बाँकेका उद्योगमा कोभिड प्रभाव : फलामे डण्डि उत्पादन घट्ने, तेल उत्पादन बढ्ने


नेपालगन्ज –नेपाल राष्ट्र बैंकले लुम्बिनी प्र्रदेशको आर्थिक वर्ष २०७७/७८ को प्रथम अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलबस्तु, नवलपरासी, बाँके र बर्दिया जिल्लाहरुका सम्बन्धित उद्योगहरुबाट प्राप्त भएको जानकारी, सूचना र तथ्याङ्कको आधारमा औद्योगिक उत्पादनका परिदृष्य यसरी समावेश गरिएको छ ।

– बागेश्वरी आइरन एण्ड स्टील प्रा.लि.,नेपालगंजले उपलब्ध गराएको तथ्याँक बमोजिम बजारमा फलामे डण्डिको मागमा आउन सक्ने ह्रासका कारण आगामी छ महिनामा यसको उत्पादनमा ह्रास आउने अनुमान रहेको छ भने रुपन्देही स्थित पंचकन्या स्टिल प्रा.लि.ले फलामे डण्डिको उत्पादन यथावत रहने अनुमान गरेको छ ।
– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बर्दियाले दिएको जानकारी बमोजिम चामल  उत्पादन गर्ने उद्योगहरुले औसत ३२.६३ प्रतिशत क्षमता उपयोग गरेका छन् भने आगामी छ  महिनाभित्रमा चामलको उत्पादनमा करीब १० प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।
– पानस फमास्युटिकल्स प्रा.लि. बाँकेले दिएको तथ्याँक बमोजिम औषधीको उत्पादन करिब २० प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।
– यस प्रदेशका बाँके र नवलपरासी पश्चिममा संचालनमा रहेका डिष्टिलरीहरुले ७२.७५ प्रतिशत क्षमता उपयोग गरेको पाइएकोमा आगामी छ महिनामा बाँकेमा करिव १५ प्रतिशत र
नवलपरासी पश्चिममा करिव १० प्रतिशतले मदिरा उत्पादनमा वृद्धि हुने अनुमान रहेको छ ।
-सौरभ आयल मिल बाँकेले दिएको तथ्याँक अनुसार अन्तर्राष्ट्रिय तेल बजारमा तेल र कच्चा
पदार्थको मूल्यमा गत वर्षको तुलनामा वृद्धि भएको कारण आगामी ६ महिनामा तेलको
उत्पादन करिव १० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

– एम के पेपर मिल्स प्रा.लि.ले उपलब्ध गराएको तथ्याँक बमोजिम पेपरको आयातमा भएको
वृद्धि तथा बजारमा पेपरको मागमा आएको ह्रासको कारणले २५ प्रतिशत उत्पादनमा ह्रास
आउने अनुमान रहेको छ ।
– रारा केमिकल्स प्रा.लि., बाँकेले उपलब्ध गराएको तथ्याँक अनुसार साबुन उद्योगले ४०
प्रतिशत क्षमता उपयोग गरेका छन् । कोभिड–१९ को कारण साबुन उत्पादन गर्ने कच्चा
पदार्थ भारत तथा तेश्रो मुलुकबाट आयात हुन नसकेको कारण साबुनको उत्पादनमा ५२
प्रतिशतले ह्रास आउने अनुमान रहेको छ ।

प्रकाशित मितिः     ५ आश्विन २०७८, मंगलवार १७:२१  |