शालिक पुनःस्थापनकाे चौतर्फी स्वागत,चार दलकाे भने भत्काइदिने धम्की


नेपालगञ्ज, फागुन ९ । विगतमा भएको सहमति विपरित नेपालगञ्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक स्थापना गरिएको जनाउँदै सत्ता गठबन्धनका चार दलले सो हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

शालिक राख्ने बिषयमा लामाे समयदेखि बिवाद थियाे । राप्रपाको बहुसंख्यक नेता तथा कार्यक्रताको अगुवाइ शालिक राखिएको थियाे । यद्यपि स्वतन्त्र व्यक्तिहरुले समेत सामाजिक सन्जालमा शालिक राखिएकोमा खुसियाली प्रकट गरेका छन् । इतिहास जाेगाउनुपर्ने भन्दै शालिक नहटाउन माग गरेका छन् ।

नेकपा माओवादी केन्द्र बाँके, नेकपा एकिकृत समाजवादी पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्टिय जनमोर्चा बाँकेले सोमवार प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएर तत्काल नहटाईए आफुहरुले हटाउन बाध्य हुने जनाएका छन् ।

सो ज्ञापन पत्रमा जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान सहीदहरुको अपमान गरि प्रहरी प्रशासनकै उपस्थितिमा शालिक राखिएकोमा तत्काल हटाउन माग गरिएको छ ।

साथै प्रहरी प्रशासनले नहटाए आफुहरुले हटाउने र त्यस क्रममा हुने जुनसुकै घट्नाको जिम्मेवार प्रहरी प्रशासन हुने पनि ज्ञापनपत्रमा जनाईएको छ ।

विगतमा पनि पटक पटक शालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाको अध्यक्षतामा २०७७ साल कात्तिक ६ गते बसेको सर्वदलीय बैठकले उक्त स्थानमा नेपालको झण्डा र नेपालको नक्सा राख्ने सहमति भएकोमा सो विपरित स्वयं मेयर राणाकै अगुवाईमा शालिक स्थापना गरिएकोले तत्काल हटाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मितिः     ९ फाल्गुन २०७८, सोमबार १६:१०  |