सुर्खेत, १० मङ्सिर -चितवनको सौराहामा आजदेखि शुरु नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशका प्रतिनिधिहरुले पदाधिकारीमा कम्तीमा एउटा पद आफूहरुले पाउनुपर्ने दाबी गरेका छन् । हालसम्म कर्णालीबाट एमालेको पदाधिकारी र स्थायी कमिटीमा समेत प्रतिनिधित्व छैन् ।
कर्णालीका प्रतिनिधिहरुले पार्टीको केन्द्रीय कार्यकारी भूमिकामा विगतमा उपेक्षा गरिएको भएपनि यसपटक १५ सदस्यीय पदाधिकारीमध्ये एउटा पद दिन नेतृत्वसमक्ष लबिइङ थालेका हुन । त्यसका लागि सचिव पदमा प्रदेश कमिटी सहसंयोजक एवं प्रदेशसभा संसदीय दलका नेता यामलाल कंडेललाई अघि सार्ने तयारी छ ।
एमाले केन्द्रीय सदस्य एवं प्रदेश कमिटी सचिव धर्मराज रेग्मीले कर्णालीबाट हाल केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने ११ जना सदस्य, सबै जिल्लाका पार्टी अध्यक्ष, महाधिवेशन प्रतिनिधिहरुले यसबारे मूल नेतृत्वको ध्यानाकर्षण गराइसकेको बताउनुभयो । “पदाधिकारीमा यामलाल कंडेललाई पदाधिकारीमा पठाउन हामी सबै एक ठाउँमा छौं,” उहाँले भन्नुभयो, “सहमति भए नेतृत्वले यसमा विचार गरोस, यदि चुनाव भएको खण्डमा पनि हामी प्रतिष्पर्धा गर्न तयार छौं ।”
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)
एमाले हुम्लाका अध्यक्ष दल रावलले पनि विधानमा सात जना सचिवको पद रहेकाले कम्तीमा सबै प्रदेशबाट प्रतिनिधित्व हुँदा न्यायोचित हुने धारणा राख्नुभयो । “सचिवमा भूगोलको कोटा नछुट्याइएपनि विधानको आशय त्यही हो,” रावलले भन्नुभयो । एमालेको गत असोजमा सम्पन्न विधान महाधिवेशनमा शुरुमा सचिव पद पाँच प्रस्ताव गरिएको थियो । छलफलका क्रममा बहुसंख्यक प्रतिनिधिहरुले कम्तीमा सात बनाउनुपर्ने सुझाव दिएपछि संख्या बढाइएको थियो । महाधिवेशनमा हाल कर्णालीबाट १४० प्रतिनिधिको संलग्नता छ ।
सचिवका आकांक्षी नेता कंडेलले प्रदेशको नेतृत्व विकास गर्ने कुरामा पार्टीको नेतृत्वले ध्यानुपर्ने बताउनुभयो । “राजनीतिक योगदान, संलग्नता र नेतृत्व क्षमता लगायतका सबै दृष्टिकोणबाट हामी कम छनौं, स्वभाविक रुपमा पदाधिकारीमा दाबी रहन्छ,” उहाँले भन्नुभयो, “अझैं पनि इञ्चार्ज प्रदेशबाहिरबाट पठाउनुपर्ने अवस्थाको अन्त्य होस भन्ने कर्णालीका आम कार्यकर्ताको मनोविज्ञान छ ।”
सुर्खेतका स्थायी बासिन्दा कंडेल वीरेन्द्रनगर नगरपालिकाको पूर्व प्रमुखका साथै २०५१ संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्य, २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्य र २०७४ को प्रदेशसभा निर्वाचनमा विजयी हुनुभएको थियो । पार्टी संगठनमा तत्कालीन भेरी अञ्चल सचिव भइसक्नुभएका उहाँ हाल पोलिट्ब्युरो सदस्य तथा हाल प्रदेश कमिटीको सहसंयोजक हुनुहुन्छ ।
यसैबीच, कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य पदमा भूगोल, समावेशी र खुलातर्फ गरी २० भन्दा बढी नेताले आकांक्षा व्यक्त गरेका छन् । हालका केन्द्रीयहरु गोरखबहादुर बोगटी, धर्मराज रेग्मी, गुलाबजंग शाह, लक्ष्मी पोखरेल, विष्णु रिजाल, राजबहादुर बुढा, निरज आचार्य लगायत पुनः दोहोरिन चाहेका छन् । तीमध्ये बोगटी प्रदेश अध्यक्ष र रेग्मी सचिव र रिजाल विदेश विभाग उपप्रमुख हुन ।