नेपालगन्जमा पशुपतिदयाल मिश्रले आर्जेको शक्ति,बिगत भन्दा झन् सुदृड


नेपालगन्ज – नेपालगञ्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई पार्टी प्रवेश गराएर नेकपा एमालेले चुनावी शक्तिआर्जन गरेको छ ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा अरू पार्टीमा आकांक्षीको भिड छ । तर, मिश्र भने एमालेबाट उम्मेदवार हुनेमा ढुक्कजस्तै देखिन्छन् । एमाले स्रोतका अनुसार, पार्टी प्रवेश हुँदै नेतृत्वले उनलाई नेपालगञ्ज उपमहानगरको मेयर बनाउने आश्वासन दिइसकेको छ । ‘पार्टीमा प्रवेश गर्नुअघि नै मैले आफ्नो आकांक्षा नेतृत्वलाई भनेको छु’ मिश्रले भने, ‘अब पार्टीले जे निर्णय गर्छ मान्न तयार छु ।’

अध्यक्ष केपी ओलीले १ मंसिरमा नेपालगञ्ज पुगेरै मिश्र र उनका सयौँ समर्थकलाई एकसाथ एमालेमा भित्र्याएका थिए । लगत्तै भएको दशौं महाधिवेशनबाट मिश्र एमालेको केन्द्रीय सदस्यसमेत निर्वाचित भइसकेका छन् । त्यसो त, उनी ०७४ देखि नै एमालेनिकट छन् । त्यतिबेला त्रिपाठी समूहबाट बाँके २ बाट उनी सूर्य चुनाव चिह्न लिएर प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए ।

गत स्थानीय निर्वाचनमा एमालेबाट सम्शुद्धिन सिद्धिकी मेयरका उम्मेदवार थिए । उनी ०५४ मा धवलशमशेर राणा मेयर हुँदा उपमेयर थिए । एमाले विभाजनपछि सिद्धिकी नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । नेपालगन्जमा संगठनात्मक मत नघटेको र आफूहरूसमेत जोडिँदा एमाले बलियो रहेको मिश्रको दाबी छ । ‘एक्ला एक्लै त अब हामीलाई कसैले हराउन सक्दैन । गठबन्धन एक भएर आए केही मिहिनेत गर्नुपर्ने हुन्छ’, उनले भने, ‘सत्तारुढ गठबन्धनलाई हराउन हामीले पनि साना दलसँग तालमेल गर्नुपर्ने हुन सक्छ । तर, अहिलेसम्म एक्लाएक्लै लड्ने स्थिति छ ।’

मधेसकेन्द्रित राजनीतिक पृष्ठभूमिबाट आएका र व्यक्तिगत लोकप्रियतासमेत रहेका नेता पशुपति दयाल मिश्र एमाले प्रवेश गरेकाले यसपटक नेपालगञ्ज उपमहानगरमा मुख्य प्रतिस्पर्धा कांग्रेस–एमालेबीच हुने आकल छ । तर निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने धेरैको अनुमान छ ।

पुरानो राजनीतिक बिरासत बोकेका मिश्रको मेयर पदमा हुने सम्भावित उम्मेदवारीले यहाँको राजनीतिमा तरंग नै ल्याइदिएको छ । चुनावी हारजित बैशाख ३० गते पछि नै थाहा हुने भएपनि मिश्र मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

प्रकाशित मितिः     ७ चैत्र २०७८, सोमबार १२:४९  |