सुन तस्करीमा बढ्दो नेपालगन्ज-सीमापार कनेक्सन, बिरलै पक्राउ पर्छन तस्कर


प्रहरीले नेपालगन्ज बिमानस्थलबाट बरामद गरेको सुन । यो घटना अनुसन्धानकै क्रममा छ ।
  • सबिन ढकाल(बिजमाण्डुबाट)

काठमाडौं। भदौ १८ गते बाँकेको नेपालगन्ज र २९ गते त्रिभुवन विमानस्थलबाट दुई/दुई जना व्यक्ति सुनसहित समातिए। बाँकेबाट समातिएका युवकको साथमा ४ किलो र काठमाडौं विमानस्थलबाट समातिएकाको साथमा साढे तीन केजी सुन फेला पर्‍यो। प्रहरीले उनीहरुको साथमा भएको सुन अवैध भएको भन्दै राजस्व अनुसन्धान कार्यालयलाई बुझायो।

अहिले यी दुवै घटनाको अनुसन्धान राजस्व अनुसन्धानले गरिरहेको छ। तर, यी दुवै घटनामा केही समान कुरा भेटिएको छ। उनीहरूले बोकेर लगेको सुन आफूहरूले किनेकोमात्र बताएनन् त्यसको प्रमाण स्वरुप रसिदसमेत प्रहरीलाई देखाएका थिए।

झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय बुद्धिमान खाती भदौ १८ गते दिउँसो २ बजेतिर श्री एयरलाइन्सको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट नेपालगन्ज पुगेका थिए।

विश्वकर्माको दुवै खुट्टामा लगाएको जुत्ताबाट दुई/दुई वटा सुनको बिस्कुट र खातीले लगाएको जुत्ताको तलुवाबाट दुई वटा सुनको बिस्कुट बरामद भयो। यी सबैको तौल तीन किलो ९ सय ९४ ग्राम थियो। त्यस्तै, बाँकी सुन बुद्धिमानले बोकेको झोलामा थियो। गहनासहित चार किलो २१ ग्राम सुन बरामद भएको थियो त्यहाँ। सुरुमा उनीहरूले आफ्नै सुन भएको बताएका थिए।

आफ्नै सुन भएको भए कि त्यसरी लुकाउनु पर्थ्यो? 

प्रहरीले शंका मान्ने आधार यही थियो। तर, अहिले त्यो सुन उनीहरूको नभएको खुलेको छ। उनीहरूले सुन पुरानो बानेश्वरको बुद्ध ज्वलर्सबाट किनेको भन्दै त्यसको रसिदसमेत देखाएका थिए। यस घटनाको अनुसन्धान सुरुमा राजस्व अनुसन्धान कार्यालय कोहलपुरले गरेको थियो। तर, त्यसमा काठमाडौंको ज्वेलर्ससमेत जोडिएकाले अहिले राजस्व अनुसन्धान विभागले हेरिरहेको छ। घटनामा जोडिएका उनीहरूलाई पाँच दिनअघि नै काठमाडौं ल्याइएको छ।

‘अहिले हामीले अनुसन्धान गरिरहेका छौँ। अनुसन्धान नसकिएकाले केही भन्ने अवस्था छैन। उहाँहरूसँग जोडिएका अरुमाथि पनि अनुसन्धान हुन्छ,’ राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक शिवलाल तिवारीले भने।

जससँग प्रहरीले सुन बरामद गरेको थियो उनीहरूको आर्थिक अवस्थाले ४ किलो सुन किन्ने क्षमता देखाउँदैन। चार किलो सुनको मूल्य साढे ३ करोड रुपैयाँभन्दा बढी हुन्छ। उनीहरू सुनको गहना बनाउने कालिगड भएको चाहिँ खुलेको छ। त्यसैले उनीहरू सुन तस्करको भरियामात्र भएको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ।

