नेपालगन्जमा पहिलाे पटक ‘वेष्टर्न ट्राभल मार्ट’


नेपालगन्ज : पश्चिम नेपालको पर्यटकीय क्षेत्रको ‘गेटवे’ का रुपमा परिचित नेपालगन्जमा पहिलो पटक ‘वेष्र्टन ट्राभल मार्ट’ हुन लागेको छ ।

यही फागुन २६ देखी २८ गतेसम्म नेपालगन्जमा ट्राभल मार्ट आयोजना गरिदैछ । उक्त मार्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएका छन् ।

कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधी तथा गन्तब्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रर्वद्धन गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मुल आयोजना, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस(नाट्टा) बाँकेको आयोजना तथा पर्यटन प्रर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्वद्ध ब्यवसायीको सह‐आयोजनामा मार्ट गर्न लागिएको हो ।

प्रदेश स्तरिय पर्यटन ब्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तराष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन ब्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रदेश सरकारसँगको साझेदारीमा प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्टको आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम अनुरुप यो मार्ट आयोजन ागर्न लागिएको वेष्र्टन ट्राभल मार्ट नेपालका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
‘यो पर्यटन सम्बन्धी ब्यापार आदान‐प्रदान गर्ने मेला हो,’ उनले भने ।

मार्टमा पर्यटकीय गतिविधी सम्बन्धी स्टल राख्नुका साथै पर्यटन क्षेत्रसँग सम्बन्धित अतिथीलाई यस क्षेत्रको पर्यटकीय स्थलको अवलोकन गराइने अध्यक्ष सिग्देलले बताए । यसका लागि भारतबाट करिव ३० जना जति पर्यटन ब्यवसायी आउने जानकारी दिए । उक्त मार्टमा नेपाल र भारतका गरी कुल ३ सय बढी पर्यटन ब्यवसायी सहभागी हुने आयोजकले जनाएको छ ।

उनीहरुलाई बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकीय स्थलको भ्रमण गराइने बताए । वेष्र्टन ट्राभल मार्टमा आउने अतिथीका लागि विमान कम्पनी, होटल ब्यवसायी, ट्राभल ब्यवसायी लगायतले विशेष प्याकेज ल्याएको अध्यक्ष सिग्देलको भनाई छ ।

नेपाल पर्यटन बोर्डका पर्यटन बजार ब्यवस्थापन तथा प्रवन्ध महाशाखाका प्रवन्धक गोविन्द ओलीले वेष्टर्न ट्राभल मार्टले पश्चिम क्षेत्रको पर्यटकीय स्थलको प्रचार प्रसारमा टेवा पुर्याउने विश्वास गरे । ‘पश्चिम नेपालमा थुप्रै पर्यटकीय स्थल हुँदा हुदैपनि लाभ लिन नसकेको अवस्था छ, यो मार्ट सञ्चालन भएपछि यहाँको पर्यटकीय स्थलको प्रचार प्रसारमा पक्कैपनि टेवा पुग्नेछ,’ उनले भने । यसले भारतीय सिमावर्ती बजारका पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न मद्दत गर्ने बताए ।

नेपालगन्जमा पहिलो पटक हुन लागेको उक्त मार्टलाई सफल गराउनमा यसक्षेत्रका सबैको बराबर दायित्व भएको वेष्र्टन ट्राभल मार्टका सदस्य एवम् वरिष्ठ पत्रकार झलक गैरेले बताए । ‘यो नेपालगन्ज क्षेत्रबासीको साझा कार्यक्रम हो, यसलाई सफल बनाउने दायित्व हामी सबैको हो, यसको प्रचार‐प्रसारमा सबै सञ्चारकर्मीले साथ दिन जरुरी छ,’ उनले भने ।

उक्त मार्ट यसअघि गत मंसिर २८ देखी पुष १ गते सम्म गर्ने तय भएपनि कोभिड १९ महामारीका कारण स्थगित भएको थियो ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७८, सोमबार २१:०९  |