धान खरिदमा किचलो,कृषकलाई दुःख


नेपालगन्ज – यस वर्ष निकै ढिलो गरि धान खरिद शुरु गरेको खाद्य व्यापार तथा कम्पनी लिमिटेडले बाँकेका ८२५ जना किसानबाट मात्रै धान खरिद गर्ने भएको छ ।

एक जना किसानले बढीमा ३० क्विन्टलसम्म मात्रै धान विक्रि गर्न पाउने मापदण्ड बनाएपछि कृषि ज्ञान केन्द्रले ८२५ जना किसानलाई टोकन वितरण गरेको छ ।

कम्पनीले बनाएको मापदण्डका कारण अधिकांश किसानले धान विक्रि गर्न नपाएको गुनासो गरेका छन् । धान खरिदका लागि कृषि ज्ञान केन्द्रमा लालपुर्जासहितका कागजपत्र लिएर गएपछि केन्द्रले टोकन हेरेर सिफारिस दिने कार्य गरिरहेकोछ ।

टोकन लिएकाहरुलाई मात्रै धान विक्रिको सिफारिस दिने कार्य भैरहेकोले सो बाहेकका अन्य सयौं किसान धान विक्रिबाट बन्चित भएका हुन् ।
एक जना किसानसंग बढीमा ३० क्विन्टलसम्म धान खरिद गर्नेगरि कागजपत्रका आधारमा सिफारिस दिने काम भैरहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो ।

उहाँले खाद्य व्यापार तथा कम्पनी लिमिटेडले २५ हजार क्विन्टल धान विक्रिका लागि एकजनासंग ३० क्विन्टल भन्दा बढी खरिद नगर्ने सिफारिस पठाउन आग्रह गरेपछि आफुहरुले सोही प्रकारले गर्दा ८२५ जना किसानलाई टोकन वितरण गरिएको बताउनुभयो ।
टोकनका लागि आएका अन्य सयौं किसान रित्तै हात आक्रोशित भएर फर्किएको र अझैपनि टोकनका लागि धेरै जना आउने गरेको उहाँले बताउनुभयो ।

जानकी गाउँपालिकाबाट धान विक्रिका लागि आउनु भएका किसान रमेश गोडियाले आफुले टोकन नपाउँदा धान विक्रिबाट बन्चित भएको जनाउँदै धेरै किसानले धान बेच्न नपाएको बताउनुभयो ।

सोही प्रकारले डुडुवाका किसान जगराम पासीले आफुले टोकन पाएपनि अरुको खेत जोतेर धान लगाएको हुँदा लालपुर्जा नभएको भनि धान विक्रिबाट बन्चित गरिएको बताउनुभयो ।
उता, खाद्य व्यापार तथा कम्पनी लिमिटेडमा पहिलो दिन धान विक्रिका लागि सात टयाक्टर कृषि ज्ञान केन्द्रको सिफारिस सहित पुगेकोमा ४ ट्याक्टरलाई भिजेको धान बताएर फिर्ता गरिएको थियो भने तीन ट्याक्टरबाट २९ क्विन्टल ४० केजी खरिद गरिएको खाद्य व्यापार तथा कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख राम बहादुर विष्टले बताउनुभयो ।

उहाँले दैनिक १० जना किसानसंग मात्रै धान खरिद गर्ने तय गरिएको जनाउँदै अधिकांशले भिजेको धान लिएर आउने गरेकोले प्राविधिकलाई परिक्षण गराएर मात्र खरिद गर्ने वा नगर्ने निर्णय दिनु परेकोले खरिद कार्य निकै सुस्त रहेको बताउनुभयो ।
३६ हजार हेक्टरमाकरिब १६ लाख क्विन्टल धान फल्ने बाँकेमा २५ हजार क्विन्टल मात्रै धान खरिद गर्ने निर्णय भएकोले अधिकांश किसानले सस्तोमा ब्यापारीलाई विक्रि गरिरहेको किसानहरुको गुनासो छ ।

प्रकाशित मितिः     २८ मंसिर २०७८, मंगलवार ११:५७  |