घरजग्गाको मूल्य २६.४५ बढ्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गाको मूल्य २६.४५ प्रतिशतले बढेको जनाएको छ । शुक्रबार घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै बैंकले यस्तो जनाएको हो ।

उक्त सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ भने मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्कको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौमहिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ ।

यस बैंकबाट जारी गरिने मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील (Macro-prudential) नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकाङ्क महत्वपूर्ण हुने सन्दर्भलाई दृष्टिगत गर्दै घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी यो प्रतिवेदन तयार गरिएको छ । नेपालको सन्दर्भमा घरजग्गा मूल्य सर्वेक्षण गरिएको यो पहिलो अवसर हो ।

वित्तीय क्षेत्र विकास रणनीति (२०७३/७४–२०७७/७८) मा घरजग्गा मूल्य सूचकाङ्क तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएकोमा आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो । त्यस्तै, घरजग्गा मूल्य सूचकाङ्क तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरिएको छ ।

छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुई वटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम छ वटा महानगर क्षेत्रलाई तथ्याङ्क स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो । सो स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्याङ्क सङ्कलन गरिएको हो ।

नेपालको सन्दर्भमा तथ्याङ्क उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्याङ्क सङ्कलन गरेर घरजग्गा मूल्य सूचकाङ्क तयार गरिएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्याङ्कनसम्बन्धी तथ्याङ्कको आधारबाट घरजग्गाको मूल्य सङ्कलन गरिएको छ ।

प्रकाशित मितिः     ३ मंसिर २०७८, शुक्रबार १६:२९  |