकार्य र एकताका आधारमा चल्ने हो भने तीन चार महिनादेखि बल्झिएको विवाद छिनभरमा नै समाधान हुने दाबी समेत गरेका छन् ।

उनी लेख्छन–“जिल्लामा उत्साहित भएर अधिबेशनमा सहभागी हुन लालायित भएका सम्पूर्ण आदरणीय पार्टीका नेता तथा कार्यकर्ताहरूको चाहना पूरा हुनेछ तर केही सीमित ब्यक्तिहरूको लहड र दम्भले जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको प्रजातान्त्रिक हक र अधिकारलाई कदापि बन्चित गराउन पाइँदैन ।“ उनले पार्टीको अधिबेशनमा सबै कार्यकर्ताहरूले यसको मूल्यांकन गर्नैपर्छ भनेका छन् । “पार्टी भित्रको निर्वाचन हो, स्वस्थ प्रतिष्पर्धा गरौं, आत्मीयता र भाइचारा कायम राखौं, प्रतिपक्षसंग लड्ने स्थानीय, प्रदेश र संघीय निर्वाचन सन्निकट छ हेक्का राखौं,“ उनले लेखेका छन् ।

यस्तै नेपालगन्जकी उपमेयर उमा थापाले पनि लेखेकी छन्–‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सात जिल्लामा वडा अधिवेशन हुने भएको छ । काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरामा हुने अधिवेशनको हार्दिक शुभकामना । अब बाँके जिल्ला सहित बाँकी रहेका १३ जिल्लाको अधिवेशनको छिट्टै कुनै टुंगो लगाइयोस । अनिर्णयको बन्दि नबनाइयोस् । सत्ता स्वार्थ र पदको दुरुपयोग गरेर लोकतन्त्रको हिमायती बन्ने नाटक बन्द गरेर विधि र प्रक्रियामा जान नेता ज्युहरुमा एउटा कार्यकर्ताको हार्दिक अनुरोध छ। ’

 

 

प्रकाशित मितिः     ५ आश्विन २०७८, मंगलवार ०८:४४  |