बाघ गणना गर्ने क्यामेरा अरु काममा प्रयोग हुँदैन, त्यही पनि कस्ले चोर्छ ?


बाघ गणना गर्ने क्यामेरा सहित प्राविधिक कर्मचारी ।

बाँके – बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाको काम भइरहेको छ । उक्त कार्यका लागि जडान गरिएका क्यामेरा भने चोरी हुन थालेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार हालसम्म १७ वटा क्यामेरा चोरी भएका छन् भने अन्य छ वटा क्यामेरा तोडफोड भएका छन् ।

बाघ गणनामा सहयोग सावित भएका क्यामेरा अन्य कुनै पनि प्रयोजनका लागि योग्य हुँदैन् । तर पनि किन चोरी भइरहेको भनेर निकुञ्जका कर्मचारी अचम्ममा परेका छन् । शाह भन्छन्–‘बाघ गणना गर्न राखिएका क्यामेरा अरु कुनै पनि काममा प्रयोग हुँदैन । त्यही पनि किन चोरी गरेर मान्छेहरु लैजान्छन् अचम्म छ ।’

बाघ गणना गर्दा एउटै ठाउँमा१५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ ।

दुवै निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रबिन कडरियाले बताए ।

उनका अनुसार एक नम्बर ब्लकमा नौ , दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । त्यस्तै, ६ वटा क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ। एउटा क्यामेराको मूल्य रु. ४० हजार पर्छ ।

पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्छ। चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने कडरियाले जानकारी दिए ।

निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चोरी सिकारीले क्यामेरा चोरी गर्ने गरेको उनको भनाइ छ । अहिलेसम्म पहिलो र दोस्रो नम्बर ब्लकको काम सकिएको छ भने तेस्रो र चौथो नम्बर ब्लकमा काम भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत २९ मंसीरबाट बर्दिया र बाँकेका लागि बाघ गणना शुरू गरेको थियो। सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान गरिएको प्रमुख संरक्षण अधिकृत शाहले बताए ।

बुटवल टुडेबाट

 

प्रकाशित मितिः     १ फाल्गुन २०७८, आईतवार ०८:३०  |