वाटरपार्कमा ‘बोटिङ्ग’ र ‘फिसिङ्ग’ !


नेपालगन्ज– वाटरपार्कमा बोटिङ्ग शुरु भएको छ । औपचारिकरुपमा उद्घाटन हुन बाँकी रहे पनि आन्तरिक पर्यटकलाई बोटिङ्ग गराइरहेको वाटरपार्क सन्चालनको जिम्मेवारी पाएका केसी सप्लायर्सका सन्चालक हुकुम केसीले बताए ।

अहिले ताल सरसफाईको काम सन्चालन भइरहेको छ । त्यसलगत्तै उद्घाटनको कार्यक्रम राखिने छ । चाँडै रेष्टुरेन्ट समेत सन्चालनको योजना बनाइएको छ ।

लामो समयको पर्खाइपछि नेपालगञ्जको बहुप्रतिक्षित ठूलो योजनाभित्रको ‘वाटरपार्क’ निर्माणको काम सम्पन्न भएसंगै पर्यटकीय गतिविधि बढेको हो । “वाटरपार्क निर्माण भएपछि हाम्रो नेपालगञ्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोसेढुङ्गा साबित हुनेछ”, नेपालगञ्ज उपमहानगरपालिका—१ का वडाध्यक्ष प्रमोद रिजालको भनाइ छ ।

 

वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका विहार बिस्तार गरिएको छ । अहिले वाटरपार्कमा सातवटा बोट रहेका छन् भने माछाका भुराहरु समेत राखिएका छन् । पर्यटकलाई आफै माछामार्ने गराउने योजना समेत रहेको केसी बताउँछन् ।

यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिनेछ । नेपालगञ्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माणमा ढिलै भए पनि परिणाम राम्रै आएको छ ।

आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, आर्थिक विकासको आधार बलियो बनाउन र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन वाटरपार्क योजना जति सकेको छिटो सम्पन्न हुनुपर्नेमा यहाँका जनप्रतिनिधिहरु, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणहरु एकमत छन् ।

 

प्रकाशित मितिः     ९ आश्विन २०७८, शनिबार १६:२६  |