३८ करोड दस्तुर नतिर्ने ह्याप्पी आवर क्यासिनो सन्चालनमा रोक, ड्रिमल्यान्ड होटल पनि बन्द


नेपालगन्ज — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट नेपालगन्जको ड्रिमल्यान्ड होटल र त्यहाँ रहेको आधुनिक उपकरणबाट खेलाइने ह्याप्पी आवर क्यासिनो बन्द गर्ने निर्णय गरेको छ ।

पर्यटन विभागका अनुसार राजस्व दाखिलाका लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले ताकेता गर्दै आएको थियो । त्यसका लागि पटक–पटक सूचना जारी गरिएको थियो ।

विभागले पछिल्लो पटक गत माघ १९ मा गोरखापत्र दैनिकमा सातदिने सूचना निकालेको थियो ।

विभागले मन्त्रालयको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सहयोगका लागि पत्र पठाएको छ । नेपालगन्जको होटल प्रदेश सरकारमातहत रहने भएकाले विभागले दर्ता भएको देखिए खारेज गर्न प्रदेश सरकारलाई भनेको छ । ह्याप्पी आवर क्यासिनो नेपालगन्जको सबैभन्दा पहिलो क्यासिनो हो ।

पहिले यो क्यासिनो होटल स्नेहमा थियो । त्यहाँ होटल सन्चालकसंग बिवाद भएपछि नजिकै रहेको होटल ड्रिमल्यान्ड होटलमा क्यासिनो सरेको थियो । मन्त्रालयका अनुसार क्यासिनोले सरकारलाई रु ३८ करोड दश लाख ४५ हजार रोयल्टी तथा नवीकरण दस्तुर बुझाउन बाँकी थियो । उक्त राजश् नबुझाएको र बर्गीकरण नगर्दै क्यासिनो सन्चालन गर्न दिएपछि मन्त्रालयले होटल समेत बन्द गर्न निर्देशन दिएको छ ।

प्रकाशित मितिः     २७ माघ २०७८, बिहीबार १०:५०  |