उनीहरूको जस्तै २९ गते धनुषा घर भएका ४७ वर्षीय मुरारीराज अधिकारी र कैलालीका २९ वर्षीय वोधराज भण्डारीले पनि सुन आफ्नै भन्दै किनेको रसिद देखाएका थिए। उनीहरू चाहिँ श्री एयरलाइन्सबाट विराटनगर जान लागेका थिए। लगेज चेक गर्दा उनीहरुको साथ तीन किलो ३६० ग्राम सुनका गहना फेला परेको थियो। उनीहरूको साथमा पनि काठमाडौंको न्युरोडको इशा ज्वलर्सबाट किनेको रसिद थियो। रसिदमा २ करोड २४ लाख रुपैयाँ भन्दा बढीमा सुन किनिएको देखिएको छ।

‘लगेजमा नै सुनका विभिन्न गहना थिए। त्यसपछि किन र के भन्दा उनीहरूले बिल देखाए। तर, हामीलाई शंका लागेर नियन्त्रणमा लियौँ,’ विमानस्थलका सुरक्षा प्रमुख राजेश बास्तोलाले भने।

काँचो सुन बोकेर हिँड्दा सहजै शंका हुने भएपछि पछिल्लो समय गहना बनाएर सुन तस्करी हुन थालेको संकेत मिलेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरू बताउँछन्। विदेशबाट अवैध रूपमा भित्रिएको काँचो सुनलाई नेपालबाट जिल्लातिर पठाउँदा गहना बनाउने गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

विदेशबाट अवैध रूपमा भित्रिएको सुन नेपालमा त्यति धेरै खपत हुँदैन। नेपालमा भन्दा छिमेकी मुलुक भारतमा सुनको मूल्य बढी छ। त्यसैले, नेपाल हुँदै भारततिर सुन तस्करी हुने गरेको छ। पछिल्ला दुई केसले पनि भारततिर तस्करी हुन खोजेको प्रहरीको अनुमान छ।

बाँकेको नेपालगन्ज हुँदै सजिलै भारततिर सुन तस्करी हुनसक्ने देखिन्छ। किनकि उत्तर प्रदेशसँग जोडिएको बाँकेबाट प्रान्तीय राजधानी लखनउको दुरी २ सय किलोमिटरभन्दा कम छ भने दिल्ली ७ सय किलोमिटर हाराहारीमा। भारतका विभिन्न शहरमा सहजै रुपौडिया हुँदै तस्करी हुनसक्छ। त्यस्तै, विराटनगर विमानस्थलबाट जोगवनीको दुरी १३ किलोमिटर छ। दुवै घटना भारतसँग सीमा जोडिएका जिल्लातिर केन्द्रित भएको र उस्तै दुरीमा भारतीय सीमा पार गर्न सकिने भएकाले पनि तस्करीको एकै प्रकृति हुनसक्ने देखिएको हो।

‘कहाँ तस्कर हुन लागेको वा कुन लियरका मानिसहरू संलग्न छन् भन्ने अनुसन्धान भइरहेकाले अहिले यसै भन्ने अवस्था देखिएन,’ राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक तिवारीले भने।

विदेशबाट विमानस्थल हुँदै नेपालमा अवैध सुन आउने गरेको छ। त्यस्तै स्थल मार्गबाट भारत सुन पठाउँदै गर्दा धेरै मानिस र सुनसमेत समातिएका छन्। तर विमानस्थल नै प्रयोग गरेर आन्तरिक सुन तस्करी हुँदा विमानस्थलको सुरक्षा माथि पनि प्रश्न उठेको छ।

विमानस्थलबाटै अवैध सुन एक ठाउँबाट अर्को ठाउँमा लगिएको सूचना बाहिरिएपछि प्रहरीले सुरक्षा बढाएको थियो। विमानस्थल प्रहरीले एसपी नान्तिराज गुरुङको नेतृत्वमा चार जनाको छानबिन समिति गठन गरेको थियो। समितिले अहिले पनि अनुसन्धान गरिरहेको एसएसपी बास्तोलाले जानकारी दिए।

बढ्यो सुन तस्करी

प्रहरीले जति सुन समात्यो, त्यसलाई आधार मान्ने हो भने गएको आर्थिक वर्षमा तस्करी हलक्कै बढेको देखिन्छ। गत आर्थिक वर्षमा प्रहरीले समातेको सुनबाट प्राप्त हुने राजस्व नै ३३ प्रतिशतले बढ्यो। आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपैयाँ राजस्व सुनबाटै संकलन भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा यस्तो राजश्व २० करोड ३० लाख ५१ हजार १ सय ३२ रुपैयाँ संकलन भएको थियो।

