नेपालगन्ज आउँदै एमाले अध्यक्ष ओली


नेपालगञ्ज, कात्तिक २५ । नेकपा एमाले बाँकेले महाधिवेशन प्रतिनिधी छनौट तथा वृहत पार्टी प्रवेश कार्यक्रमको पुर्व तयारीका लागि बिहिवार नेपालगञ्जमा अगुवा कार्यकर्ता भेला गरेको छ ।

यहि मंसिर १ गते नेपालगञ्जको बालेगाउँमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम हुने भएको छ ।

सो कार्यक्रममा स्वतन्त्र राजनीतिक समूहका नेता तथा जिविस बाँकेका पुर्व सभापति पशुपतिदयाल मिश्रा दलबलसहित एमाले प्रवेश गर्ने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो । सो कार्यक्रममा जिल्लाका अन्य स्थानबाट समेत पार्टी प्रवेश हुनेछ ।


यसैगरी एमालेको चितवन महाधिवेशनका लागि कात्तिक २७ गते एकसाथ प्रतिनिधी छनौट गरिने भएको छ । बाँकेमा ३ निर्वाचन क्षेत्र र दलित क्षेत्रबाट प्रतिनिधी चयन गरिनेछ । भेलाका सहभागीले सर्वसम्मत प्रतिनिधी चयन गर्नुपर्ने सुझाव दिएको छ । एमाले बाँकेका सचिव रत्न खत्री र उपसचिव प्रमोद धितालले संचालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष किस्मत कक्षपतिले गर्नुभएको थियो । भेलामा नेताहरु देवराज भार, नन्दलाल रोकाय, बाबुराम गौतम, दुर्गा थारु, आरती पौडेल लगायतको सहभागिता थियो । भेलामा पालिका अध्यक्ष तथा क्षेत्रीय अध्यक्षहरुले रिपोटिङ गर्नुभएको थियो ।

चितवन महाधिवेशनमा बाँकेमा ५ हजार कार्यकर्ता सहभागी हुने भएका छन् । भेलाले जन परिचालनका लागि क्षेत्रीय समूह बनाएको छ । महाधिवेशनका लागि प्रत्येक पार्टी सदस्यबाट एकसय रुपियाँ संकलन गरिने भएको छ ।

प्रकाशित मितिः     २५ कार्तिक २०७८, बिहीबार १६:१४  |
error: Content is protected !!