३२ महिनामा वीरेन्द्रनगरमा भएका सुधारका काम-टिकाराम ढकाल


बाईबाई वीरेन्द्रनगर!
वीरेन्द्रनगर नगरपालिकामा मैले ३२ महिना ५ दिन कार्य गरि हिँजो पौष ७ देखि औपचारिक रुपमा विदा भएको छु। यस अवधिमा आदरणीय नगरप्रमुख देवकुमार सुवेदी तथा उपप्रमुख मोहनमाया ढकाल लगायत जनप्रतिनिधीहरुले ल्याएका नीति मेरा जुझारु कर्मचारी साथीहरुको सहयोगमा केही गर्ने अवसर प्राप्त भयो ।

आफ्नो कार्यकालमा नगर क्षेत्रभरी करिव ५५ किलोमिटर आफ्नै अप्टिकल फाईबर सहित ८९ स्थानमा सिसिटिभी क्यामेरा विस्तार, आन्तरिक सञ्चार सेटको सुरुवात,एकीकृत सफ्टवेयर प्रणालीको सुरुवात, अधिकांश कार्य अनलाईनबाट गर्न मिल्ने तथा खर्च ब्यवस्थापमा सूत्र प्रणालीको पूर्ण प्रयोग, भुक्तानी प्रणालीमा एकरुपता तथा वडा कार्यालयहरुबाट संचालित गैरकानूनी सरकारी खाताहरु बन्द गरी एकीकृत भूक्तानी प्रणाली, समायोजन पश्चात करिव ३५० जना कर्मचारी ब्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई अधिकार प्रत्यायोजन गरी कार्यसम्पादन करार समेत सुरुवात, अन्तरिम O&M लागु, स्थानीय सेवा ऐन तर्जुमा र कार्यान्वयन गरी लामो समय सम्म वृत्ति विकास रोकिएका कर्मचारीहरुको स्तरवृद्धि, कार्यालय तथा परिसरको ले आउट मर्मत सुधार लगायतका आन्तरिक ब्यवस्थापन, अक्सिजन प्लान्ट तथा नगर अस्पताल संचालनमा ठूलो भूमिका निर्वाह गरियो ।

पहिलो र दोस्रो चरणको कोभिड ब्यवस्थापनमा जनप्रतिनिधी तथा कर्मचारीहरुसँग रातदिन खटेर ब्यवस्थापन गर्ने अवसर प्राप्त भयो, फलस्वरुप नगरपालिकाको कोभिड ब्यवस्थापन अब्बल रहेको आम जनसमुदाय र मिडियाबाट चर्चा भयो, यसै कार्यालयमा कार्य गर्दा मैले नेपाल सरकारबाट निजामती पुरस्कार प्राप्त गरेँ यो श्रेय नगरपालिकाको टिमलाई दिन चाहान्छु ।
आफू बीरेन्द्रनगर बासी भएको नाताले आफूले विशेष चासो दिएर सुरु भएका केही अपुरा कामहरु जस्तै विस्तारित नगर क्षेत्रको गुरुयोजना, विश्व बैंकको सहयोगमा वीरेन्द्रनगर खानेपानी आयोजना संचालन, नगरपालिकाको प्रशासकीय भवन निर्माण, नगरपालिकालाई उपमहानगरको रुपमा स्तरोन्नती, खोला नालाको क्षेत्र विस्तार तथा वडा नम्बर १ मा कर्णाली बसपार्क निर्माण, DPR बमोजिम फोहरमैला ब्यवस्थापन केन्द्रको पूर्णता, एकीकृत सफ्टवेयरका सबै क्षेत्रहरुको प्रयोग गर्नु लगायतका कार्यहरु अबका जनप्रतिनिधी तथा कर्मचारीहरुले पूर्णता दिनुपर्ने जस्तो लागेको छ ।

नगरपालिकामा कार्यसम्पादन गर्न मलाई हौसला, साथ सहयोग र प्रेरणा दिनुहुने मन्त्रालयको टिम, जिल्ला स्थित सम्पूर्ण माननीयज्यूहरु लगायत सबै जनप्रतिनिधीज्यूहरु, सम्पूर्ण राजनीतिक दलका नेताज्यूहरु, पत्रकार मित्रहरु, मेरो कार्यालयका सहकर्मी कर्मचारी मित्रहरु, ५ जना प्रजिअ लगायत प्रदेश सरकार तथा जिल्लाका अन्य निकायका प्रमुखज्यूहरु, साझेदार सँस्थाका प्रमुख तथा प्रतिनिधीहरु, उद्योग बाणिज्य सँग सुर्खेत,चेम्बर अफ कमर्श लगायतको नीजि क्षेत्रको टिम, मेरा सबै शुभचिन्तक महानुभावहरु, मेरो मातापिता लगायत घरपरिवारका सदस्यहरु प्रति आभार ब्यक्त गर्दछु ।

नगरपालिकाको १५० भन्दा बढि संख्यामा उपस्थित सिंगो टिम, श्रेणीविहिन कर्मचारी समूह, वडा सचिवहरु, सम्पूर्ण स्वास्थ्यकर्मी तथा नगर अस्पतालको समूह, महिला स्वरोजगार कार्यक्रम, नगरविकास समितिको परिवार तथा वडा नम्बर ६ परिवारलाई यो भब्य तथा हार्दिकतापूर्वक बिदाई आयोजनाको लागि आभार ब्यक्त गर्दछु । मौका मिले आगामी दिनमा हजुरहरुको यो सद्भाव र ऋण तिर्ने अवसर प्राप्त गर्न पाउँ । मौका मिले फेरि भेटौंला।

(वीरेन्द्रनगर नगरबाट सरुवा हुनुभएका प्रशासकीय अधिकृत ढकालकाे समामाजिक सन्जालमा व्यक्त धारणा)

प्रकाशित मितिः     ८ पुष २०७८, बिहीबार ०८:२२  |