प्रहरीले अवैध सुनसहित मानिस पक्राउ परेपछि थप अनुसन्धानको लागि आन्तरिक राजस्व विभाग वा त्यस मातहतका कार्यालयमा बुझाउँछ। त्यसपछिको अनुसन्धान राजस्वले नै गर्छ। आर्थिक वर्ष २०७७/७८ मा प्रहरीले २५ किलो १ सय ४६ ग्राम सुन समातेर बुझाएको थियो। यसरी बुझाएको मध्ये केही अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता भइसके भने केही अझैं अनुसन्धानकै क्रममा रहेको राजस्व विभागका उपमहानिर्देशक शिवलाल तिवारीले बताए।

‘यसरी बरामद भएका अधिकांश केसमा मुद्दा चलेको हुन्छ। केही नगन्य मात्रामा भने प्रमाण नपुग्दा छुट्ने गरेको देखिन्छ,’ तिवारीले भने।

आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले बुझाएको मध्ये ६ किलो बराबरको सुनको मुद्दा अदातलमा दर्ता भइसकेको छ। चालु आर्थिक वर्षको दुई महिनामा विभागलाई प्रहरीबाट ९ किलो ७ सय ग्राम सुन प्राप्त भएको छ। जसको अनुसन्धान भइरहेको उपमहानिर्देशक तिवारीले जानकारी दिए। गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको दुई महिनामा सुन बरामद हुने मात्रा भने बढेको उपमहानिर्देशक तिवारीले बताए।

वैध कारोबारका यी हुन् आधार

नेपालमा चारवटा स्रोतबाहेक अन्य स्रोतबाट आएका सुनलाई अवैध मानिन्छ। ती हुन् :

१. घरायसी प्रयोजनको सुन जुन नयाँ डिजाइन गर्ने, मर्मत गर्न, बिक्री गर्न र साटफेर गर्न बजारमा आउँछ।

२. नेपाल राष्ट्र बैंकले तोकेको सिमा दैनिक २० किलो भित्र रही सुनको कारोबार गर्न सुन व्यवसायी महासंघको सिफारिस प्राप्त हुनुपर्छ।

३. विदेशमा गएकाहरुले ५० ग्राम नि:शुल्क विना भन्सार महसुल लिएर आएन पाउँछन्। त्यो भन्दा बढी परिमाणमा ल्याए निश्चित भन्सार शुल्क तिर्नुपर्ने हुन्छ।

४. नदी किनारका बासिन्दाले नदीको बालुवा केलाएर जम्मा गर्ने सानो परिमाणको सुन बिक्रीका लागि बजारमा आउँछ।

बैध रुपमा हुने कारोबारमा अधिकांश कारोबारहरु ट्र्याकिङ गर्न सकिन्छ। बुँदा १ देखि ३ सम्मका कारोबारमा स्रोत र बिललाई पछ्याउँदा बैध रहे नरहेको पत्ता लगाउन सकिन्छ भने बुँदा नम्बर ४ मा अति नै कम मात्रामा सुन भेटिने भएकाले अनुसन्धान गरिरहनुपर्ने देखिन्न। घरायसी सुन मासेर नयाँ बनाउने हो भने पनि बिल अनिवार्य चाहिन्छ। त्यसैले रसिद सधैं सुन कारोबारका लागि महत्वपूर्ण आधार रहँदै आएको छ। तर, पछिल्लो समय तस्करीमा यस्तैखाले रसिदको प्रयोग हुन थालेकाले बैध कारोबार गर्नेहरु माथि पनि निगरानी गर्नुपर्ने त होइन भन्ने देखिएको छ।

अहिले नेपालमा सुनको आयात उच्च दरमा भइरहेको छ। दुई महिनामै १३ सय किलो सुन आयात भइसकेको छ। त्यही पनि ब्यवसायीहरु सुन नपुगेको गुनासो गर्छन्। उनीहरुले यसरी सुन अत्याधिक प्रयोग गर्दा देशको ब्यापार घाटासमेत बढ्न थालेको छ।

प्रकाशित मितिः     १० आश्विन २०७८, आईतवार १८:३७  |