कांग्रेस पालिका अधिवेशन : बैजनाथको परिणाम आयो,अन्यकाे आउँदै


नेपालगन्ज – नेपाली  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार(आज) चार वटै पालिकामा मतदान भएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतदान भएको हो ।

बैजनाथ गाउँपालिका सभापतिमा देवबहादुर खत्री(केसी)६८ प्राप्त गरेर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी केशर खड्काले ३९ र रामबहादुर बिष्टले २७ मत प्राप्त गर्नुभयो । यस्तै उपसभापतिमा सुरबिक्रम शाहले ८३ र गोपाल थारुले ७० मत ल्याएर विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी दुर्गाबहादुर घिमिरे क्षेत्रीले ५८ र महेन्द्रबहादुर थारुले ५८ मत ल्याउनु भयो ।

यसैगरी सचिवमा टंकबहादुर बुढामगरले ७३ र कृष्णबहादुर कुँवरले ६८ मत ल्याएर विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी महाविर थारुले ६४ र बसन्तकुमार रावतले ५९ मत प्राप्त गर्नु भयो । सह–सचिवमा रुपा चौधरीले ९७ र पवनकुमार पुनमगरले ९० मत ल्याएर विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी नैनसरा रावतले ५४ र उत्सव रानाक्षेत्रीले ११ मत ल्याएको र प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधीमा २ जना निर्विरोध निर्वाचित भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिनुभयो । बैजनाथमा खसेको कुल १ सय ४९ मत मध्ये शत प्रतिशत खसेको र ८ मत बदर भएको उहाँले बताउनु भयो ।

नेपालगन्ज उपमहानगरपालिकामा मतदान सम्पन्न पश्चात आजै बेलुकाबाट मत गणना सुरु भएको छ । मतदान अधिकृत सुभास गौतमका अनुसार उपमहानगरपालिकामा कुल ३ सय ७७ मत खसेको थियो । मत परिणाम आजै राती सार्वजनिक गर्ने गरी गणना चलिरहेको गौतमले बताउनु भयो ।

राप्ती सोनारी गाउँपालिकामा मतदान सम्पन्न भएर शुक्रबार(भोली) बिहान ८ बजे मत गणना गरिनेछ । मतदान अधिकृत प्रेम शर्माका अनुसार राप्ती सोनारीमा रहेका कुल १ सय ७४ मतदाता संख्या मध्ये १ सय ७३ मत खसेको छ ।


कोहलपुर नगरपालिकामा प्रेस नोट जारी हुँदासम्म मतदान चलिरहेको छ । कोहलपुरमा कुल ३ सय १४ मतदाता संख्या रहेको छ । मतदान अधिकृत प्रभाकर भट्टराईले शान्तिपूर्ण रुपले मतदान चलिरहेको जानकारी दिनुभयो । प्राविधिक कुरा मिलाउने क्रममा मतदान ढिलो गरी सुरु भएको उहाँले बताउनु भयो ।

जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले पालिका तहको निर्वाचन परिणाम भोली सम्म आइपुगेमा शनिबार(पर्सी)सम्म प्रदेश सभाको उम्मेदवारी मनोनयन गर्न सकिने सम्भावना रहेको बताउनु भयो । प्रदेश सभाको मतदान स्थल कुन ठाउँमा राख्ने भन्ने विषयमा सम्बन्धित प्रदेश सभा क्षेत्रका नेतासँग छलफल गरेर टुंग्याइने बताउनु भयो ।

 

प्रकाशित मितिः     २ मंसिर २०७८, बिहीबार २०:२३  |
error: Content is protected !!