उत्पादनलाई प्रोत्साहन छैन,कसरी बढ्छ निर्यात ?


नेपालगन्ज- नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान बिभागले मगलवार नेपालगन्जका व्यवसायीसग आगामी बजेटमा समावेश गर्नुपर्ने बिषयमा सुझाव मागेको छ ।

व्यवसायीहरुले सरकारका विभिन्न निकायहरुले बैदेशिक ब्यापार घाटा भएको तथ्यांक निकाल्ने गरेको भए पनि त्यसलाई कम गर्न कुनै उपाय ननिकालेको भन्दै असन्तुष्टि जनाए । बरिष्ठ उद्योगी कन्हैयालाल वैद्यले व्यापारघाटा-ब्यापार घाटा भनेर चिन्ता पोख्नुको साटो स्वदेशमा उत्पादन कसरी गर्ने भन्ने निति निर्माण गर्न आग्रह गरे ।

अर्का उद्योगी चम्पालाल बोथराले बिदेशबाट आयात हुने गरेका कयौं कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना भएपनि नितिगत समस्याले हुन नसकेको उनले बताए । प्लाइ उद्योगमा प्रयोग हुने कच्चापदार्थ नेपालमै उत्पादन गर्न सके मात्र पनि बर्षमा करोडौं रकम बिदेश जानबाट रोकिने जनाए ।

नेपालगन्ज उद्योग वाणिज्य सङका महासचिव चिरञ्जीवी वलीले स्वदेशमा उत्पादनलाई प्रोत्साहन बढाउने नीति नबन्दासम्म निर्यात बढ्न नसक्ने बिचार राखे । तर सरकारका नीति निर्माताहरुले त्यतातर्फ ध्याननै नदिएको वलीको भनाई थियो ।

केएल दुगडका प्रदिप छाजेडले कुनै बेला आत्मनिर्भर रहेका कृषि उत्पादन समेत अहिले आयात गर्नुपर्ने अवस्था आउनु दु:खकाे कुरा भएको बताए ।

जडिबुटी ब्यवसाय सङका अध्यक्ष टक प्रशाद शर्माले जडिबुटी उत्पादनलाई वास्ता नगरिएको जनाए ।

उक्त छलफलमा अन्य व्यवसायीहरुले बैंकको महिनैपिच्छे बढाउने ब्याजदरको चर्को आलोचना गरेका छन् । यस्तो अस्थिर नितिले निजिक्षेत्र धरासायि बन्ने अवस्था सृजना भएको उनिहरुको भनाइ छ ।

पर्यटन क्षेत्रका अगुवा केशव न्यौपाने,ओम मिश्रले पर्यटनक्षेत्रलाई कुनै सहयोग नभएको बताए ।

 

प्रकाशित मितिः     ८ चैत्र २०७८, मंगलवार १५:४५  |