सिजनमा नेपालगन्जका फनपार्कको बिजनेश बढ्ने आशा


नेपालगञ्ज- नेपालगन्जमा ठुलाे लगानीमा तिनवटा फनपार्क खुले । सन्चालन हुन नपाउँदै काेभिडकाे मारमा परे ।  खुलेयता राम्रोसङ सन्चालन हुन नपाएका फनपार्कले यसपटक भने राम्रोसङ सन्चालन हुने आशा राखेका छन् । फनपार्ककाे बिजनेशकाे मुख्य सिजन गर्मी हो नै हो ।

भारतिय सिमा जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपालका आन्तरिक तथा भारतका पर्यटकलाई ठुलो संख्यामा आकर्षित गरिरहेका छन् । त्यसकाे मुख्य केन्द्र फनपार्क पनि हुन ।

कोरोना संक्रमण घट्दैगएपछि आन्तरिक र भारतीय पर्यटक आउने क्रम बढेकोले यहाँको पर्यटन व्यवसाय उकालो लाग्न थालेको व्यवसायीलेनै बताएका छन् ।
पर्यटन व्यवसायीहरुका अनुसार पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको शक्तिपीठ माता बागेश्वरीको मन्दिर, भुवंर भवानी देवीको मन्दिर, नरैनापुरको चर्चित शिव मन्दिर, नेपालगञ्जका आधुनिक वाटरपार्कहरु मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वण्डरल्याण्ड, कान्तिताल र ढकेरी, अगैया तथा गाभरले ठुलो संख्यामा पर्यटक आकर्षित गरिरहेका छन् ।

महामारी घट्दै जाँदा अहिले बाँकेका विभिन्न पर्यटकीय गन्तव्यमा भारतीय पर्यटक सबैभन्दा बढी आउन थालेको बाँकेका पर्यटन व्यवसायी श्रीराम सिग्देलले बताउनुभयो ।
उहाँले भारतबाट आउने अधिकांश पर्यटकहरु व्यवसायीक रुपमा सञ्चालन भएका वाटरपार्कहरुमा रमाउनुका साथै धार्मिक गन्तव्यमा जाने र क्यासिनोमा समेत रमाउने गरेको बताउनुभयो ।

पछिल्लो समय शुरु भएको नेपालगञ्ज–पोखरा हवाई उडान, नेपालगञ्ज–लखनउ सिधा बस सेवा, नेपालगञ्ज–बर्दिया निकुञ्ज पर्यटक बस सेवा र कर्णालीका विभिन्न जिल्लामा बढेको हवाई उडान एवं सडक विस्तारले पनि भारतीय तथा स्वदेशी पर्यटक बाँकेबाटै जाने हुँदा होटल व्यवसाय पुनः फस्टाएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले बताउनुभयो ।


उहाँले बाँके बर्दिया लगायत कर्णालीमा रहेका विभिन्न पर्यटकीय गन्तव्यहरुको अझै राम्ररी प्रचार प्रसार हुन नसकेको जनाउँदै भारतमा मात्रै राम्ररी प्रचार गर्न सकिए जिल्लाको समृद्धी र विकासमा पर्यटन व्यवसाय मुख्य आधार बन्ने बताउनुभयो ।

नेपालगञ्ज विमानस्थलको स्तरोन्नती गरेर नेपालगञ्ज–लखनउ, नेपालगञ्ज– दिल्ली हवाई उडान गर्न सके झन यो क्षेत्रले पर्यटनको विकासमा ठुलो फड्को मार्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल बाहिद मन्सुरीको भनाई छ ।
उहाँले नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो भने बर्दिया राष्ट्रि«य निकुञ्ज, शुक्लाफाँटा, खप्तड, रारा र सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा यस क्षेत्रका अन्य पर्यटकीयस्थलका लागि बाँके पर्यटनद्वार बन्ने बताउनुभयो ।
पछिल्लो समयमा स्वदेशी र भारतीय पर्यटकको आगमन बाँकेमा बृद्धि हुँदै जाँदा यहाँका होटल, होमस्टे र व्यवसायीक मलहरु फेरी भरिभराउ हुन थालेको पर्यटन प्रर्बद्धन मञ्च बाँकेले जनाएको छ ।
मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यहाँका पर्यटन व्यवसायीले भारतीय पर्यटक आकर्षित गर्ने अभियान शुरु गरेको जनाउँदै सो अभियानमा स्थानीय, प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मितिः     २८ फाल्गुन २०७८, शनिबार ०७:५५  |