नेपालगञ्जलाई हव बनाएर पश्चिममा बिकट गन्तव्य उडानकाे तयारीमा बुद्ध एयर


नेपालगन्ज। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले विकट गन्तव्य उडानको तयारी सुरु गरेको छ। विकटको उडान सुरु गर्नका लागि बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत दुबईमा सम्पन्न ‘एयर शो'(विमान मेला) मा सहभागी भएका थिए।

उनले त्यहाँ ट्वीनअटर उत्पादक कम्पनी भाइकीङ एयर लिमिटेडका वरिष्ठ उपाध्यक्ष रोव मोराचसँग भेटवार्ता गरेका छन्। आफ्नो कम्पनीले प्रयोग गरिरहेका विमानका उत्पादक कम्पनीका प्रतिनिधिसँग भेट गर्दै आएका नयाँ प्रविधि र सम्भाव्यताबारे बस्नेतले जानकारी पनि लिएका छन्।

सन् २०२६ सम्ममा ट्विनअटर जहाज संख्या १० पुर्‍याएर त्यसमार्फत मुलुकको विभिन्न विकट गन्तव्यमा उडान गर्ने व्यवसायिक योजना रहेको बुद्धले जनाएको छ।

कम्पनीले सन् २०२३ बाट पूर्वतर्फ मन्थली, पश्चिमतर्फ पोखरा र सुदूरपश्चिमतर्फ नेपालगञ्जलाई हव बनाएर सुरुमा चारवटा एटीआरमार्फत उडान गर्ने जनाएको छ। सन् २०२४, सन् २०२५ र सन् २०२६ मा क्रमशः दुई-दुईवटा ट्वीनअटर विस्तार गर्दै लाने योजना छ।

मुलकका सुगम गन्तव्यमा नियमित र अत्यधिक उडान गर्दै आएको यो कम्पनीले दुर्गमलाई सुगम, सहज र सबैको पहुँच हुने किसिमले व्यवसायिक योजना बनाइएको जनाएको छ।

बझाङ, बाजुरा, जुम्ला, हुम्ला, रुम्जाटार, बैतडी, ताप्लेजुङ, दाङ, जोमसोम र खोटाङ लगायतका दुर्गम गन्तव्यमा सेवा विस्तार गर्ने सोचका साथ बुद्धले करिब दुई वर्ष अगाडि नै सम्भावित विमानस्थलको अध्ययन सुरु गरेको थियो। दुर्गम गन्तव्यका विमानस्थलमा हालसम्म नेपाल वायुसेवा, तारा एयर, सीता एयर, समिट एयर लगायत वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन्।

अधिकांश गन्तव्यमा मागका अनुपातमा उडान संख्या बढ्न नसकेको अवस्था छ। हाल यो कम्पनीले एटीआर-७२, एटीआर-४२ र बिचक्राफ्ट लगायत तीन किसिमका १५ वटा जहाजमार्फत विभिन्न सुगम गन्तव्यमा उडान नियमित छ।

प्रकाशित मितिः     ५ मंसिर २०७८, आईतवार १४:२०  |